८० जनाले लडेर ज्यान गुमाए



बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोटमा तीन वर्षभित्र भीरबाट लडेर ८० जनाको ज्यान गएको छ। नलगाड नगरपालिका–४ स्यालापाटाका ७१ वर्षीय शान्तबहादुर वलीको भीरबाट लडेर मृत्यु भएको छ। उहाँको बागमारेको जंगलमा खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।दुई साताअघि बारेकोट गाउँपालिका–२ लिम्साको वीरेन्द ऐश्वर्य माध्यामिक विद्यालयमा कार्यरत ३१ वर्षीय शिक्षिका भगवती शाहीको भीरबाट लडेर मृत्यु भएको थियो।

बारेकोटको बूढागाउँ निवासी शाहीको विद्यालयबाट घर फर्कने क्रममा घर नजिकैको भीरबाट लडेर टाउकोमा गम्भीर चोट लागेर घाइते भएपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो।
नलगाड नगरपालिका–८ मैदेमा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी हबल्दार मोहवीर खड्का गत असारमा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो। घाइते खडकाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।प्रहरी हबल्दार खड्काको नेतृत्वमा गस्तीमा गएको बेला लड्नुभएको हो।

नलगाड नगरपालिका–८ गमथले भीरबाट लडेर २ सय मिटर तल खसेर गम्भीर घाइते प्रहरी हबल्दार खड्कालाई उपचारको लागि तत्काल रुकुमको आठबीसकोट नगरपालिका राडी नगर अस्पतालमा लगिएको थियो। नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। अस्पताल पुर्याएको केही घन्टाभित्र मृत्यु भएको थियो।

गत वर्ष नलगाड नगरपालिका–५ गेरेनी भीर बाटोमा पैदल यात्रा गर्ने क्रममा माथिबाट आएको ढुंगा लागेर बारेकोट गाउँपालिका–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भएको हो। जाजरकोट सदरमुकाम खलंगा आउने क्रममा बाटोमा पैदल हिडिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले टाउकोमा चोट लाग्दा घटना स्थलमै मृत्यु भएको थियो।

यी केही प्रतिनिधिमूलक घटना मात्र हुन। जाजरकोटमा काम गर्दा गर्दै हिँड्दा हिँड्दै ज्यान जानेको संख्या बढ्दै गएको छ। बाटोमा हिँड्दै गर्दा चिप्लिएर ढुंगा लागेर खोला तर्ने क्रममा काठको लाप्कोबाट खसेर घाँस दाउरा काट्ने क्रममा भीरबाट लडेर मृत्यु हुनेको संख्या धेरै छ।

पहाडी भिरालो ठाउँ, निकै साँघुरो बाटाघाटा, डर लाग्दो भिरपाखामा स्थानीयले काम गर्नुपर्ने भएकाले लडेर वर्षेनी धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो। बाटोघाटो र भीर स्थानीयका लागि काल बनेको छ, हामी दुर्घटनालाई न्यूनीकरण गर्ने प्रयासमा छौं अध्यक्ष शाहले भन्नुभयो।

जाजरकोटका सातवटै स्थानीय तहका अनुसार एक वर्षको अवधिमा कम्तीमा ३० जनाले लडेर ज्यान गुमाएका छन् भने तीन वर्षको अवधिमा जाजरकोट जिल्लामा कम्तीमा ८० जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुमान छ।लडेर मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने झन्झटले स्थानीयले प्रहरीलाई खबर नगर्दा प्रहरीसँग एकिन तथ्यांक नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशर कार्कीले बताउनुभयो। उहाँले जाजरकोट जिल्ला भौगोलिकरूपमा निकै विकट भएकोले लडेर मर्नेको संख्या धेरै रहेको बताउनुभयो।

जाजरकोटका ग्रामीण भेगका गाउँमा जाने बाटो साँधुरो अप्ठयारो र जोखिमपूर्ण भएकाले मानिस लडेर मर्ने गरेको बारेकोट गाउँपालिका–५का पृथीबहादुर नेपालीले बताउनुभयो। बारेकोट जानेबाटो माथि हेर्दा पहाड मात्र देखिने तल सुसाउने खोला र नदी चिप्लिएर खस्ने हो कि भनेर डराइडराइ हिड्नु परेको नेपालीले बताउनुभयो।

महिला, बालबालिका वृद्धवृद्धा अशक्त भारी बोकेका मानिसलाई हिड्न निकै सकस हुने गरेको छ। जिल्ला सदरमुकामबाहेका नगर तथा गाउँपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन। मोटर नपुग्दा स्थानीयहरू पैदल हिड्न बाध्य छन्। गाउँ जोड्ने गोरेटो बाटो साँघुरो जीर्ण जोखिमपूर्ण भएकोले मानिसहरू मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य छ।

जाजरकोटका अधिकांश ठाउँमा पुल छैनन् फड्केबाट खोला तर्नुपर्छ। सरकारले सबै ठाउँमा पुल बनाउने योजना अगाडि ल्याए पनि अहिलेसम्म सबै ठाउँमा पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ। पुल भएका ठाउँमा मर्मत नहुँदा एकदमै जीर्ण बनेका छन्। स्थानीय बाटो मर्मत हुन सकेको छैन सरकारको बजेट सबै डोजरमा मात्र खर्च हुने गरेको छ। जसले गर्दा मानिसले अकालमा ज्यान गुमाउनु परेको अवस्था छ। स्थानीय बजारबाट गाउँ जाने बाटाहरू जोखिमपूर्ण छन्।
पैदल हिँड्दा माथिबाट ढुंगा खस्ने हो कि चिप्लिएर मरिने हो डराएर हिड्नु पर्ने अवस्था छ। लडेर घाइते भए पनि तत्काल उपचार नपाउँदा ज्यान जाने गरेको छ। नजिक सुबिधा सम्पन्न अस्पताल छैन। जाजरकोट सदरमुकाममा ५० शैयाको अस्पताल भए पनि सुबिधा सम्पन्न छैन, करारका स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन भएको छ। एम्बुलेन्सहरू बिग्रिएर थन्काइएको छ। सरोरवालाले मर्मत सम्भारमा कुनै चासो राखेका छैनन्।
घाइतेलाई टाढा लानको लागि यातायातको सुबिधा नहुँदा निकै समस्या परेको स्थानीय हाँसिलाल पन्तले बताउनुभयो। घरबाट काममा निस्केको मान्छे फर्केर आउछ कि आउँदैन भनेर चिन्त्ता गर्नुको विकल्प छैन। जाजरकोटका अधिकांश गाउँमा सञ्चारको सुबिधा नहुँदा तत्काल उद्धार गर्न गाह्रो हुने गरेको स्थानीयको भनाइ छ।

स्थानीय तहले डोजर प्रयोग गरेर धमाधम सडक बाटो निर्माण गरेका छन्। ‘पुराना र मानिस हिँड्ने बाटो मर्मतमा ध्यान नदिँदा यस्तो समस्या आउने गरेको हो।

यातायातको पहँुच नपुग्दा मानिसहरू जोखिमपूर्ण भिरालो बाटोमा यात्रा गर्न वाध्य छन्’ –नलगाड नगरपालिका–१० का किशोर मल्लले भन्नुभयो ।

बारेकोट गाउँपालिकामा सबैभन्दा धेरै मानिसको भीरबाट लडेर मृत्यु भएको छ। बारेकोट गाउँपालिकामा मात्र तीन वर्षयता ३५ जनाको मृत्यु भएको अध्यक्ष शाहले बताउनुभयो। छ महिनायता मात्र लडेर १० जनाको मृत्यु भएको जानकारी गराउनुभयो।
भीरबाट लडेर धेरैको ज्यान जान थालेपछि गाउँपालिकाले चालू आर्थिक वर्षदेखि कम्तीमा २० जनाको दुर्घटना बीमा गराइदिने गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो। आश्रित परिवारको भरणपोषणको लागि एकमुष्ट बीमा गरिदिन्छ। जसको मृत्यु हुन्छ त्यसकै परिवारलाई रकम दिने व्यवस्था मिलाउने गाउँपलिका अध्यक्ष शाहले बताउनुभयो।जोखिमपूर्ण बाटाहरू मर्मत सम्भारको लागि पहल गर्न सरोकारवाला निकायलाई स्थानीयहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्