धूलो–धूवाँरहित राजधानीको मजा

काभ्रे उपत्यकाको वैकल्पिक पर्यटकीय क्षेत्र



 

मोतीराम तिमल्सिना/ काभ्रे

काठमाडौं उपत्यकाभन्दा बाहिर तर ५० किलोमिटरको यात्रा तय गरेपछि पुगिने स्थान, काभ्रे जिल्लाको धार्मिक, प्राकृतिक र जनजीवन सबैका लागि लोकप्रिय छ। उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

सन्दर्भ उदाहरणबाटै शुरू गरौं। राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी हरेक वर्ष विजयादशमीको अवसर पारी पाँचखाल नगरपालिकाको साठ्ठीघर भगवतीमा रहेको पलाञ्चोक भगवती मन्दिरको दर्शनका लागि आउनुहुन्छ। उहाँ राष्ट्रपति हुनुअघि समेत पलाञ्चोक भगवतीको नियमित दर्शन गर्नुहुन्थ्यो। राष्ट्रप्रमुख भएका बखतसमेत उहाँले त्यसलाई निरन्तरता दिनुभयो।

सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पनि उक्त मन्दिरमा नियमित दर्शनका लागि आउनुहुन्थ्यो। तत्कालीन राजपरिवारका सदस्यहरू, सरकारका उच्चपदस्थ व्यक्ति अधिकांशले पलाञ्चोक भगवतीको दर्शनलाई निरन्तरा दिनुभएको देखिन्छ। अरनिको राजमार्ग हुँदै उक्त स्थानमा निजी तथा भाडाका सवारीसाधनबाट पलाञ्चोक पुग्न सकिन्छ।

जिल्लाकै अर्काे महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थान नमोबुद्ध नगरपालिकाको नमोबुद्ध हो। नमोबुद्धकै नामबाट नगरपालिका कायम गरिएको छ। बौद्ध धर्मावलम्बी मात्रै नभई आकर्षक र पर्यटकीय क्षेत्र नमोबुद्धमा हरेक दिन दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। वनभोजका लागि पनि उक्त स्थान चर्चित रहँदै आएको छ। बीपी राजमार्ग हुँदै उक्त स्थानमा जिजी तथा भाडाका सवारीसाधनबाट पुग्न सकिन्छ।

जिल्लाकै अग्लो समुन्द्री सतहबाट ३ हजार १८ मिटर उचाइमा रहेको बेथान्चोक नारायणस्थान आन्तरिक र बाह्य पर्यटकका लागि मनमोहक छ। नेपालका दर्जनौं जिल्लाका साथै मनोरम दृश्यहरूको अवलोकन गर्न सकिने बेथान्चोक नारायणस्थानकै नामले गाउँपालिकाको नामकरण गरिएको छ।

हिमाल, पहाड र तराईका जिल्लाहरूका साथै प्राकृतिक छटा दृश्यावलोकनका लागि महत्वपूर्ण नारायणस्थानसम्म जान सहज छ। बनेपा–पनौती–ढुंखर्क बस सेवाबाट तथा जिजी सवारीसाधनबाट उक्त स्थानमा सहजै पुग्न सकिन्छ।

होमस्टे तथा केही निजी क्षेत्रका होटेलहरूमा बसेर सूर्योदयकोे अवलोकन गर्न पर्यटक आउने गर्दछन्। धुलिखेल र नगरकोटबाट हिमालका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ। धुलिखेलमा रहेका व्यवस्थित डिलक्ससहितका होटलहरूको सेवाबाट समेत पर्यटक काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा जान लोभिने गरेका छन्।

पुराना क्षेत्रहरू दाप्चा, तेमाल, धुलिखेल, बनेपाको चण्डेश्वरीलगायतका क्षेत्रमा पनि पर्यटकले अवलोकन गर्न सक्नेछन्। साना–ठूला गरी १ सय ३० वटा होटेल यहाँ स्थापित छन्। साथै, पर्यटकका लागि ग्रामीण भेगमा पर्याप्त मात्रामा सुविधासहितका होमस्टे पनि सञ्चालनमा छन्।

पर्यटन वर्षको तयारी

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरी भव्य प्रचार–प्रसारसहितको तयारी शुरू गरेको छ। तीन तहका सरकारले आफ्नो हैसियतले पर्यटन वर्षको तयारी गरेका छन्। जिल्लाको हकमा पनि समिति गठन भई प्रचार–प्रसार शुरू भएको छ। तर पनि उल्लेख्य मात्रामा जति पर्यटन वर्षको तयारी हुनुपर्ने हो हुन सकेको छैन।

जिल्लास्तरीय समिति गठनबाहेक अरू कार्य नहुँदा पर्यटन व्यवसायी, होटल व्यवसायी तथा पर्यटनसँग सरोकार राख्नेहरू खुसी हुन सकेका छैनन्।
भ्रमण वर्ष–२०२० मनाउन जिल्लास्तरीय समिति गठन भएको छ। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा जिल्लामा रहेका विभिन्न संघ–संस्थाको प्रतिनिधित्व रहने गरी १ सय ५१ सदस्यीय समिति गठन गरेको छ।

समितिमा समन्वय समितिका उपप्रमुख, स्थानीय सरकारका प्रमुख, उपप्रमसुख, प्रजिअ, राजनीतिक दलका प्रमुखहरू, कार्यालय प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयका प्रशासकीय प्रमुख, पत्रकार महासंघ, जिल्लास्थित होमस्टेका अध्यक्षहरू, काभ्रे उद्योग वाणिज्य संघ, धुलिखेल उद्योग वाणिज्य संघ, नगरकोट नाल्दुम पर्यटन समिति, जिल्लास्थित साइक्लिङ्ग संघ, गैसस, काभ्रे चेम्बर, धुलिखेल चेम्बर, सामुदायिक वन उपभोक्ता महासंघलगायतका संघ–संस्था सदस्य रहेका छन्। समितिको सदस्य–सचिवमा जिल्ला समन्वय अधिकारी रहेका छन्।

पुरानो योजना अलपत्र

तत्कालीन जिल्ला विकास समिति काभ्रेले जिल्लालाई पर्यटकीय हिसाबले अघि बढाउने उद्देश्यले तारा गाउँ विकास समितिको सहयोगमा पाँचवर्षे पर्यटन गुरुयोजना तयार गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेको थियो। राजनीतिक संक्रमण र स्थानीय निकायमा जनप्रतिनिधि नहुनु, स्थायी सरकार नहुनु जस्ता विविध कारण तयार भएको गुरुयोजना व्यवहारतः प्रयोगमा ल्याउन सकिएको थिएन।

जिल्लाको प्राकृतिक सम्पदा तथा जैविक विविधताका विषय समेटेर गुरुयोजना तयार पारिएको छ। गुरुयोजनामा जिल्लामा अवस्थित धार्मिक तथा पुरातात्विक वस्तु, धार्मिक तथा सांस्कृतिक, सामाजिक, आर्थिक सम्भाव्यता, प्राकृतिक स्रोतको सम्भाव्यतामा केन्द्रित रहेर लोभ्याउने खालका मनमोहक हिमाल र पहाडका दृश्यको विविधतालाई समेटिएको छ।

गुरुयोजनामा ऐतिहासिक तथा पुरातात्विक सम्भावना भएको धुलिखेलमा स्तरअनुसारका ५० भन्दा धेरै होटल तथा लज, १ लाखभन्दा धेरै पर्यटक लोभ्याउने आर्कषक पर्यटकीय गन्तव्य, फराकिलो हिमाली दृश्य देखिने क्षेत्र, देवीस्थानको भ्यु टावर, सुन्दर बुद्ध स्तुप र शान्ति वन, हरियाली देवीस्थान जंगल र
जीवजन्तु, आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रशिद्ध ठाउँ, १० देखि १८औं शताब्दीमा निर्माण भएका मन्दिर, शिलालेख, ताम्रपत्र तथा विश्वसम्पदा सूचीका लागि प्रस्तावित क्षेत्र पनौती रहेको उल्लेख गरेको छ।

त्यस्तै नेमुनि ऋषि दुम्जामा बसोबासस्थल भएको, गोर्खाली सेनाका बहादुर योद्धा भएको जिल्ला, २२ से र २४ से राज्य हुँदाका बखतका स–साना राज्यहरू, प्रशिद्ध शिल्पकार अरनिकोको जन्मस्थान भएको ठाउँ बनेपा, लायकु दरवार बनेपा र पनौती, विभिन्न ऐतिहासिक किल्लाहरू, हिन्दु र बुद्धिस्ट दुवै धर्मावलम्बीका असंख्य मन्दिर तथा गुम्बा जस्तै पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, नासिकास्थान आशापुरेश्वर रहेको उल्लेख गरेको छ।

गुरुयोजनामा चाइनाको स्वशासित क्षेत्र तिब्बत जाने रुट, ऐतिहासिक जिल्ला जहाँ प्राचीनकालदेखि सेनाका लागि हातहतियार व्यवस्थापन गर्ने रणनीतिक बिन्दु दाप्चा, तिमाल, धुलिखेल, अंशुवर्माले महासामन्त भई राज्य सञ्चालन गरेको क्षेत्र (जुन कुरा खोपासीमा रहेको शिलालेखले प्रमाणित गर्दछ), लिच्छवी, किराँत, मल्लहरूले शासन गरेको स्थान बनेपा, मण्डन, परम्परागत हतियार बन्चरो, कोदालोसहित विभिन्न राजाले राज्य गरेको क्षेत्रलाई प्रचार गर्न सके काभ्रे झनै प्रख्यात र ऐतिहासिक जिल्ला बन्ने गुरुयोजनामा उल्लेख गरिएको छ।

गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि काभ्रेमा धेरै सम्भावना भएको निष्कर्ष निकालेको छ। प्राचीन राजा भुक्तमानको तपस्यास्थल, गौतम ऋषिकी श्रीमतीसँग अनैतिक शारीरिक सम्बन्ध कायम गरेपश्चात् शरीरभरि योनी फैलिएको हुँदा सो हटाउन प्राचीन राजा भुक्तमानले तपस्या गरेको क्षेत्र, ६ वटा ज्योतिर्लिङ्ग भएको स्थान, साँगा, चण्डेश्वरी, नाला, पलाञ्चोक भगवती, गौखुरेश्वर महादेव, धुलिखेल शान्ति वन, कालिका मन्दिर धुलिखेल, बेथानचोक नारायणस्थान, अमर निवास भकुन्डेबेंसी, कालिका मन्दिर कानपुर, महांकाल कामीडाँडा, इन्देश्वर, द्रौपादेवी खोपासी, शारदेवी पनौती, धनेश्वर पनौती, कैलेश्वर गोसाइँथान, मच्छिन्द्रनाथ, गोरखनाथ, कालिञ्चोक, लड्केश्वर, ७ सय वर्षअघिको गौतमको बुद्ध मन्दिर जस्ता धार्मिक क्षेत्रले काभ्रेलाई झनै पर्यटनको सम्भावना भएको जिल्लाका रूपमा विकास गर्न सकिने बताएको छ।

जिल्लाको ढुंर्खक गाविसमा रहेको नारायणस्थान मन्दिर (९८९९ फिट अग्लो, काभ्रे जिल्लाको सबैभन्दा उचाइको स्थान), नमोबुद्ध, पलाञ्चोक जस्ता क्षेत्र, विभिन्न जातजातिको बसोबासस्थल र १२ वर्षे मकर मेलाले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक गन्तव्यस्थल बनाउन सकिने निष्कर्ष छ। पर्यटनको क्षेत्रमा विकास भएलगत्तै सामाजिक आर्थिक सम्भावना बढाउने निष्कर्ष निकालिएको छ।

ढुंखर्क, कुशादेवी, रयाले, नाला, मण्डनलगायत अन्य क्षेत्रमा हुने पशुपालन तथा दूध उत्पादनमा दोस्रो ठूलो जिल्लाका रूपमा परिचित काभ्रेमा नेपालको उच्च गुणस्तरको धान उत्पादन हुने गरेको छ। विशेष गरी पनौती, खोपासी, कुन्ताबेंसी, टौखाल, मल्पी, शंखु, बल्थली, बतासे, पाँचखाल र अन्य समथर क्षेत्रलगायत इन्द्रावती खोला परिसरमा धानको राम्रो उत्पादन हुँदै आएको छ।

उच्च गुणस्तरको आलु उत्पादन (पनौती, कुन्ताबेंसी, शंखु, पाँचखाल बल्थली), गुणस्तरीय हरियो तरकारी उत्पादन (पाँचखाल, ढुंर्खक, कुशादेवी र रयाले), फलफूल उत्पादन (सल्ले, भुम्लुटार, पाँचखाल) गुणस्तरीय सुन्तला उत्पादन (पनौती, कुशादेवी, नाला, पलाञ्चोक, देउपुर, शंखु, खोपासी, सुन्थान, सल्मिटार र मकैटार), आँप, केरा कटहर, लिची अम्बा उत्पादन (पाँचखाल), उच्चस्तरीय खुवा उत्पादन (ढुंखर्क) रहेका छन्। गुरुयोजनामा यो क्षेत्रमा थप सहयोग गर्न सकेको खण्डमा आर्थिकरूपमा अझै विकास हुने अपेक्षा गरिएको छ।

प्राकृतिक स्रोत सम्भावनका क्षेत्रमा गुरुयोजनाले काभ्रेलाई अघि बढाउने योजना बनाएको छ। विभिन्न किसिमका हावापानी तथा जैविक विविधता र मिश्रित जंगलहरू (पनौती, नागीडाँडा, चण्डेश्वरी, देवीस्थानवन, ढुंर्खक, चौवास, कुशादेवी), समथर सतह, पाटा र चट्टानीय क्षेत्रहरू (ढुंर्खक जंगल, महाभारत श्रीङ्खला), प्रशिद्ध नदीहरू (इन्द्रावती, भोटेकोशी, सुनकोशी, रोशीखोला), विभिन्न किसिमका पर्यटकीय पहाडी गन्तव्यस्थलको पहिचान गरिएको छ।

पूर्वाधार उपलब्धता, सम्भावनामा राजधानीसंँगको निकट जिल्ला काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल साथसाथै काठमाडांै, भक्तपुर, ललितपुर छुने मोटरबाटो, बीपी र अरनिको लोकमार्ग पार गर्ने, गाउँ तथा शहरी दुवै क्षेत्रमा शुद्ध पिउने पानीको उपलब्धता, सिँचाइको सुविधा, जलविद्युत् परियोजना, वैकल्पिक ऊर्जाको व्यवस्था, सञ्चार टावर, पर्यटकस्तरीय होटलहरू जिल्लाका विभिन्न स्थानमा रहेकाले पनि थप टेवा पुग्ने सम्भावना रहेको छ।

(नगरकोट, धुलिखेल, बल्थली, बनेपा, पनौती, पलाञ्चोक भगवतीमा होटल र खावा, फूलबारी र बल्थलीमा रिसोर्टहरू रहेका छन्। जिल्लाका शहरी क्षेत्र पनौती, बनेपा, साँगा, धुलिखेल, दोलालघाट, सिपाघाट, मेलम्चीमा विभिन्न किसिमका साना होटल, लज तथा रेस्टुरेन्ट रहेका छन् भने धुलिखेल, पनौती, पस्थली, पातलेखेत, बल्थलीमा होमस्टे कार्यक्रम सञ्चालन भइरहेको छ। पर्यटकलाई आर्कषण गर्न गुरुयोजनामा साहसिक यात्रा तथा टे«किङ रुटहरूको पहिचान गरिएको छ।

ढुंर्खक नारायणस्थान, तिमाल पोखरीनाराणस्थान, कामीडाँडा, टन्चोक, चौवास, पलाञ्चोकका विभिन्न स्थानमा उक्त कार्यक्रम सञ्चालन गर्न सकिनेछ।
जिल्लाकै नगरकोट, पनौती, धुलिखेल र बनेपामा संग्रहालय खोल्न सकिने सम्भावना रहेको छ।

जिल्लालाई अझै सडक सुविधाबाट फराकिलो बनाउन धुलिखेल–नमोबुद्ध–दाप्चा–पनौती, धुलिखेल–काशीभञ्ज्याङ्ग–नगरकोट, पनौती–कामिडाँडा, दोलालघाट–चौवास, पनौती–ढुंर्खक, पनौती–आचार्यगाउँलगायतका स्थानमा सडक विस्तार कार्यक्रम शुरू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

गुरुयोजनामा जिल्लाका धुलिखेल, बनेपा, पनौती, साँगा, नगरकोट, नमोबुद्ध, दोलालघाट, चौबास, पलाञ्चोक भगवती मन्दिर, तिमाल, भकुन्डेबेंसी, बल्थली, च्यासिङ्गखर्क, च्याम्ब्राङ्गबेंसी, ढुंर्खक, कुशादेवी, रयालेलगायतका क्षेत्रलाई पर्यटनका लागि प्रमुख सम्भाव्यता भएको क्षेत्र किटान गरिएको छ।

सुप्रसिद्ध कलाकार अरनिकोको जन्मस्थान बनेपा हो। उनी बसाइँसराइपश्चात् पनि चीनमा प्रसिद्ध शिल्पकारका रूपमा प्रशिद्ध थिए। खोपासीमा रहेको नेपालकै एकमात्र द्रौपादेवीको मूर्ति, नरसिंहमाथ खोपासी, विभिन्न किसिमका लोपोन्मुख जाति तथा अन्य सम्प्रदाय (दनुवार, पहरी, जलु, मगर, गुरुङ, राई, तामाङ, नेवार, क्षेत्री, ब्राह्मण), ऐतिहासिक नमोबुद्ध क्षेत्रलाई गुरुयोजनामा समेटिएको छ।

काभ्रे जिल्लाको समग्र विकासका लागि तयार गरिएको पर्यटन गुरुयोजना कार्यान्वयन भएमा आर्थिक तथा सामाजिक क्षेत्रमा विशेष प्रभाव पार्न सक्ने पर्यटन क्षेत्रका व्यक्तिहरू बताउँछन्। जिल्लाका प्रमुख पर्यटकीयस्थलहरूमा बाह्य तथा आन्तरिक पर्यटनका लागि सुविधासम्पन्न होटेल, लज तथा रिर्साेटका साथै होमस्टेहरू सञ्चालनमा छन्।

होटल – १३०, डिलक्स होटल -२२ ,पर्यटकीय मापदण्डका होटल-४०,इकोनोमी होटल-८०,होमस्टे-१३०,भ्युटावर-४,ट्रेकिङ रुटहरू-१७,र्याफ्टिङ रुट -१

जिल्लाका प्रमुख पदमार्ग

धुलिखेल–गोसाइँस्थान

धुलिखेल देवीस्थान

साँगा–वासुकी वन

चिसापानी–नगरकोट–धुलिखेल

धुलिखेल–नमोबुद्ध–बल्थली

धुलिखेल–पाँचखाल–पलाञ्चोक

कामीडाँडा–ताल्ढुंगा

मंगलटार–भीमखोरी–घ्याङडाँडा–तारा खस्यौली लेक–फूलचोकी

कुशादेवी–कालेश्वर– फूलचोकी– बेथान्चोक नारायणस्थान

दोलालघाट–दुम्जा

दोभानटार–कात्तिकेदेउराली–पोखरीचौरी–सैलुङ

नगरकोट–हेलम्बु

नगरकोट–बनेपा–

धुलिखेल–नमोबुद्ध

पनौती–कुशादेवी–रयाले–फूलचौकी

सुनकोशीमा र्याफटिङ

भीमखोरी–ढुंखर्क

प्रतिक्रिया दिनुहोस्