सरकारले सोधेन भन्दैमा असहयोग गर्दैनौं



नेपाल सरकारले सन् २०२० लाई पर्यटकीय वर्ष घोषणा गरेको छ। सरकारले घोषणा गरेको पर्यटकीय वर्षलाई सफल बनाउन तराई–मधेसमा पनि विभिन्न व्यावसायिक संगठन सक्रिय छन्। वीरगन्जसहित प्रदेश नम्बर २ मा भने भिजिट मधेस अभियान पनि सञ्चालन गरिएको छ। पर्सासहित प्रदेश–२ कै पर्यटन प्रवद्र्धनका लागि भन्दै हालै होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्सा गठन गरिएको छ। सो संघको प्रथम जिल्ला अधिवेशन हालै सम्पन्न भएको छ। संघले गर्ने गतिविधि र पर्यटन प्रवद्र्धनमा पुर्याउने भूमिकाका विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका पर्सा संवाददाता कृष्णउदास खनालले होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तसँग कुराकानी गर्नुभएको छ। 
हरि पन्त
अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज, पर्सा
हरिजी, होटल तथा पर्यटन व्यवसाय यहाँले पर्साका स्थापना गर्नुभएको छ, यसको मूल उद्देश्य के हो ?

नेपाल पर्यटन प्रवद्र्धनका हिसावले निकै महत्वपूर्ण देश हो। नेपालमा धेरै पर्यटकीय स्थलहरू छन्, जसको प्रचार हुन नसकेकै कारण पर्यटक भित्याउन सकिएको छैन। पर्यटकीयस्थल र पर्यटन व्यवसायी आफैंमा सरोकार राख्ने कुरा हो।
सरकारले सन् २०२० लाई लक्षित गरेर पर्यटन वर्ष घोषणा गरेको छ र मधेसमा पनि भिजिट मधेस घोषणा भएको छ। सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सहज बानाउन र होटल र पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि हामीले गत असोज महिनामा यो संगठन स्थापना गरेका हौं।
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ, यहाँहरूको संगठनले यो अभियानलाई सार्थक बनाउन कत्तिको भूमिका निर्र्वह गर्ला ?
हुनत सरकारले सन् २०२० लाई पर्यटन वर्ष हचुवाको भरमा घोषणा गरेको जस्तो हामीलाई लाग्छ। पर्यटन वर्ष घोषणा गर्दा सबै व्यवसायीसँग सरकारले सल्लाह र समन्वय गर्नुपर्दथ्यो, त्यस्तो देखिएको छैन, तैपनि सरकारले घोषणा गरेको यो अभियान हामीले राष्ट्रिय अभियानकै रूपमा बुझेका छौं र यो हो पनि।
सरकारले हामीसँग सल्लाह गरेर मात्रै घोषणा गरेको भए अझै प्रभावकारी बनाउन सकिन्थ्यो भन्ने लाग्छ। तैपनि सरकारले यो अभियान घोषणा गरेका कारण सरकारसँग होस्टेमा हैंसे गरेर अभियानमा साथ दिनु हाम्रो दायित्व हुनेछ, हामी यो अभियानलाई सफल बनाउन आफ्नो ठाउँबाट जुटिरेहका छौं र सघाउँछौं पनि।
तराई–मधेसमा पछिल्ला दिनमा पर्टटक घटेको भन्ने देखिन्छ, पर्यटकको संख्या बढाउन तपाईंहरूले के गर्ने योजना बनाउँदै हुनुहुन्छ ?
महत्वपूर्ण विषय उठाउनुभयो, हो कुनै बेला तराई–मधेसमा बाहिरी व्यक्ति आउँदा डराउनुपर्ने अवस्था थियो। खास गरी युरोपेली देशका र नेपालभित्रकै केही स्थानका नागरिक आउन डराउने गर्दथे। सशस्त्र समूहको नाउँमा भएका गतिविधिहरूले केही समस्या पक्कै थियो तर अहिले यस्तो अवस्था छैन।
कुनै राजनीतिक उद्देश्यका लागि आन्दोलन भए पनि अहिले त्यो आन्दोलनको असर वीरगन्जमा छैन। हालै वीरगन्ज महानगरपालिकाले समेत पर्यटन वर्ष सन् २०२० लाई भव्यरूपमा मनाउने निर्णय गरिसकेका कारण अब पर्यटक यस क्षेत्रमा आउने सम्भावना बढेको छ र अहिले पनि हजारौं संख्यामा भारतीय पर्यटक त यस क्षेत्रमा आइनैरहेका छन्।
पर्यटकहरूको संख्या बढाउनका लागि हामीले वीरगन्ज महानगरपालिका, वीरगन्ज उद्योग वाणिज्य संघलगायतका सबै निकायसँग मिलेर अभियान सञ्चालन गर्ने तयारी गरिरहका छौं जसले पक्कै पनि यस क्षेत्रमा आन्तरिक र बाहिरी पर्यटकहरू भित्याउन सहज हुनेछ।
वीरगन्जसहित मध्यतराईका जिल्लामा पर्यटकका लागि आर्कषक गर्न सक्ने खालमा होटल छैनन् भनिन्छ नि, यो सत्य हो र ?
होइन, पर्यटन प्रवद्र्धनका लागि हामीसँग प्रशस्त मात्रामा होटल छन्। वीरगन्जमा चारतारेदेखि लिएर सामान्य खालका होटल सञ्चालनमा छन्। जुन प्रकारका पर्यटक वीरगन्ज आए पनि व्यवस्थापन गर्न सक्ने क्षमता हामीसँग छ।
त्यसो भए यस क्षेत्रमा होटेलको अवस्था कस्तो छ त ?
कुनै बेला वीरगन्जका होटल शून्य प्रायः देखिन्थे। होटल सञ्चालकहरू पलायन हुनुपर्ने अवस्थासमेत सिर्जना हुने होकि भन्ने पनि थियो। बेला–बेलामा हुने बन्द, हड्ताल जस्ता गतिविधिले पक्कै होटल व्यवसायलाई असर गरेको छ।
अहिले त वीरगन्जमा यस्तो अवस्था छैन। अहिले राम्रोसँग एउटा लयमा यहाँका होटल सञ्चालनमा छन् तर होटल क्षेत्रलाई असर गर्ने खालका राजनीतिक गतिविधि नभए पक्कै यहँँका होटल व्यवसाय फस्टाउने पनि छन्।
सरकारले होटल व्यवसायीको समस्या समाधानका लागि के गरिदिँदा उचित होला जस्तो लाग्छ ?
हामी सरकारले होटल क्षेत्रमा देखिएको समस्या समाधान गरोस् भन्ने पक्षमा छौं। मूलतः होटल व्यवसाय सञ्चालनका लागि कहिलेकाहीं समस्या हामीले झेल्नुपर्दछ। होटल व्यवसाय क्षेत्रमा अनावश्यक कर पनि बढाएको छ जस्तो लाग्छ।
केही व्यवसायीले सुरक्षाको सवालमा बेला–बेलामा चुनौती झेल्न परेको हुन्छ। यस्ता विषयमा सरकारले ध्यान देओस् भन्ने हाम्रो चाहना हो। राज्यका तर्फबाट ठूलो समस्याबाट हामीले झेल्न परेको छैन तैपनि झिनामसिना समस्यामा पनि सरकारले ध्यान दिए राम्रो हुन्थ्यो।
तपाईंको संस्थाको नाममा अगाडिको ‘होटल’ शब्द हटाउँदा पर्यटन व्यवसायी भन्ने पनि बुझिन्छ, यो क्षेत्रमा कति पर्यटक भित्याउने योजना छ त तपाईंहरूको ?
सरकारले राष्ट्रियस्तरमा २० लाख पर्यटन भित्याउने लक्ष्य लिएको कुरा हामीले सञ्चारमाध्याममा नै पढेका हौं।
हामी होटल सञ्चालन गर्ने व्यवसायी भएकाले होटल व्यवसायी भन्ने शब्द यसै पनि आयो र यस क्षेत्रमा जहिले पनि पर्यटन प्रवद्र्धन गर्ने यो संगठनको उद्देश्य भएकाले हामीले होटलको साथमा पर्यटन पनि जोडका हौं। पर्यटन वर्षभन्दा अरू समयमा पनि हामी यस क्षेत्रमा पर्यटन भित्याउन लागि नै पर्ने छौं।
अहिले घर–घरमा नै सरकार छ, तपाईंहरूले शान्ति सुरक्षामा कत्तिको सुधार भएको पाउनुभएको छ ?
हिजोको तुलनामा अहिले वीरगन्ज क्षेत्रको शान्ति सुरक्षामा सुधार आएको छ, हामी अहिले ढुक्क छौं
वीरगन्ज मधेस आन्दोलनले थलिएको क्षेत्र, कस्तो छ अहिले यहाँका होटल व्यवसायको अवस्था ?
वास्तवमा सबैलाई थाहा छ, मधेस आन्दोलनको केन्द्रविन्दु भनेको वीरगन्ज नै थियो। र, त्यत्ति बेला सबैभन्दा बढी मारमा होटल व्यवसाय नै थिए। पटक–पटकको बन्द र हड्तालले हामी ज्यादै मारमा परेका थियौं। बजार पूरै ठप्प थियो।
यातयातका साधन नै सञ्चालनमा नआएपछि पर्यटक आउने सम्भावना नै भएन। त्यस्तो अवस्थामा व्यवसाय सञ्चालन गर्नुभनेको फलामको चिउरा खाए जस्तो भएको थियो। हिजो जे–जस्तो समस्या हामीले झेले पनि अब झेल्न नपरोस् भन्ने चाहना सबै व्यवसायीमा छ। अहिले त मैले माथि नै भनिहालें यहाँका होटल व्यवसायको अवस्था राम्रो छ यस्तो अवस्था सधंै रहोस् भन्ने हो।

प्रतिक्रिया दिनुहोस्