सांस्कृतिक पर्यटनको सम्भावना



सुनिल महर्जन

काठमाडौं महानगरपालिकाको आग्रहमा केही महिनाअघि विदेशी मेयरहरूले इन्द्रजात्रा अवलोकन गरेको घटना निकै चर्चाको विषय बन्यो। सयौं वर्षदेखि इन्द्रजात्रा मनाउँदै आएको नेपालले त्यसको विशेषता विभिन्न देशका मेयरहरूलाई बुझाउने जे प्रयास ग¥यो, त्यसबाट सांस्कृतिक र धार्मिक पर्यटनको सम्भावना प्रमाणित भयो।

‘भिजिट नेपाल सन् २०२०’ प्रचारात्मक अभियानका रूपमा समेत त्यस घटनाको परिचर्चा गरिएको थियो। इन्द्रजात्राको विशेषतासँगै काठमाडौं उपत्यकामा अनगन्ती मूर्त र अर्मूत संस्कृति र सम्पदाहरू छन् जसको प्रचार–प्रसारले पर्यटकलाई आकर्षण गर्न सकिने थुप्रै आधार रहेको पर्यटनविद् दिलेन्द्र श्रेष्ठले बताउनुहुन्छ।

कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा अघि भक्तपुरको पाँचतले मन्दिर बनिसकेको थियो। संस्कृतिविद्का अनुसार काठमाडौं उपत्यका विश्वका निकै पुराना सभ्यतामध्येको एउटा सभ्यता हो । यहाँ कम्तीमा तीन हजार वर्ष पहिलेदेखि मानिसहरूको स्थायी बसोबास छ र १ हजार ६ सय वर्ष पहिलेसम्मका पुरातात्विक महङ्खवका संरचना छन् । त्यतिबेला देखिएका धार्मिक सांस्कृतिक परम्परा जीवित छन्। लिच्छवि र मल्लकाल यो उपत्यकाको सबैभन्दा समृद्ध समय मानिन्छ । काठमाडौंको सबैजसो शहरका मठमन्दिर, दरबार र पोखरीहरू त्यसका प्रमाण हुन्।

भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, काठमाडौंको वसन्तपुर क्षेत्रका ऐतिहासिक संरचना, तिनमा अभिव्यक्त कला नेपाल आउने पर्यटकका लागि दर्शनीय स्थल हुन्। साँखु, कीर्तिपुर, बुङ्मती, टोखाका बस्तीहरू, पशुपति, बौद्ध र स्वयम्भू आफैंमा पर्खालबाहिरको संग्रहालयका रूपमा विदेशी पर्यटकले औंल्याएका छन्। विश्वका पुराना शहर र तिनको कलात्मक वास्तुकलाको अवलोकन यतिबेला विश्वव्यापी पर्यटनको एउटा महङ्खवपूर्ण हिस्सा बनेको छ । यी संरचना मात्र होइन, काठमाडौंमा सांस्कृतिक चाडपर्वहरू छन्, जसको पर्यटकीय आकर्षणका दृष्टिले निकै ठूलो महङ्खव छ ।

संस्कृतिलाई पर्यटन प्रवद्र्धनसँगै होमस्टे सञ्चालन गरिरहेको छ र गर्न सकिने थुप्रै सम्भावना रहेको पनि पर्यटनविद् श्रेष्ठको भनाइ छ। भाषा, धर्म र संस्कृतिको विशिष्टता सम्बन्धित जातजाति तथा भाषाभाषी बढी जानकार हुने भएकाले विकासमा सम्बन्धित समुदायको सहभागितामा जोड दिनुपर्दछ। तसर्थ, सांस्कृतिक भेषभूषा र जनजीवनलाई समेटी पर्यटन विकास गर्नसके भिजिट नेपाल २०२० मा सरकारले राखेको लक्ष्यभन्दा बढी पर्यटक भित्र्याउन सम्भव हुने पर्यटनविद्हरू बताउँछन्।

सांस्कृतिक पर्यटन किन ? 

‘सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय चालचलन र दिनचर्यामा डुबाइदिन्छ। नयाँ अनुभवहरूको साझेदारी गराइदिन्छ’, पर्यटनविद् श्रेष्ठले भन्नुभयो– ‘पर्यटकीय गन्तव्यले स्थानीय समुदायहरूलाई आफ्नो धर्म, संस्कृति र संस्कारको महŒव दर्शाउँछ।’
सांस्कृतिक सम्पदाको मूल्य र महत्वको अनुभूति दिलाउँदै संस्कृतिको संरक्षण गर्न र सांस्कृतिक विविधतालाई प्रचार–प्रसारमा प्रोत्साहन दिने पनि उहाँको भनाइरहेको छ। उहाँले भन्नुभयो– ‘पाहुनाहरूबाट संस्कृति आदान–प्रदान र सिक्ने–सिकाउने अवसर प्राप्त हुन्छ। फलस्वरूप पर्यटनलाई थप आकर्षण गर्दछ।’ यसको एउटा प्रमाण हो, सन् १९५० मा यूएनको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक भ्रमण गरेका थिए।

हेगनले भ्रमण गरी सन् १९७१ मा प्रकाशित ‘नेपाल द किङडम इन द हिमालयन’ नामक पुस्तकमा नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाको बारेमा नेपाललाई विश्वसामु चिनाउने प्रयास गरेका छन्।

संस्कृति के हो ? 

मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव–संस्कृति हो। मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन्। दुवै किसिमका सिर्जनाहरूलाई संस्कृतिका रूपमा सम्बोधन गर्ने गरिन्छ।

‘संस्कृति भनेको इतिहासको निश्चित कालखण्डमा मानिसले गरेका सिर्जनशील कार्य हुन्। मानिस बाँच्ने क्रममा खाद्य वस्तु, लत्ता कपडा उत्पादनदेखि लिएर सबै आवश्यक वस्तुको उत्पादनसंग सम्बन्धित कार्य, सीप नै संस्कृति हुन्। कलासंस्कृति सिंगो मानव जातिको कृति, प्रतिभा हो। मानिसका सिर्जना हुन्।’ –संस्कृतिविद् सत्यमोहन जोशीले भन्नुभयो।

पाषाण औजारहरू निर्माण र प्रयोग गर्ने गरेको युगको संस्कृतिलाई पाषाणयुगीय संस्कृित भनिन्छ। ऐतिहासिक युगको विभिन्न कालखण्डका आधारमा पनि सांस्कृितक वर्गीकरण गर्ने प्रचलन छ। नेपालको सन्दर्भमा किराँतकालीन संस्कृति, लिच्छविकालीन संस्कृति, मल्लकालीन संस्कृति, प्राचीन संस्कृति, मध्यकालीन संस्कृति भन्ने प्रचलनलाई उदाहरणका रूपमा लिन सकिन्छ।

आठ विश्व सम्पदा

विश्वमा विश्वसम्पदा सूचीमा छानिएका ६ सय ३० धरोहरमध्ये नेपालमा मात्र १० वटा पर्नु अति नै गर्व गर्न लायक कुरा हो। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठनले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका १ सय १८ देशमा अन्य सम्पदा छरिएका छन्। बेलायतको लन्डन शहर, भारतको ताजमहल, फ्रान्सको पेरिस, रूसको मस्को, चीनका तिब्बत र विशाल पर्खाललगायतका सूचीमा नेपालका काठमाडौं, भक्तपुर र पाटनलगायत १० स्थल पर्नुले नेपालको पर्यटन सम्भावना विश्वमा झनै फैलिन पाएको छ। १० मध्ये ८ वटा धार्मिक र सांस्कृतिक महत्वको सम्पदा रहेका छन्।

बुद्ध जन्मस्थल लुम्बिनी

तथागत गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेकैले विश्वमै नेपालले बुद्ध जन्मेको देशको महङ्खवपूर्ण स्थान पाएको छ। विश्वभरका बौद्धमार्गीहरूको सबैभन्दा ठूला तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक र ऐतिहासिक महŒवकै कारणले युनेस्कोले विश्व सम्पदाअन्तर्गत सूचीकृत गरेको छ।

सर्वप्रथम मौर्य राजा अशोक आफ्नो राज्यभिषेकको २०औं वर्ष ९२४५ ईपू० मा लुम्बिनी आएको र शिलास्तम्भ राखेको कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ। सन् १८९६ मा वीरशमशेरले नियुक्त गरेका पाल्पाका गर्भनर खड्गशमशेरको नेतृत्वमा भएको उत्खननबाट अशोक निर्मित शिलास्तम्भ प्राप्त भएको थियो। सम्राट् अशोकले आफ्नो जीवनकालमा स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोकस्तम्भ सबैभन्दा महङ्खवपूर्ण मानिन्छ।

चाँगुनारायण मन्दिर

भक्तपुर शहरदेखि ५ किमि उत्तरमा विभिन्न कलाकृतिबाट सजिएको रमणीय पर्यटकीय धार्मिक तीर्थस्थल हो, चाँगुनारायण मन्दिर। प्राकृतिक सौन्र्दयको माँझमा यो मन्दिर रहेको छ। चाँगुनारायणको मन्दिर काठमाडौं उपत्यकामा सबैभन्दा पहिलेको अर्थात् सबैभन्दा पुरानो मानिन्छ। नेपालको पुरातन संस्कृति कलाले सिंगारिएको यो मन्दिर भव्य छ।

भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्रमा इँटा र काठले बनाइएको ५५ झ्याले दरबार र दरबारवरिपरि रहेका प्यागोडा शैलीका मन्दिरहरूको समष्टिलाई भक्तपुर दरबार क्षेत्रले प्रतिबिम्बित गर्छ। ५५ झ्याले दरबारको अगाडि कुनामा एक तल्लामाथि ठूलो घण्टा झुन्डाइएको छ, जुन रणजित मल्लले स्थापना गरेको अभिलेख पनि त्यसैमा कुँदिएको छ। ठूलो घण्टासँगै शिखर शैलीको ढुंगाको मन्दिर, ५५ झ्यालको कुनामा रहेको दुर्लभ जीवजन्तुको मूर्तिसहितको शिखर शैलीको ढुंगाका मन्दिर र भक्तपुर नगरपालिका जानेबाटोमा पर्ने १ तल्ले छाना भएको रातो मन्दिरलाई ३ वत्सलाको मन्दिर भन्ने चलन छ।

दरबार क्षेत्रको भ्रमणमा जाने व्यक्तिहरूका लागि ठूलो आकर्षणका रूपमा रहेको छ, वत्सला दुर्गा मन्दिर। भक्तपुरमा रहेका प्यागोडा मन्दिरहरू र भवनहरू विविध विशेषता, विविध संस्कृति र परम्परालाई प्रतिबिम्वित गर्न सफल देखिन्छन्।

स्वयम्भू

काठमाडौं उपत्यकाको पश्चिम डाँडामा पौराणिक तथा ऐतिहासिक महत्व राख्ने स्वयम्भू चैत्य अवस्थित छ। स्वयम्भू स्तुप मानव निर्मित नभएर आफैं उत्पति भएको धरोधर हो भन्ने धार्मिक मान्यता राखिन्छ। पाँचौं शताब्दीमा मानदेवको पालामा अर्थात् पाँचौं शताब्दीमा स्वयम्भूको अत्यन्त सुन्दर स्तुपको निर्माण भइसकेको देखिन्छ। स्वयम्भू महाचैत्यको निर्माणपछि कपिलवस्तु, भारतका वनारसलगायत विभिन्न ठाउँ र चीनको ल्हासाका विभिन्न स्थानहरूबाट आएका मानिसहरूले स्वयम्भू चैत्यमा दीक्षा दिने/लिने पुनः निर्माण गर्ने आदि असंख्य कामहरू गरेको देखिन्छ। स्वयम्भू महाचैत्यको वरिपरि रहेका शान्तिपुर, वायुपुर, अग्निपुर, नागपुर, नामक पञ्चतत्वको देवस्वरूप मूर्ति र मन्दिरहरूले सौन्दर्यलाई थप आकर्षण गरेका छन्।

पशुपतिनाथ

भगवान् श्री पशुपतिनाथलाई नेपालीहरूका मात्र नभई संसारभरकै हिन्दूहरूले परम आराध्य परमेश्वरको रूपमा पुज्दछन्। ज्योतिर्लिङ्ग स्वरूपमा विराजमान पशुपतिनाथ र यस वरिपरिको पावन पशुपति क्षेत्र समस्त हिन्दूहरूको श्रद्धा र आस्थाको केन्द्रविन्दु एवम् पवित्र तीर्थस्थलका रूपमा रहिआएको छ। पशुपतिनाथको मन्दिरमा केन्द्रित पशुपति क्षेत्र करिब ४ सय ९२ हेक्टरको क्षेत्रफलमा फैलिएको छ। देउपाटन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक वन आसपासको क्षेत्र पाशुपत घेरामा पर्दछ। पशुपति क्षेत्रमा करिब ४ सय ९२ साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलिङ्ग रहेका छन्।

पाटन दरबार क्षेत्र

सातौंदेखि १३औं शताब्दीसम्म पाटन एसियाकै बुद्ध धर्मको प्रमुख स्कुलका रूपमा स्थापित भएको देखिन्छ। यहाँ रहेका बहाल, विहार र स्तुपाले यो कुराको पुष्टि गरेका छन्। पाटन दरबार स्वायर क्षेत्र मल्ल राजाहरूको निवास रहेको मुख्य थलोका रूपमा रहेको पाइन्छ। यो क्षेत्रमा तत्कालीन राजाहरूले खानपिन, आराम र बैठकका लागि उपयुक्त हुने भवनको मात्र होइन, कयौं कलात्मक मन्दिरहरूको पनि निर्माण गर्न लगाएका छन्। पाटन दरबार क्षेत्रको सुन्दर कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको शहरले सम्बोधन गर्ने गरेको पनि पाइन्छ। त्यसमा पनि पाटनको दरबार स्वायर क्षेत्र भवन र मन्दिरको स्थलजस्तो लाग्छ। यहाँ योगनरेन्द्र मल्लको सुन्दर सुनौलो मूर्ति छ। पाटनको सबैभन्दा महङ्खवपूर्ण आकर्षण हो, दरबार स्क्वायर क्षेत्रमा देउतले भवनको आगाडि रहेको सुन्दर र कलात्मक कृष्ण मन्दिर। राजा सिद्धिनरसिंह मल्लले सन् १६३० मा निर्माण गर्न लगाएको पाटन कृष्ण मन्दिरलाई पर्यटकहरूले निकै मन पराएको देखिन्छ। पाटन दरबार क्षेत्र उतर–दक्षिण आयाताकार रूपमा अवस्थित छ। पूर्वतिर दरबार क्षेत्र र पश्चिमतर्फ लस्करै मन्दिरहरू रहेको हुनाले एकै दृष्टिमा विभिन्न मन्दिरहरू र दरबार हेर्दा अनुपम देखिन्छ।

हनुमान ढोका दरबार क्षेत्र

राजधानी काठमाडौंको केन्द्रमा रहेको हनुमान ढोका दरबार क्षेत्र एउटा संरक्षित स्मारक क्षेत्र हो। नेसं ७९२ ९विसं १७२९० मा मल्लकालका प्रसिद्ध राजा प्रताप मल्लले हनुमानको मूर्ति स्थापना गरेपछि यसको महत्व र दरबार रहन गएको हो। दरबार स्क्वायरको बीच भागमा अजंगको देखिने काल भैरवको मूर्ति छ। यहीं मल्लहरूका दरबारका अतिरिक्त पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको नौतले दरबारसमेत छ। नौतले दरबारनजिकै रहेको कुमारी घरको महत्व उत्तिकै छ जहाँ शाक्य कूलकी सानी केटीलाई जीवित देवीका रूपमा राखिएको छ। हनुमानको मूर्ति पछाडि सानो बार्दली रहेको भवनको छानामा हनुमानढोका मुख्य प्रवेशद्वारमाथि बायाँपट्टि तीन छाना भएको मन्दिर छ। यो मन्दिर ‘आगंछे’ नामले प्रसिद्ध छ। हनुमानको मूर्तिको दायाँपट्टि दरबार प्रवेश गर्ने मुख्यद्वारका रूपमा रहेको सुवर्णद्वारलाई विशेष रूपमा सजाइएको छ। विसं १८८७ को नापीमा हुनमान ढोका दरबारको क्षेत्रफल अहिलेको भन्दा निकै ठूलो र विस्तृत रहेको थियो। तर अहिले अतिक्रमण भइसकेको छ। वसन्तपुर दरबार नेपाली मन्दिर शैलीमा निर्माण भएको छ।

बौद्ध महाचैत्य

काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो, बौद्ध स्तुप। राजधानीदेखि झण्डै ८ किमि पूर्वमा अवस्थित छ। तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ। यो गुम्बा पाँचौं शताब्दीमा बनेको अनुमान गरिन्छ तर ठोस प्रमाण भने भेटिएको छैन। तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। डनियल राइटद्वारा सम्पादित उन्नाइसौं शताब्दीको एउटा वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथमले ९४६४–५०५ सन्० गरेको देखिन्छ। बौद्धमार्गीहरूले बौद्ध महाचैत्य पनि स्वयम्भू महाचैत्यजस्तै आफैं उत्पन्न भएको हो भन्ने विश्वास पनि राखेको पाइन्छ।

आकर्षक गन्तव्य कीर्तिपुर
कीर्तिपुर उपत्यकाको एउटा पुरानो शहर हो। ऐतिहासिक महत्वको शहर हो। यो संस्कृति, सम्पदाले भरिपूर्ण रहेको छ। कीर्तिपुर नगरमा पर्यटक प्रवद्र्धनको प्रबल सम्भावना रहेको छ। त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो रहेको बताउँदै नगरपालिकाका मेयर रमेश महर्जनले भन्नुभयो– ‘नगरपालिकाको योजनाबद्ध कार्यक्रम, सरोकारवालाहरूबीच समन्वय गर्दै अघि बढिरहेका छौं। कीर्तिपुरमा ठूलठूला उद्योग र कलकारखाना स्थापना गर्न सम्भावना छैन। त्यसैले यहाँको लक्ष्य भनेको पर्यटन उद्योग प्रवद्र्धन गर्ने नै हो।’

कीर्तिपुरमा रहेका ऐतिहासिक सम्पदा, मूर्त, अमूर्त संस्कृतिको प्रवद्र्धन, संरक्षण र पर्यटकीय पूर्वाधारको निर्माणबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न दिशातर्फ अघि बढिरहेको पनि मेयर महर्जनले बताउनुभयो। नगरपालिकाले स्थानीय पर्यटक पथप्रदर्शक, संस्कृति संरक्षण, इतिहासको खोजी, होमस्टेको प्रवद्र्धन कार्यक्रमलाई चरणबद्धरूपमा अघि बढाउने योजना तर्जुमा गरेको छ। पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास, व्यवस्थापन गर्दैै पर्यटकहरू बढी बढी भित्र्याउने लक्ष्य राखेको छ।

सन् २०२० को वर्षको अवसरमा पर्यटकीय सम्भावना, पूर्वाधार बारे बृहत् प्रचारात्मक अभियान, छलफल र गोष्ठी सञ्चालन गर्दै आएको छ। कीर्तिपुर प्रवेश गर्ने बाटोमा संस्कृति झल्किने प्रवेशद्वार, ऐतिहासिक सम्पदा र त्यसको महत्व झल्किने बोर्ड राख्ने, पर्यटकमैत्री शौचालय बनाउने कामहरू भइरहेको छ। त्यसैगरी पर्यटकीय शहरका रूपमा विकास गर्न कीर्तिपुर र गोर्खाली सेनाबीच युद्ध भएको ठाउँमा युद्धस्मारक पार्क बनाउने कार्य भइरहेको छ। यहाँको धार्मिक सांस्कृतिक महत्वको गन्तव्यका रूपमा चोभार, जलविनायक, उमामहेश्वरी, श्रीकीर्ति विहार, जगतपाल महाविहार, चिलँचो चैत्य, बाघ भैरवलगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्