कुमारलाई लाइफटाइम, सुमन र बानिका सर्वोत्कृष्ट

विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७६



न्ध्यवासिनी फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित दशौं रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७६ भव्यताका साथ सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न यस वर्षको विन्ध्यवासीनी अवार्डमा लोकदोहोरी विधाको वचस्व रह्यो।

समारोहमा सालको पात टपरीबाट सर्वोत्कृष्ट भाकाको अवार्ड वसन्त थापाले चुमे भने सोही गीतबाट लोकदोहोरी गायकको अवार्ड कुलेन्द्र विक, लोकदोहोरी रचनाको अवार्ड नवराज पन्त र लोकदोहोरी गीत म्युजिक भिडियो निर्देशकको अवार्ड शिव विकले उचाले।

त्यसै गरी लालुमैबाट शिव हमालले लोकदोहोरी गीतको अवार्ड चुमे भने मुखैमा चिनीबाट सुनीता दुलालले, लोकदोहोरी गायिका, विमल अधिकारी र सारिका केसीले लोकदोहोरी मोडल जोडी र सुस्मिता घर्ती मगरले लोकदोहोरी नवप्रतिभाको अवार्ड चुमेका छन्।

कुल ३४ विधामा अवार्ड प्रदान गरिएको समारोहमा सुगम संगीततर्फ तिम्रो साथ नामक एल्बम सर्वोत्कृष्ट एल्बम सावित भएको छ भने दिलीप योञ्जन तामाङको गीत गोधुलीमा सर्वोत्कृष्ट गीत सावित भएको छ।

गीत–संगीत र नृत्य प्रस्तुतिका साथ मनोरञ्जकरूपमा अगाडि बढाइएको समारोहमा कर्कलोको पातबाट राज खुम्बु र मेलिना राईले युगल गायनको अवार्ड चुम्दा रचना र पुरुष गीतकारको अवार्ड सुवास संगम राईले पाए। सम्झनामा नआऊबाट आशिष अविरलले संगीतकारको अवार्ड जिते भने कति लेखौं आफ्नै गीतबाट पद्मा लिङ्खा मगरले महिला गीतकारको आवार्ड चुमिन्।

आयोजक विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको अवार्ड समारोहमा सुमनकुमार श्रेष्ठले आधुनिक गायकको अवार्ड चुमे भने गायिकाको अवार्ड बानिका प्रधानले चुमिन्।

आधुनिक गीतको मोडलतर्फ तिम्रो आँसुबाट प्रेमबहादुर खड्का र सविना कार्कीले अवार्ड चुमेको समारोहमा ए मान्छेबाट सचिन रौनियारले पप गायक, के पो भन्लानबाट क्षनु गुरुङले पप गायिका र किन किनबाट राजेश थापाले पप संगीतकारको अवार्ड चुमे।

समारोहमा राज सिग्देलले जुरी अवार्ड प्राप्त गर्दा गल्तीबाट विक्रम बरालले नवप्रतिभा अवार्ड, आनन्दराज खनालले पफर्मर अफ द इयर, अनु शाह र राजन आलेले पब्लिक च्वाइस अवार्ड, पान खायो मायालेबाट शंकर बिसी र अञ्जली अधिकारीले पपुलर अवार्ड पाएका थिए।

त्यसै गरी रित्तो काखबाट दुर्गा पौडेलले म्युजिक भिडियो छायाँकार, नवीन घर्ती मगरले म्युजिक भिडियो सम्पादक, कमल सौरागले एरेन्जर, राखीबाट क्रान्ति केसीले आधुनिक गीत भिडियो निर्देशकको अवार्ड चुम्दा फिल्मी संगीततर्फ प्रसादको गीत वनको चरीबाट सुवास भुसालले संगीतकार र रूपक डोटेलले पाश्र्व गायकको अवार्ड चुमे। त्यसै गरी छक्का पञ्जा–३ को पहिलो नम्बरमाबाट बिन्दु परियारले पाश्र्व गायिकाको अवार्ड चुमिन्।

देशभक्ति गीतको अवार्ड नालापानीबाट ऋषि अधिकारीले प्राप्त गर्दा विन्ध्यवासिनी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड मनीष वशिष्ठले प्राप्त गरे भने प्रियसी म्युजिकले म्युजिक कम्पनीको अवार्ड पाएको छ।

समारोहमा काजीश श्रेष्ठ, आरुषी मगर र समूह, शिव विक, दिपासा बिसी, अस्मिता पुरी र समूह, प्रतिभा चाम्लिङ, शर्मिला कोइराला, प्रशंसा कोइरालालगायतले नृत्य प्रस्तुत गरेका थिए भने दुर्गा परियार, रूपक डोटेल, कुलेन्द्र विश्वकर्मालगायतले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा लोकगायक कुमार बस्नेतलाई १ लाख रुपियाँसहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानति गरियो। उनलाई सम्मान गरिइरहँदा समारोहमा सहभागी संगीतकर्मी र संगीतप्रेमीले स्वस्फूर्तरूपमा आ–आफ्नो सिटबाट उठेर सम्मान दर्शाएका थिए।

समारोहमा पत्रकार राजेश खनाललाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। जय गीत जय संगीतको नाराका साथ सम्पन्न अवार्ड समारोह नेपाली संगीत क्षेत्रका ५ प्रतिनिधिमूलक संगीतकर्मी तथा आयोजक फाउन्डेसनका सल्लाहकारको सम्मानबाट आरम्भ भएको थियो। समारोहमा उनीहरूको सम्मानमा रामकृष्ण ढकाल, अजर जंगम, रामचन्द्र काफ्ले, सुमनकुमार श्रेष्ठ र प्राश्ना शाक्यले गीत प्रस्तुत गरेका थिए।

तस्वीरहरु : रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्