आउलान् त २० लाख पर्यटक ?



खेमराज निरौला

सरकारले घोषणा गरेको महत्वाकांक्षी योजना ‘नेपाल भ्रमण वर्ष २०२०’ साँच्चिकै सार्थक हुने हो भने २० लाख पर्यटकको आगमनले नेपाली अर्थतन्त्रलाई योगदान दिनेछ । तर, लक्ष्यअनुसारको तयारी भने भएको देखिँदैन । साँच्चिकै २० लाख पर्यटकले नेपाल भ्रमण गर्छन् त भन्ने प्रश्न अहिले चुनौतीका रूपमा ठडिएको छ ।

अघिल्लो वर्षको सरकारी तथ्यांक हेर्ने हो भने सन् २०१८ मा हवाई मार्ग र स्थल मार्गबाट गरी जम्मा ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोहीअनुरूप २०२० मा थप २० लाख पर्यटक भित्र्याउनुलाई सामान्य भने मान्न सकिँदैन । खासगरी सरकारको कमजोर तयारी, निजी क्षेत्रको अन्योल, एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल र त्यसको भद्रगोल अवस्था एवम् थप अन्य विमानस्थलहरुको अव्यावसायिकताले पनि यो लक्ष्य हासिल गर्न चुनौती थपिरहेको छ । नेपालको आर्थिक तथा सामाजिक विकासका सन्दर्भमा सरकारी तथा निजी क्षेत्रको सहकार्य अति आवश्यक हुन्छ । तर यसको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा अनेकौं कठिनाइ पनि रहेका छन् । यी कठिनाइहरु हटाउन सकेको खण्डमा नेपालजस्तो कम विकसित मुलुकका सन्दर्भमा आर्थिक तथा सामाजिक विकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण मोडेल बन्न सक्दछ ।

देशभर छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सँँस्कृतिक, पुरातात्विक सम्पदाहरुको स्थानीय निकाय, समुदाय तथा निजी क्षेत्रको समेत सहभागितामा संरक्षण, सम्वद्र्धन र दिगो व्यवस्थापन गरी विश्व पर्यटन बजारबाट अत्यधिक लाभ लिनसक्ने क्षमताको अभिवृद्धि गर्न सकेको खण्डमा मात्र भ्रमण वर्ष मनाउनुको सार्थकता रहनसक्छ । भू–बनोटका कारणले सृजित विश्वकै अद्वितीय प्राकृतिक तथा जैविक सम्पदाहरु र ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुको पहिचान संरक्षण र प्रवद्र्धनबाट पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सक्नुपर्दछ । यसका लागि नयाँ–नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान तथा पूर्वाधारको विकास गरी यस उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार बनाउन सकिन्छ ।

भ्रमण वर्षलाई लक्षित गरी खरिद गरेका नयाँ वाइडबडी विमानहरु भ्रष्टाचार र अनियमितताका काण्डमा जेलिएपछि दावी गरिएजस्तो उडान भर्न सकिरहेको छैन । पर्यटक आकर्षणको भरपर्दो माध्यम नै वायु सेवा भएकाले त्यही सेवा हाम्रो मुलुकमा गुणस्तरीय र भरपर्न योग्य नहुनुले पनि लक्ष्यमा पुग्न हम्मेहम्मे देखिन्छ । अर्कोतर्फ भ्रमण वर्षकै संघारमा पुराना गन्तव्यको प्रचार–प्रसार एवम् सौन्दर्यीकरण गर्नेतर्फ कुनै पनि क्षेत्रको क्रियाशीलतामा प्रभावकारिता देख्न सकिएको छैन । वर्षौंदेखि निर्माण गर्न थालिएका सडक पूर्वाधारहरु अझै पनि निर्माणकै चरणबाट गुज्रिरहेका छन् ।

अन्तर्राष्ट्रिय उडान संख्या बढाउन सक्दा पनि पर्यटक आगमनमा प्रभाव पर्ने देखिन्छ । मुलुकमा अहिले तीन तहका सरकारहरु सञ्चालनमा छन् । पर्यटन प्रवद्र्धनका लागि तिनै तहका सरकारले संघीय सरकारको नीति र उद्देश्यअनुरुप आ–आफ्ना प्रचारात्मक कार्यक्रमहरुको माध्यमबाट यो अभियानलाई टेवा पुर्रयाउन सक्दछन् । तिनै तहका सरकारहरुले आ–आफ्ना क्षेत्रभित्रका पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार, जीर्णोद्धार एवं व्यवस्थापन गर्न सक्नुपर्दछ । तर, कतिपय स्थानीय निकायहरु यस्ता कुराहरुबाट बेखबरजस्तै देखिन्छन्् ।आन्तरिक खिचातानी र व्यक्तिगत मनोकांक्षामा लिप्त रहँदा गर्नुपर्ने जति काम गर्नसकिएका छैनन् । उनीहरुको सक्रियता बढाउन केन्द्र सरकारले कडाइका साथ निर्देशन दिएर अघि बढ्नुपर्ने देखिन्छ । अझै धेरै गन्तव्य स्थलहरु गुमनाम छन् । जो प्रचार–प्रसार एवं व्यवस्थापनको पर्खाइमा रहेका छन्, त्यस्ता ऐतिहासिक महत्व र गाथा बोकेका स्थलहरुको पहिचान र बजारीकरणले मात्र पर्यटन वर्ष सफल हुनसक्छ ।

पर्यटकहरु एउटै उद्देश्य र गन्तव्यमा आएका हुँदैनन् । विभिन्न क्षेत्रहरु जस्तै पर्वतारोहण, अध्ययन–अनुसन्धान, शिकार खेल्ने, दृश्यावलोकन गर्ने, पदयात्रा गर्नेजस्ता क्रियाकलापलाई प्राथमिकतामा राख्ने पर्यटकहरु छुट्याउनुपर्दछ । फरक–फरक उद्देश्य बोकेर आएका पर्यटकहरुका गुनासा एवं प्राथमिकतालाई सम्बोधन हुने गरी व्यवस्थापन गरिनुपर्दछ । उनीहरुलाई आवश्यक पर्ने दोभाषे, गाइड, अनुसन्धानदाता एवम् धार्मिक, साँस्कृतिक, भाषिक रुपमा समेत सक्षम सोधार्थीहरु तयार गरी अघि बढनुपर्दछ ।

सरकार भ्रमण वर्ष सफल हुन्छ भनेर भाषण गरिरहने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भने भ्रमण वर्षको आक्रामक प्रचार एवम् विज्ञापन गर्नभने नसक्ने अनि कसरी विदेशी पर्यटक नेपाल आउँछन् त रु यसका लागि सरकारले आफ्नो दौत्य सम्बन्ध स्थापना भएका मुलुकहरुमा कूटनीतिक पहलमार्फत् पनि पर्यटक आकर्षण गर्नसक्नुपर्दछ । हालै सम्पन्न भएका दुई छिमेकी मुलुक चीन र बंगलादेशका राष्ट्रपतिहरुको भ्रमणले पनि एक खालको सकारात्मक सन्देश भने अवश्यनै प्रवाह गरेको छ । यसै सेरोफेरोमा रहेर अन्य मुलुकहरुसँग पनि नेपाल भ्रमण गर्न प्रेरित गर्ने खालको सहयोग मागेर अघि बढ्न सक्नुपर्दछ ।

गरिदैछ,हुदैछ भन्नुभन्दा पनि ठोस रुपमा परिणामउन्मुख कामले मात्र भ्रमण वर्षले सफलता पाउन सक्छ । पर्यटनको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक स्तर सुधार्दै जाने क्रममा सरकार र पर्यटनसँग आवद्ध संघ–संस्था तथा निजी क्षेत्रको सामु एकातिर मुलुकमा भएका नयाँ–नयाँ पर्यटकीय गन्तव्य स्थल खोज्ने र त्यस क्षेत्रमा पर्यटकहरुको आगमनले वातावरणीय सन्तुलन कायम राख्दै कसरी बढाउने भन्नेतर्फ सरोकारवालाहरुको ध्यान जानु जरुरी छ । सरकारले विभिन्न मुलुकहरुमा रहेका नेपाली नागरिकहरुका माध्यमबाट आफ्नो मुलुकमा भएका विभिन्न पर्यटकीय गन्तव्यहरुका बारेमा प्रचार–प्रसार गराई भ्रमण वर्षकै निम्तोको रुपमा अभियान चलाउन सक्ने हो भने पनि यसले सकारात्मक सन्देश दिन सक्छ ।

यस अभियानमा गैरआवसीय नेपालीबाट सरकारले सहयोग लिन सक्नुपर्दछ । अहिले वैदेशिक रोजगारी र आप्रवासन गरी झण्डै ६० लाख नेपालीहरु मुलुकबाहिर छन् । उनीहरुले आफू कार्यरत देशका विभिन्न संघ–संस्थामार्फत सन्देश दिएर भ्रमणमा थप सहयोग पुर्रयाउन सक्छन् । हामीले कुनै एउटा क्षेत्र विशेषभन्दा पनि वहुआयामिक क्षेत्रसँग जोडिएर प्रचार–प्रसार गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । पर्यटक आकर्षणको एउटा महत्वपूर्ण माध्यम अतिथि सत्कार पनि हो । हामीले हाम्रा व्यवहार र बोलीचालीबाट पनि उनीहरुको मन जित्न सक्नुपर्दछ । त्यस्तै पर्यटनको गुणस्तरीय र उनीहरुको औशत बसाइ र खर्च गराइलाई बढाउन सक्ने खालका प्याकेजहरु दिनसक्ने हो भने मात्र भ्रमण वर्षको लक्ष्य हासिल हुनसक्ला । अन्यथा भ्रमण वर्ष केवल घोषणामै मात्र सीमित नहोला भन्न सकिन्न ।

भ्रमण वर्षलाई सफल बनाउन ठूला पूर्र्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्दछ । यो अभियान सरकारको मात्र नभएर सम्पूर्ण मुलुक र मुलुकवासीको भएकाले पनि सरकारका मन्त्री, कूटनीतिक नियोगका पदाधिकारी, निजी क्षेत्र, सार्वजानिक संघ–संस्था, शैक्षिक संघ–संस्थालगायत सम्बद्ध सबैको हातेमालोमा मात्र अभियानले सार्थकता पाउन सक्छ । छिमेकी मुलुकहरुसँग सीमा जोडिएका क्षेत्रहरुमा पर्यटकीय गन्तव्य महिचान गरी पर्यटक आकर्षण गर्ने अभियानको थालनी हुन सक्छ । भ्रमण वर्षलाई मात्र आधार बनाएर होइन कि समग्र मुलुकको पर्यटकीय गन्तव्यहरुलाई विश्वबजारमा चिनाउने अभियानका साथ अघि बढ्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्