एक करोडको लगानीमा पार्टी प्यालेस



गणेश घिमिरे,  इलाम।

हावापानीको हिसाबले निकै राम्रो पर्यटकीय जिल्ला इलाममा पछिल्लो समय झापाका युवाहरूले होटलमा लगानी गर्ने क्रम बढेको छ। जिल्लाको रोङ गाउँपालिका, सूर्योदय र इलाम नगरपालिकाका विभिन्न क्षेत्रमा धेरै झापाका युवाहरूले होटलमा लाखौं रुपियाँ खर्चेर लगानी गर्ने क्रम बढेको हो।

इलाममा आएर होटलमा लगानी गर्ने झापाका अधिकांश युवाहरू वैदेशिक रोजगारबाट फर्केका छन्। इलाम सदरमुकाममै झापा कन्काई नगरपालिका–३ सुरुङ्गाका दीपक प्रसाईले अहिले झण्डै एक करोड रुपियाँको लागतमा रेस्टुरेन्ट तथा पार्टी प्यालेस खोल्नुभएको छ।

बगैंचा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस नाम दिएर खोल्नुभएको रेस्टुरेन्टमा हालसम्म ६० लाख रुपियाँ लगानी भइसकेको बताउनुभयो। इलाम नगरपालिका–८ सिलिखानमा पाँच रोपनी जमिन वार्षिक एक लाख रुपियाँ तिर्ने गरी दश वर्षका लागि लिजमा लिएर रेस्टुरेन्टमा लगानी गरेको रेस्टुरेन्ट सञ्चालक प्रसाईले बताउनुभयो। रेस्टुरेन्टसँगै प्रसाईले जिल्लामै पहिलोपटक पार्टी प्यालेस खोल्नुभएकोे हो।

‘इलाममा पार्टी प्यालेस नभइरहेको र पार्टी प्यालेसको माग धेरै भइरहेकोले यसैलाई मध्यनजर गरेर पार्टी प्यालेस खोलेको हुँ’ सञ्चालक प्रसाईले भन्नुभयो। वैदेशिक रोजगारीको क्रममा ११ वर्ष दुवैमा होटलमै काम गरेर फर्कनुभएका प्रसाईले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदपयोग गर्ने उद्देश्यले रेस्टुरेन्ट तथा पार्टी प्यालेस खोलेको बताउनुभयो।

‘धेरै व्यक्तिको सपना वैदेशिक रोजगारमा गएर धेरै पैसा कमाउने अनि स्वदेशमै बसेर केही गर्ने हुन्छ, प्रसाइँ भन्नुहुन्छ– ‘यसै क्रममा आफूले पनि लामो समयसम्म दुबई बसेर आएर थोर बहुत कमाएको रकम र बैंकबाट कर्जा लिएर रेस्टुरेन्टमा लगानी गरें।’ चार/पाँच वर्ष अघि नै इलाम बजारमै रेस्टुरेन्ट खोल्नुभएका प्रसाईले केही समय इलाम छाडेर आफ्नै जन्मठाउँ झापामा गएर होटल व्यवसाय गर्नुभएको थियो।

तर फेरि प्रसाईले इलाममै फर्केर होटलमा लगानी गर्नुभएको हो। हरेक कुराको दृष्टिकोणले इलाम राम्रो भएकाले यो व्यवसाय इलाममै शुरु गरेको उहाँले बताउनुभयो। रेस्टुरेन्टमा सिजनअनुसार खानाका परिकार बनाउने र सिजनअनुसार नै मेनु निर्धारण गर्ने उहाँको भनाइ छ। पार्टी प्यालेस तीन सय जना क्षमताको रहेको प्रसाईले जानकारी दिनुभयो।

‘इलामका होटलमा हलहरू धेरै भएपनि यति धेरै क्षमताको नभएको र विवाह/ब्रतबन्धलगायतका हरेक कार्यहरूलाई सहज बनाउने गरी जिल्लामै पहिलो पटक आफूले पार्टी प्यालेस खोलेको हुँ, सञ्चालक प्रसाई भन्नुहुन्छ– ‘बगैंचा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा खानाको सुबिधासहित लोकल कुखुरा, बट्टाइ, जिउँदो माछा, तन्दुरीका साथै चाइनिज, इन्डियनलगायतका खानेकुरा पाइन्छ्न्’

प्रसाईले लाखौंको लगानीमा रेस्टुरेन्ट खोलेसंगै दशजनाले रोजगारी पाएका छन्। रोजगारी पाउनेले महिनाको आठ हजारदेखि ३० हजार रुपियाँ पाएका छन्। व्यवस्थित पार्किङसहितको रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसले इलाम बजारभरि होम डेलिभरी सर्भिससमेत दिने उहाँले बताउनुभयो। प्रसाईले जस्तै जिल्लाका फिक्कल, कोल्बुङ, कन्याम, पशुपतिनगरमा पनि झापाका युवाहरूले लाखौं रुपियाँ खर्चेर होटलमा लगानी गर्ने क्रम बढेर गएको हो।

प्रतिक्रिया दिनुहोस्