भटमास दिँदै ढिके नुन लिँदै 



 विमल  विष्ट, डोटी । 
डोटी जिल्लामा किसानले धान भित्र्याईसकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी चलेको छ। यहाँका किसानहरूले आफूले उत्पादन गरेको भटमास बिक्रीका लागि यहाँका प्रमुख बजार दीपायल, पिपल्ला, सिलगढी, बीपीनगर, मौवा, सुवाखानलगायतका ठाउँमा धाउने गरेका छन्। किसानले भटमास नगदमा बिक्री गर्नेभन्दा पनि ढिके नुनसँग साट्ने गरेका छन्।
जिल्लाका अधिकांश गाउँँका किसान भटमाससँग ढिके नुन साट्न व्यापारी कहाँ धाउन थालेको बडीकेदार गाउँपालिका–१ बीपीनगरका स्थानीय लोकेन्द्रबहादुर छेडालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘भटमास उत्पादन गर्ने किसानहरू दैनिकजसो भटमास लिएर ढिके नुनसँग साट्न आउछन्, नगद भन्दा पनि उनीहरू नुन लिन बढी खुसी हुन्छन्।’ भाटमाससँग किसानले ढिके नुन साट्न थालेपछि बजारमा अहिले भटमास संकलकहरूले ठाउँ ठाउँमा ढिके नुन राखेका छन्।

यहाँका किसानले वर्षायाममा प्राय सबैभन्दा बढी भटमास तथा अन्य दलहन बाली लगाउँदै आएका छन्। जंगली जनावरले नोक्सान नगर्ने भएका कारण पनि जिल्लामा सबैभन्दा बढी भटमास उत्पादन हुने गरेको जिल्ला कृषि समन्वय इकाइ कार्यालयको तथ्यांकले जनाएको छ।
ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन भन्दा ढिके नुन बढी प्रयोग हुने भएका कारण किसानहरू भटमाससँग ढिके नुन साट्न आकर्षित हुन थालेको जोरायल गाउँपालिका ५ का स्थानीय पूर्णबहादुर विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘वस्तुलाई खुवाउन ढिके नुन प्रयोग हुने भएकाले ग्रामीण क्षेत्रमा ढिके नुन बढी खपत हुन्छ।’
पछिल्लो समय यहाँका प्राय सबै ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापारी नुन र चामल लगेर गाउँमै भटमासलगायत दलहन खरिद गर्न पुग्ने गरेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीय तथा शिक्षक गुणकर जोशीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘भटमासको बजार मूल्य गाउँमै पाइने र नुन चामल पनि घरसम्मै पुग्ने भएकाले किसानहरू भटमाससँग नुन र चामल साट्ने गर्दै आएका छन्।’

अहिले यहाँका गाउँघरका स्थानयवासी भटमासको भारी बोकेर चामललगायत अन्य दैनिक उपभोग्यका सामग्री खरिद गर्न नजिकैका पसलहरूमा आउने गरेका भेटिने गरेका छन्। गाउँमा नै भनेको दाम पाइने भएपछि बिक्रीका लागि सहज भएको किसान बताउँछन्। एक किलोभटमाससँग दुई किलो ढिके नुन साट्ने गरेको दीपायल सिलगढी नगरपालिका–४ पिपल्लाका व्यापारी विक्रम साउदले बताउनुभयो।

‘भटमास बिक्री गर्नेहरू नगद पैसाभन्दा पनि ढिके नुन र चामल लिन रुचाउँछन्,’ उहाँले भन्नुभयो– ‘व्यपारीले मागेकै मूल्यमा हामीले साट्ने गरेका छौं।’ प्रायः घरमै गएर खरिद गरे सस्तो मूल्य पर्ने तर बिक्री गर्ने ठाउँसम्मै बोकेर ल्याउँदा उचित मूल्य नपाइने गरेको यहाँका भटमास व्यापारीको गुनासो छ।

भटमासको मूल्य गाउँमा रु ७० देखि ८० मा बिक्री हुने गरे पनि बजारमा भटमास व्यापारीले भने एक किलो भटमासमा दुई किलो चामल साटेर लैजाने गरेका छन्। भटमासलाई जंगली बँदेललगायत अन्य वन्य जन्तुले खासै नरुचाउने भएकाले प्राय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसान भटमास खेतीतर्फ आकर्षित हुने गरेको केआईसिंह गाउँपालिका–५ का स्थानीय कृष्णबहादुर रावलले बताउनुभयो।

जिल्लाका पानी नलाग्ने खेत ठाउँहरूमा भटमास अन्य खेतीभन्दा राम्रो फल्ने गरेको किसानहरू बताउँछन्। धानभन्दा पनि महँगो मूल्यमा बिक्री हुने हुँदा भटमास खेती गर्न अन्य बालीभन्दा सहज भएकाले यसतर्फ कृषक आर्कषित भएका हुन्। यहाँका किसनले मुख्य बालीको रूपमा भटमासको खेती गर्न थालेको केआईसिंह गाउँपालिकाका अर्का स्थानीय किसान जहरसिंह खवासले बताउनुभयो।

हाल जिल्लाका विभिन्न ग्रामीण भेगमा कृषकले वर्षेयाममा धान, मकैलगायतका बालीभन्दा बढी दलहन खेती गर्न थालेका छन्। जिल्लाका शिखर नगरपालिका, दीपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका लगायतका गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा भटमासका साथै अन्य दलहन खेती र तरकारी खेतीको विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस्