भ्रमण वर्षका लागि हामी तयार छौं



नेपाल पर्यटकीय सम्भावना भएको सुन्दर देश भन्ने कुरा दोहोर्‍याइरहन आवश्यक छैन। यहाँको भौगोलिक अवस्था, प्रँकृतिक सुन्दरता, मौलिक संस्कृति, विविध भाषा, रहनसहनले अन्य मुलुकबाट आउने मानिसलाई निकै आकर्षित गर्छ।

पछिल्लोपटक देश राजनीतिक स्थिति सुधारोन्मुख हुँदै स्थिर सरकार गठन हुनु, राजनीतिक मुद्दाले किनारा पाउँदै गएर आर्थिक एजेन्डा प्राथमिकतामा पर्नुलगायतका कारण नेपालको पर्यटन क्षेत्रको विकासका निम्ति आशा देखिएको महसुस भएको छ। लामो द्वन्द्व, राजनीतिक अस्थिरता एवम् भूकम्पलगायत प्राकृतिक विपद् जस्ता कारणले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको हामीमा लुकेको छैन।

जनसंख्या र भूगोल दुवै हिसाबले दुई विशाल देश भारत र चीनको बीचमा रहेको सानो र सुन्दर यो देश शान्तिका दूत गौतम बुद्धको जन्मभूमि, विश्वको सर्वोच्च शिखर सगरमाथासहित उच्च हिमश्रृङ्खला, हिमाल पहाड, तराई तीनवटै हावापानी, यहाँको प्राकृतिक सुन्दरता, धार्मिक विधिता, ऐतिहासिक कला, संस्कृति अन्यत्रको भन्दा भिन्न रहेकाले फरक संस्कृति र रहनसहनबाट आउने मानिसलाई आकर्षित गरेको पाइन्छ।

त्यससँगै बुद्धको जन्मभूमि भएकाले विश्वभर छरिएर रहेका बौद्धमार्गीलाई आकर्षित अर्कोको महत्वपूर्ण पक्ष पनि रहेको छ। यसबाट फाइदा लिन सके आर्थिक र सांस्कृतिकरूपमा नेपालले ठूलो फड्को मार्न सक्छ भन्नेमा दुईमत छैन।

नेपालमा पर्यटनसंँग जोडेर आर्थिक, सामाजिक तथा सांस्कृतिक फाइदा लिन सक्ने सम्भावना भएका धेरै क्षेत्र रहेका छन्। यसमध्ये बुद्धको जन्मभूमि लुम्बिनी प्रमुख क्षेत्र हो। विश्वसम्पदा सूचीमा सूचीकृत यो स्थान बौद्ध धर्माबलम्बीहरूको मात्रै पवित्रस्थल होइन गैरबौद्ध धर्माबलम्बीको लागिसमेत आकर्षण केन्द्र हो। भगवान गौतम बुद्धका जीवनमा अत्यन्तै महत्वपूर्ण स्थानको रूपमा परिचित क्षेत्रहरू स्वयम्भु, बौद्धनाथ, लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर जस्ता क्षेत्र बौद्ध धर्माबलम्बी जीवनमा एकपटक पुग्नैपर्ने पवित्र स्थलका रूपमा लिइन्छ तीमध्ये धेरै नेपालमै रहेका छन्।

अतिथि देव भवः नेपालीको संस्कार नै हो। पहुनालाई देवता सरह मान्ने यहाँका मानिसको संस्कारले जसको पनि म लोभ्याइरहेको हुन्छ। ‘नमस्ते’, अथिति देव भवःलगायतका अभियानलाई निरन्तरता दिने, डास्पोरामार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवम् पर्यटन प्रवद्र्धन गर्नेलगायका योजनालाई मुर्तरूप दिने कार्यलाई ढिलाइ गर्नु हुँदैन। नेपालमा पर्यटकलाई देखेपछि प्रत्येक मानिसले हाँसेर नमस्ते गर्ने र विदेशमा पनि नेपालीले मिठो मुस्कानसहित नेपालको प्रचारप्रसारमा सधाउनु जरुरी छ। यसो गर्दा हाम्रो संस्कार देखेर पनि पर्यटकलाई हाम्रो मुलुकमा घुम्ने रहर जागोस्। पदयात्राको लागि पनि नेपाल विश्वमा परिचित छ। उत्तरी क्षेत्रमा अवस्थित सुन्दर हिमालले सधैं पर्यटकलाई लोभ्याइ रहेका हुन्छन्। त्यसैले भनिन्छ नेपाल विश्वका अन्य कुनै पनि देशसँग तुलना गर्न नमिल्ने एक अतुलनीय भूपरिवेष्टित मुलुक हो।

चुनौती

नेपालको प्राकृतिक एवम् सांस्कृतिक सुन्दरताको वर्णन जति धेरै गरे पनि पुग्दैन। तर, प्रकृति र हाम्रा पुर्खाले दिएको सम्पत्तिको रक्षा गर्नु निक्कै ठूलो चुनौतीका रूपमा देखा परेको छ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने पदयात्रा केही वर्षयता संकटमा पर्दै गएको छ। ‘डोजर’ आंतक बढ्दै गएको छ। वन जंगल, डाँडापाखामा भौगोलिक, वातावरणीय अध्ययनबिना डोजर तथा एक्जाभेटर जस्ता हेभी इक्युवमेन्ट चलाइएको छ। जलवायु परिवर्तनका असरका कारण हिमाल पग्लिँदै गएका छन् भने फोहोर पनि बढ्दै गएको छ।

जलविद्युत्का नाममा कतिपय नदीमा बाँध निर्माण हुँदा साहसिक पर्यटनका रूपमा विश्वभर चर्चित ¥याटिङ संकटमा पर्दै गएको छ। आधुनिकताका नाममा यहाँको मौलिक संस्कृति लोप हुने स्थितिमा पुगेका छन्। युवापुस्ता आफ्नो संकृति, पहिचान प्रस्तुत गर्न हिच्काइरहेका छन्। युवाजशक्ति विदेश पलायन हुने क्रम बढेकाले श्रमशक्तिको अभाव हुँदै गएको छ। स्थानीय उत्पादन घटेको छ। गाउँमा चाउचाउ र चाउमिनको प्रवेश बढ्दो छ। नेपालको परम्परागत खाद्यन्न हराउँदै गएको छ।

नेपालमा पर्यटकहरू सयौं तले टावर हेर्न, आलिसान होटलमा बस्न, डिस्को र पब जान आउने होइनन्। त्यस्तो भौतिक सुविधा नेपालमा भन्दा अरू नै देशमा उच्च स्तरको भोग गर्न पाउँछन्। तत्कालका निम्ति नेपालले ती विषयमा अरूदेशसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन।

नेपालमा पर्यटकको आकर्षण यहाँको मौलिक सम्पदा नै हो। नेपालीको संस्कृति, नेपालको प्रकृतिमार्फत लोभ्याउने हो। नेपाल आउने पर्यटकलाई चाउमिन होइन ढिँडो र रोटीका परिकार दिनुपर्छ। भीरपाखामा थोत्रा गाडीमा राखेर उर्फादै कुँदाउने होइन, रोधी घरमा नचाउँदै, पधेरीमा पानी खुवाउँदै, झरनामा नुहाउँदै उकाली ओरालीमा पदयात्रा गराउँदा उनीहरूको मन प्रशन्नमात्रै हुँदैन, पर्यटकको बसाइँ अवधिसँगै उनीहरूको खर्च बढ्छ। फलस्वरूप हाम्रँे मौलिक संस्कृति र प्राकृतिक सुन्दरताकाको संरक्षण हुन्छ भने आम्दानीको पनि बलियो स्रोत बन्छ।

हामी अहिले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा छौं। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकार र निजी क्षेत्र कम्मर कसेर लागेका छन्। तर, ती पर्यटकलाई देखाउने कुरा हामीले कति संरक्षण गरेका छौं भन्ने कुरा महत्वपूर्ण छ। भ्रमण वर्ष शुरू हुन अब एक महिना पनि समय छैन, यो पृष्ठभूमिमा वसन्तपुर क्षेत्र अझै पुनर्निर्माण भएको छैन, अन्य सम्पदाहरूको स्थिति पनि उस्तै छ।त्योभन्दा महत्वपूर्ण हामीले नागरिकलाई सचेत गराएका छैनौं। गोरो छाला देख्ने बित्तिकै ठग्न खोज्ने एउटा जमात छ, त्यसले सारा नेपालीको बेइज्यत गरिरहेका छ।

व्यापारीले आफ्नो व्यापार विस्तार गर्न मिठो बोल्ला तर अध्ययगमनमा बस्ने कर्मचारीको व्यवहार पनि सहिष्णु, मिजासिलो हुनुपर्‍याे, ट्याक्सी ड्राइभरदेखि ठमेल, वसन्तपुर, मंगलबजार, भक्तपुर, लेकसाइडजस्ता ठाउँमा झोलामा, हातमा सामान बोकेर पर्यटकलाई झ्याउ गर्नेहरू पनि सुधारिनुपर्छ। सुस्त गतिमा भएका काम र हाम्रो बानी व्यवहारमा सुधार नहुने र सरकारले पनि आफ्नोे कार्यशैलीमा परिवर्तन नगर्ने प्रवृत्ति नहटेकाले कतै नेपाल भ्रमण वर्ष २०२० नारामा मात्र सीमित हुने त होइन भन्ने चिन्ता व्यप्त छ।

मुलुकमा रहेका सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास गरी तिनको उपयोग गर्ने तथा पर्यटकलाई मुलुकका आर्थिक आधारमा रूपमा ग्रामीण तहसम्म पुर्‍याउन सांस्कृतिक र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार प्रवद्र्धन गरिनु आवश्यक छ। विमानस्थललाई देशको ऐनाको रूपमा लिइन्छ। भिसाको लागि लामो समय पर्खिनुपर्ने, अध्यागमन विभागका कर्मचारीको अशिष्ट व्यवहार, अस्तव्यस्थताले गर्दा पर्यटकले सधंै हैरानी व्यहोर्नुपर्छ। पर्यटन वर्ष सफल पार्नको लागि यहींबाटै सुधारको शुरूआत गरिनुपर्दछ।

देशको राजधानी काठमाडौंको बाटोको अवस्था वर्णन गरिसाध्य छैन। धुलो, धुँवा, फोहोर, ट्राफिक जामले गर्दा सधैं हैरानी छ। साना –साना कुराले पनि पर्यटकको नेपालप्रतिको धारणामा परिवर्तन आउन सक्छ। त्यसैले केन्द्रीय सरकारदेखि स्थानीय सरकारले यस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ। शहरी फोहोरको बढ्दो दवावलाई व्यवस्थापन गर्न स्थानीय तहले विशेषरूपमा सोच्न अब ढिला गर्न हँुदैन। अर्को लाजमर्दो कुरा पदयात्रा र हिमाल आरोहणमा निस्किएका पर्यटकलाई बिरामी बनाई उद्धार गर्ने नक्कली उद्धारको चर्चा विश्वभर छ। नक्कली उद्धारले देशको बेइज्जत भइरहेको छ भने पदयात्री पर्यटकको संख्यामा पनि कमी आइरहेको छ त्यसलाई चिर्नुपर्छ।

(तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न श्रेष्ठसँग नेपाल समाचारपत्रले गरेको कुराकानीमा आधिारित)

प्रतिक्रिया दिनुहोस्