ल्हासाजस्तै लामाबगर



चिरञ्जीवी मास्के

दोलखाको लामाबगर पर्यटकहरुको नयाँ गन्तव्य बनेको छ । तिब्बतको ल्हासाजस्तै भौगोलिक बनोट भएको लामाबगर वरिपरि चट्टानी पहाडले घेरिएको सानो उपत्यका हो । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको लामाबगरको लम्बाइ ६ किलोमिटर रहेको छ भने चौडाइ पाँच सय मिटरको छ ।

भौगोलिक सुन्दरता र जातीय एवं सांस्कृतिक विविधता रहेको लामाबगरमा झण्डै एक सय घरधुरी रहेको छ । लामाबगर पहिले ताल थियो, स्थानीय तेम्बाछिरी शेर्पा (मिजार) ले बाबु बाजेबाट थाहा पाएको इतिहास सुनाउँदै भन्नुभयो– ‘ताल फुटेर बगर बनेपछि करिब दुई सय वर्षअघि लामाबगरमा बस्ती बसेको हो ।’

प्राकुतिक ड्यामलाई तामाकोशी नदी थुनेर व्यवस्थित बनाइएको दुश्यले समेत धेरै पर्यटकलाई आकर्षित गरेको छ । चट्टानी पहाडबाट झरेको झरना पनि लामाबगरको आकर्षण हो

चीनको तिब्बतसँगको सीमाक्षेत्र लामाबगर ताल हुँदा चार घण्टामाथि सामालिङ तथा बलमुचेनमा बस्ती रहेको र पछि लामाबगरको ताल फुटेर बगर बनेपछि माथिका बस्तीहरु तल झरेको इतिहास आफूले सुनेको तेम्बाछिरीले बताउनुभयो ।

लामाबगरलाई अहिले लामाबगर भन्ने गरिन्छ । ताल फुटेर लामो बगर बनेकाले लामाबगर भनिएको यो ठाउँको नाम अपभ्रंश भई लामाबगर बनेको स्थानीयको भनाइ छ । कतिपयले चाहिँ लामाहरु बस्ने भएकाले लामाबगर भनिएको समेत बताउने गरेका छन् ।
लामाबगरको दाहिने भएर तामाकोसी नदी बगेको छ जसले यो ठाउँको सुन्दरतालाई कसी लगाउने काम गरेको छ । लामाबगरबाट करिब एक घण्टाको उकालो पैदल यात्राबाट पुगिने ठाङ्गोक गुम्बाबाट लामाबगरको सुन्दर उपत्यकालाई राम्रोसँग नियाल्न सकिन्छ ।

लामाबगरबाट दुई दिनमा तिब्बतको सिमाना लप्ची पुगिन्छ । प्रसिद्ध चप्ची गुम्बाकै एउटा महत्वपूर्ण अंशका रुपमा लामाबगरको ठाङ्गोक गुम्बा रहेको छ । लप्ची गुम्बा बनाउने क्रममा सामग्रीहरु बढी भएको र त्यसले अर्को ठाउँमा गुम्बा बनाउन शङ्ख फ्याँकेर ठाउँ खोज्दा लामाबगरमाथि शङ्ख खसेर ठाङ्गोक गुम्बा बनाइएको प्रमुख लामा पेमातेन्जी शेर्पाको भनाइ छ ।

लामाबगर पर्यटकका लागि प्राकृतिक सुन्दरताका कारण जति महत्वपूर्ण लाग्छ त्यति नै महत्वपूर्ण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामको कारण बनेको छ । प्राकृतिक ड्यामलाई तामाकोसी नदी थुनेर व्यवस्थित बनाइएको दृश्यले समेत धेरै पर्यटकलाई आकर्षित गरेको छ । चट्टानी पहाडबाट झरेका झरना पनि लामाबगरको आकर्षण हो । लामाबगर पुगेपछि पर्यटकलाई एक दिन बितेको पत्तै हुँदैन । अहिले माथिल्लो तामाकोसी आयोजनाको काम तीव्र ढङ्गले अगाडि बढिरहेकाले लामाबगर क्षेत्रमा आन्तरिक पर्यटकसँगै चिनियाँ पर्यटक र चिनियाँ मजदुरसमेत प्रशस्तै रहेका छन् ।

लामाबगरदेखि लप्चीसम्मको क्षेत्रलाई गौरीशङ्कर संरक्षण क्षेत्रले कस्तुरी मार्गका रुपमा विकास गर्न लागेकाले पनि लामाबगरमा पर्यटकहरु हाइड्रो पावर तथा वन्यजन्तुको अध्ययन तथा अवलोकनका लागि समेत पुग्ने स्थानीयको विश्वास छ । गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह लामाबगरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन संरक्षण क्षेत्रले कस्तुरी मार्गको निर्माणसँगै अन्य विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने बताउनुहुन्छ ।

लामाबगरको अर्को विशेषता भनेको यो ठाउँ पुग्ने मार्गहरुमा रहेका प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको दृश्यावलोकन, झरनाहरु र धार्मिक स्थलहरु पनि हुन् । लामाबगर मार्गअन्तर्गत सिंगटी बजारबाट केही पर भोर्लेमा सडकमाथिबाट झरेको झरना सुन्दर देखिन्छ । त्यसभन्दा अलि पर पुगेपछि अर्को आकर्षक छ्योत छ्योत झरना देख्न सकिन्छ । छ्योत छ्योत झरनाकै आसपास चट्टानी पहाडको बीचबाट सानो पानीको धारा बगेको देखिन्छ । यो पानीको धारो रामले सीतालाई पानी तिर्खा लाग्दा चट्टानमा वाण हानेर निकालेको जनविश्वास छ ।

लामाबगर यात्राकै क्रममा गोंगरबाट झन्डै एक घण्टाको पैदल यात्रामा उकालो गइयो भने महादेवले खरको भित्ता च्यातेर कैलाशको दर्शन गराएको ठाउँ देउलाङ्गेश्वर महादेवको मन्दिर पुगिन्छ । गोंगरबाट केही माथि गएपछि करिब तीन सय मिटरको नेपालकै दोस्रो सुरुङ मार्गसमेत देख्न सकिन्छ । भूकम्पपछि पहाडको बाटोमा क्षति भएकाले तामाकोसी आयोजनाले यो ठाउँमा सुरुङ मार्ग बनाएको हो । ल्हासाको पहाडी क्षेत्रमा जताततै सुरुङ मार्ग बनेको छ । लामाबगरको भौगोलिक बनौटसँगै यो सुरुङ मार्गले पनि ल्हासासँग तुलना गर्न सकिने बनाएको छ ।

कसरी पुग्ने लामाबगर

दोलखाको बिगु गाउँपालिका–१ मा रहेको लामाबगर सदरमुकाम चरिकोटबाट ६३ किलोमिटरको यात्रा तय गर्दै तीन घण्टामा पुग्न सकिन्छ । काठमाडौंबाट जान चाहनेले काठमाडौंबाट चरिकोटसम्मको एक सय ३३ किलोमिटरको यात्रा तय गरी चरिकोटबाट सिंगटी हुँदै लामाबगर पुग्न सक्छन् ।

लामाबगर पुग्न काठमाडौंबाट गोंगरसम्मको बस यात्रा वा अन्य साना सवारी साधन रिर्जभ गरी जान सकिन्छ । चरिकोटबाट लामाबगर पुग्न साना सवारी साधनले १० हजारसम्म लिने गरेका छन् ।

बास र खानपान

लामाबगरमा सुविधा सम्पन्न होटलहरु नभए पनि केही सामान्य खालका होटलहरु रहेका छन् । ती होटलहरुले लजको प्रतिव्यक्ति तीन चार सय र खानाको मासुसहित प्रतिछाक तीनदेखि चार सयसम्म लिने गरेका छन् । लामाबगरमा बस्न नचाहनेहरु गोंगर बजारमा समेत बस्न सक्छन् । गोंगरबाट लामाबगर जान ११ किलोमिटरको यात्रा तय गर्नुपर्छ । गोंगरमा लजको प्रतिव्यक्ति पाँच सयसम्म र मासुसहितको खानाको तीन सयसम्म लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्