पर्वतारोहण बिस्तारै जानुस्, पुग्नुहुन्छ, हतार गरे भन्न सकिन्न !



डा. निमा नामग्याल शेर्पा, पर्वतारोही संघका पूर्वकार्यसमिति सदस्य तथा नेपाल चिकित्सक संघका सदस्य पनि हुनुहुन्छ। उहाँले हाइअल्टिच्युट मेडिसिनका विषयमा एमडी गर्नुभएको छ। तर उहाँको ठमेलमा रहेको आउटडोर सेन्टर अफिसमा पुग्दा भित्ताभरि क्लाइम्बिङ, टे«किङका लागि शिक्षा दिने सामग्रीहरूले सजाइएको छ। भित्र प्रवेश गरेपछि ठूलो हल दायाँ–बायाँ भित्ताहरू विभिन्न हिमाल र पर्वतारोहीले लिने तालिमका सामग्री, साइड फुड क्याफे भित्र डा. शेर्पाको अफिसको भित्ताभरि उहाँले प्राप्त गरेको प्रमाणपत्रले सजिएको पाइन्छ। मेडिकल डाक्टर भएर पनि उहाँले साधारण बिरामीलाई नभई हिमाल चढ्दा पर्ने विशेष बिरामीलाई हेर्ने र हिमाल तथा उच्च हिमश्रृंखला चढ्दा के–कस्ता सुरक्षा अपनाउनुपर्छ, कस्ता खानेकुरा उपयुक्त हुन्छ, दिनमा कति उच्चाइसम्म मात्र चढ्न मिल्छ आदि विषयमा तालिम नै दिने उद्देश्यले चार स्थानमा अफिस खोल्नुभएको रहेछ। यतिमात्र नभई टे«किङ गाइडको भूमिका के–कस्तो हुन्छ ? टे«किङ गाइड कति प्रकारका हुनुपर्छ भन्ने विषयमा निकै गहिराइमा अध्ययन गरी नेपाल सरकारका पर्यटन मन्त्रालयका सचिवदेखि मन्त्रीलाई समेत सुझाव दिइसक्नुभएको छ।
तर उहाँको सुझावलाई मन्त्रालयले कार्यान्वयन नगरेकै कारण हिमाल चढ्ने पर्यटकमा सुरक्षाको प्रत्याभूति गराउन सकेको अवस्था छैन। नेपालमा मेडिकल डाक्टर नै पर्वतारोही व्यवसायी बनेको सम्भवतः उहाँ नै पहिलो व्यक्ति हुनुपर्छ। यतिबेला सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ तर पर्यटन क्षेत्रमा नै अध्ययन गरेका, व्यवसाय गरेका र अनुभवले खारिएका व्यवसायीसँग सरकारले कुनै चासो नै दिएको छैन। नेपालमा आउने बाह्य पर्यटकको मूल उद्देश्य भनेकै उच्च हिमाल, पहाड, तराईको भ्रमण गर्ने र भरपुर आनन्द लिएर सकुशल सुरक्षित तरिकाले आफ्नो देश फर्कने हुन्छ। यस विषयमा सरकारले अहिलेसम्म ध्यान नै नदिएको व्यवसायी डा. शेर्पाले नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनासँग गरेको कुराकानीको सारसंक्षेप :

यहाँको विज्ञताबारे तपाईंकै शब्दमा सुनौं न ?

पहिला पेसाले डाक्टर थिएँ, पछि मैले हाई अल्चिच्युट मेडिसिनमा स्पेसलाइज्ड गरें। माउन्टेन एमरजेन्सी मेडिसिन, इमरजेन्सी रेस्क्यु, आउटडोर इजुकेसनका साथै आफू पनि हिमाल चढ्नेजस्ता कार्य गरे।

पछिल्लो समय पूरै टुरिजम बिजनेसमा नै लागेको छु। आउटडोर एड्भान्टेज सेन्टर खोलेको दुई वर्ष भयो। मैले यो सेन्टरबाट पर्यटनका लागि आवश्यक शिक्षा दिन्छु। पहिला म हस्पिटलमा काम गर्थें।

कुन हस्पिटलमा काम गर्नुहुन्थ्यो ?

मेडिकेयर अस्पतालमा काम गर्थें। कामकै सिलसिलामा हिमालतिर जान थालें। त्यहाँ पुग्दा धेरै खालका समस्याहरू देखें। धेरै दुर्घटना परेको देखें। ट्रेकिङ गाइडको प्रोफेसनल क्षमतामा समस्या देखें। ज्ञान र सीपका आधारमा काम गर्नुपर्छ।

तर उनीहरू बलिया छन्, हिमाल चढ्न सक्छन् तर हिमालमा एउटा गाइड बलियो मात्र भएर हुन्न। विभिन्न खाले कमी कमजोरी जस्तै नेतृत्वको, सूचना आदान–प्रदान, भाषा, मेडिकल क्षमताका कुराहरू देखेपछि मैले हिमालयन मेक्स भन्ने कम्पनी खोलें।

यसबाट हामीले प्राथमिक उपचार र सुरक्षासम्बन्धी काम गर्छाैं। त्यसैगरी आउटडोर सेन्टर खोलेर अहिले यो व्यवसाय गर्नेका लागि खाँचो खड्किएको सेन्टरको पूर्ति गर्ने काम गरेको छु। यसअघि कतै भेटघाट गर्ने सेन्टर नै थिएन।

यो सेन्टरको मूल उद्देश्य सूचना दिने, छलफलका लागि स्थान र हिमाल तथा ट्रेकिङ गर्नेका साथै सबै गाइड (एड्भान्टर फिलडका मान्छे)लाई समेत तालिम दिने नै हो। यो सेन्टर सबैका लागि आफ्नै घर बनाउने उद्देश्यले खोलेको हो।

पर्वतारोही हिमाल चढ्दा हुने प्रमुख समस्या के के हुन् र कसरी ध्यान दिने ?

नेपाल भ्रमणका लागि आउने अधिकांश मान्छे हिमाल हेर्न र हिमाल चढ्न आउने हो। हिमाल हाई अल्टिच्युट एरियामा पर्छ। तराई जाने, भ्रमण गर्ने, साइड सिन गर्ने, चितवन, लुम्बिनी, पोखरा जानेहरूलाई खासै समस्या हुँदैन। धेरैजसो विदेशी नेपाल आउने पदयात्री हुन्छन्।

पदयात्रा पहाड र हिमालमा गर्ने हो। हाई अल्टिच्युटको जोखिम पनि यिनै क्षेत्रमा छ। त्यसको लागि हामी सबै ट्रेकिङ अप्रेटरले कम्पनीको स्ट्यान्डर बनाएका हुन्छौं। म पनि ट्रेकिङ अप्रेटर हो, कम्पनीले आफ्नै स्ट्यान्डर बनाएको हुन्छ। त्यसमा विभिन्न मापदण्ड हुन्छन् तर सबै कम्पनीको एउटै त हुँदैन।

कसैको दुई–चार पैसा कमाऊँ भन्ने उद्देश्य राखेर पर्यटक पठाउने पनि टन्नै छन्। कतिले उनीहरूसँग शुल्क लिएपछि सुरक्षाको पनि ग्यारेन्टी गरेर सकुशल फर्काउनुपर्छ भन्ने पनि छन्। सरकारको तर्फबाट के–कस्तो कार्यक्रम छन् भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन। सरकारले भिजिट नेपाल २०२० घोषणा गर्नु मेरो विचारमा जोक नै हो।

सरकारले घोषणा गरेका विषयमा तपाईं व्यवसायी भएर किन त्यसो भनिरहनुभएको छ ?

पूर्वतयारी केही पनि छैन, त्यतिकै मान्छे ल्याउँछु भनेर कहाँ राख्ने ? एयरपोर्टको हालत हेर्नुस्, अस्ति मात्र म चाइनाबाट फर्किएको हो। चाइना मेरो मुख्य बिजनेस मार्केट हो। म महिनामा एकपटक गइरहेको हुन्छु।

एयरपोर्टमा पार्किङ नै नभएर अस्ति पनि म आकासमा दुई घण्टा घुम्दै बसें। मान्छे बल्ल–बल्ल झर्यो, सामान नै आउँदैन। शुरूआतबाटै त्यस्तो समस्या छ। मुख्य केन्द्र रहेको काठमाडौंमा त त्यस्तो छ भने अन्यत्र कस्तो होला ?

पर्यटकका लागि सरकारले के गर्नुपथ्र्यो ?

सरकारले कम्तीमा पनि पर्यटक जाने हरेक ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्नुपथ्र्यो। खुम्बु क्षेत्रबाहेकका अन्य धेरै ठाउँमा स्वास्थ्य केन्द्र नै छैन। खुम्बुमा स्वास्थ्य केन्द्र, अस्पताल पनि छ र दिनमा सर्यौं हेलिकोप्टर आवतजावत हुन्छ। केही समस्या पर्यो भने तुरुन्तै उद्धार गर्न सकिने सम्भावना छ।

नेपालको अरू क्षेत्रमा पनि त्यतिकै पर्यटक जान्छन्, ती क्षेत्रमा यस्तो सुविधा छैन। सरकारले पर्यटन वर्ष घोषणा गरेर मात्र हुँदैन। पर्यटकलाई नेपाल भ्रमणमा जाँदा स्वास्थ्य सुरक्षाको सुनिश्चित हुन्छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ।

यसका लागि सरकारले विभिन्न सेवा सुविधा दिन सक्नुपर्यो नि। त्यतिकै आउँ भन्ने होइन, अहिले नबोलाउँदा पनि आइरहेकै छन् नि ? अर्को वर्ष पर्यटक बढ्छन भन्ने कुनै आधार तय भएको छैन।

सरकारको तर्फबाट पूर्व तयारी भएकै छैन ?

पूर्वतयारी केही भएकै छैन र सन् २०२० मा पर्यटक आउँछन् भन्ने के ग्यारेन्टी छ ? केको लागि आउँने, पर्यटन वर्षका लागि त्यस्तो आकर्षक कुन चीजको सिर्जना भएको छ। त्यो आर्कषण २०२० मा मात्र हो २०२१ मा छैन भन्ने खालको हुनुपर्यो नि ?

म आफै अप्रेटर हो सरकारले यति घोषणा गरेकै भरमा पर्यटक आउँछन् भने म किन महिनै पिच्छे चाइना धाउँथे र ? वार्षिक कति पर्यटक ल्याउने भनेर योजना बनाउने त हामी हो नि। सरकारले त ल्याउँदैन नि।

त्यसैले निजी क्षेत्रको भूमिका जति छ सरकारको छैन। सरकारले त पर्यटन वर्ष घोषणा गर्दै एयर फेयरमा समेत वृद्धि गरेको छ। के दिँदैछ सरकारले पर्यटकलाई सुविधा र नेपाल नै आउँने ?

विशेषगरी हिमाल चढ्ने पर्यटकहरूमा के–के स्वास्थ्य समस्या आउन सक्छन् ?

पहिलो त उचाइमा जाने भएकाले हाई अल्टिच्युट नै पहिलो हो। त्यसको लागि जनचेतनाको अत्यन्तै कमी छ। समय छैन, छोटो समयमा गन्तव्यमा पुगेर फर्कन चाहने धेरै छन्। त्यसरी हतारमा जाँदा स्वास्थ्यको जोखिम धेरै छ।

हाई अल्टिच्युट भनेको बिस्तारै पचाउँदै लैजानुपर्छ, ३ हजार मिटरभन्दा माथि गइसकेपछि आफ्नो शरीरलाई पर्याप्त समय दिएर त्यहाँको हावापानीमा घुलमिल हुन जििदनुपर्छ। समय नदिँदा कोही मान्छेलाई केही हुन्न भने कोहीलाई अत्यन्तै टलता आउनसक्छ। वास्तवमा पर्वतारोहण, विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्नसकिन्न।

पूर्व तयारी गरेर गयो भने हाई अल्टिच्युट नहुँने सम्भावना हुन्छ त ?

हाई अल्टिच्युट भनेको ४ हजार मिटर उचाइमा जाने व्यक्तिलाई केही फरक नै पर्दैन। हामीले गर्ने भनेको शारीरिक तालिम, व्यायाम नै हो। यसले फिटनेस लेभल बढाउने हो। फिट भएर हाई अल्टिच्युट लाग्दैन भन्ने कुनै आधार नै छैन। यी कुरा एक अर्कासँग सम्बन्ध नै छैन।

अहिले बाहिर फिट देखिएको युवाहरूमा समस्या देखापर्छ। किनकि उनीहरू बढी उत्साहित भएर एग्रेसिभ भएर गइरहेका हुन्छन्। दिनमा ५ सय मिटरको मापदण्ड हुन्छ। युवाहरू त्यसको दोब्बर बाटो गइदिन्छन्। पूर्व तयारीका लागि गर्ने भनेको फिजिकल तालिम हो।

अस्वस्थ छ तर पनि माथि जान्छु भन्यो भने रिक्स थपिने भयो। तर पूर्व तयारीका हिसाबले यो गर्दा हाई लाग्दैन भन्न सकिँदैन। हुनैपर्ने भनेको फिटनेस हो। अर्को भनेको पूर्वयोजना र तयारी हुनुपर्छ। जस्तै मौसमका बारेमा जानकारी हुनुपर्छ।

आवश्यकताअनुसारको लत्ताकपडा, खानपानका लागि पूर्वतयारीको आवश्यकता पर्दछ। अर्को भनेको गाईड हो। यसका लागि कस्तो खालको कम्पनी छनोट गर्ने ? कुन कम्पनी छान्ने, आवश्यकता के हो भन्नेबारेमा बुझ्नुपर्छ। नेपालमा केही नभएपनि १ हजारभन्दा बढी ट्रेकिङ कम्पनी छन्।

नेपालको पर्यटन व्यवसाय गुणस्तरीय छैन। उपकरणहरू जसले जहाँ खुल्ला सडकदेखि सानो पसलमा पनि पाइन्छ। त्यसमा गुणस्तरीयता छ–छैन र त्यसको प्रयोगको ज्ञानसमेत नभई खरिद–बिक्री भइरहेको छ।

जसले पर्यटन व्यवसाय नै गरेको सामानको बारेमा ज्ञान दिएर मात्र बिक्री वितरण गर्छ उसकोमा खुल्ला बजारमा भन्दा केही फरक पर्नु स्वाभावि कै हो। वेभसाइट र एउटा ल्याबटपको भरमा सामान बेच्ने र व्यवस्थित गरेर बेच्नेमा मूल्य फरक पर्छ नै।

ठूला व्यवसायीको लगानी सानासँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा नै नभएकाले व्यवसाय नै खत्तम भइसकेको छ। हामीले सबैकुरा समेटेर ट्रेकिङ गाइडसमेतको व्यवस्था गर्नुपर्छ खुल्ला बजारले केही गर्नैपर्दैन त्यसैले सामान खरिदमै आधाको फरक पर्छ। यी विषयमा सरकारले केही पनि गर्दैन।

पर्यटन वर्ष सफल बनाउँदै पर्यटकको स्वास्थ्यका लागि अझैं के के गर्नुपर्ने देख्नुहुन्छ ?

हामीले नेपालमा पहिला शरूमा अप्रेटर कन्ट्रोल गर्नुपर्छ। पर्यटन क्षेत्रमा पनि बैंकको जस्तै क,ख,ग,घ को वर्गीकरण क्षमताका आधारमा गर्नुपर्छ। यसो गर्यो भने कार्यदक्षता र क्षमताका आधारमा काम गर्न सकिन्छ। मुख्यगरी मापदण्ड तोकिएको खण्डमा काम पनि त्यही गुणस्तरको हुन्छ।

वर्गीकरणले व्यवसायीलाई उत्साह थप्नुका साथै कार्यसम्पादनमा सुधार ल्याउनै पर्ने हुन्छ। पर्यटन व्यवसायीले पर्यटक खोजेर ल्याएपछि राज्यले राजस्व असुल्ने मात्र हैन पर्यटन वर्षमा व्यवसायी र सरकारले के के गर्ने र पर्यटकलाई कसरी खुसी तुल्याउने, सेवा, सुविधामा के के दिने भन्नेबारेमा छलफल हुनुपथ्र्यो त्यो नै नभइ सरकारले लहडका भरमा पर्यटन वर्ष भन्दै आएको छ। यो एकदमै बच्चा खेलाइ जस्तो भएको छ।

तपाईं आफै स्वास्थ्यकर्मी व्यवसायी भएकाले पर्यटकको स्वास्थ्यका लागि कुनै प्याकेज तयार गर्नुभएको छ ?

मेरो आफ्नो कम्पनीबाट सञ्चालित गाइडलाई तालिम दिएको छु। अरूले गरेपनि नगरे पनि म आफू त जिम्मेवार हुनुपर्यो नि। यो डिसेम्बरबाट सबै गाइडको लागि थप तालिम दिँदैछु। दक्ष गाइडबाट सेवा दिएर पर्यटकलाई विश्वास दिलाउने प्याकेज अघि सारेको छु।

मेरो कम्पनीमा २५ जना माउन्टेन गाइड छन्। हिमालमा हामीले जहिले पनि स्वास्थ्यसँग सम्बन्धित सामानहरू फस्टेड किट, इमरजेन्सी किटजस्ता स्वास्थ्य सम्बन्धीको विषयमा जंगलका बीचमा मैले गर्नसक्ने काम गाइडले गर्नसक्ने बनाएको छु।

पर्यटकलाई स्वास्थ्य समस्या आएको अवस्थामा राज्यले के गर्छ र राज्यको दायित्व के हो ?

पर्यटकले राज्यलाई शुल्क तिरेर हिमाल चढेका हुन्छन्। तर, पर्यटकलाई समस्या पर्यो भने व्यवसायी नै जिम्मेवार हुनुपर्छ सरकारबाट केही पनि छैन। वास्तवमा गर्नुपर्ने सरकारले हो। नेपालमा अहिलेसम्म सरकारले कुनै पनि उद्धार संयन्त्र बनाएकै छैन।

उद्धार टोली पनि छैन, माथि हिमालमा समस्या पर्दा कन्सल्टटेन्सी अर्थात व्यवसायीको टाउको दुखाइ हो, सरकारको कुनैपनि भूमिका नै छैन। नेपाल सरकारले २०१५ को भूकम्पका समयमा पहिलो पटक नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ, नत्र प्राइभेट क्षेत्रबाट नै गर्नुपरेको छ।

यसको लागि सरकारले के गर्नुपर्ला ?

नेपालको लागि नेपाल सरकारले अर्गनाइज उद्धार टोली बनाउनैपर्छ। त्यो गर्यो भने पर्यटकलाई सुरक्षित महसुस हुन्छ। अमेरिकाको हिमालमा गयो भने पर्यटकले एउटा परमिटको शुल्क तिर्नुपर्छ। अमेरिकाको दिनाली भन्ने हिमालमा मैले १० डलर नेसनल पार्क फि र ३ सय ६५ डलर तिरेर म ढुक्कसँग बसें। त्यहाँ पर्यटकलाई केही पर्यो भने उद्धार टोली हिमालभर छ। नेपालको एभरेस्टको लागि ११ हजार डलर तिरेको छ तर खोइ त उद्धार टोली ?

आपत परेको बेला आफूसँग गएको शेर्पाबाहेक कोही पनि कामै लाग्दैन। त्यो शेर्पा कम्पनीसँग सम्बन्धित हुन्छ। त्यसले गर्दा नेपालमा अर्गनाइज उद्धार टोली अर्थात उद्धार सेल आवश्यक छ। सकेसम्म त समस्या हुनै नदिनु राम्रो तर भइहाल्यो भने के गर्ने त ?

यसका लागि तालिम, शिक्षा, जनचेतना जगाउनु पर्छ। दोस्रो नम्बरमा उद्धार टोली, हेल्प डेस्क हुनुपर्यो। अरू देशमा पनि हिमालैभरि अस्पताल त हुँदैन। तर गाइडको मापदण्डमा मेडिकल तालिम अनिवार्य हुन्छ। नेपालमा त्यस्तो छैन। गाइडको लागि पनि न्यूनतम मापदण्ड केही पनि छैन।

यो काम भनेको नीति निर्माताको हो। पहिलो काम त सरकारले मापदण्ड तय गर्नुपर्यो। ट्रेकिङ गाइड लाइसेन्स लिने मान्छेले पहिलो चरणमा वान लेबल र दोस्रोमा जान तालिम लिएको हुनुपर्ने, विषय स्पष्ट हुनुपर्छ। कुन तहकोले कतिसम्म गाइड गर्न पाउने भन्ने स्पष्ट हुनुपर्ने थियो। आधारभूत तालिम लिएका व्यक्तिले हिमालको टुप्पासम्म लाने गर्छन्।

अन्त्यमा पुनः तपाईंकै व्यक्तिगत कुरा। मेडिकल डाक्टर भएर यतिका अवसर छोडेर पर्वतारोही प्रर्वद्धन पेशातर्फ किन आकर्षित हुनुभयो ?

म पहिला गाउँघरमै नाम्चे बजार भन्दा अलि माथि जन्मेर हुर्केको मान्छे। बाल्यकालदेखि नै टे«किङ गरेको हिमाल चढेको देखिरहेकै काम हो। पहिला डाक्टरपढेपछि गाउँघरमै केही गर्छु भन्ने सोच थियो। पछि बुझ्दा गाउँघरमा त स्वास्थ्य केन्द्र, अस्पताल र डाक्टर पनि छ त्यहाँ त मेरो आवश्यकता नै छैन।

त्योभन्दा माथि कहाँ जाने भनेर सोचे डाइरेक्ट हिमालसँग जोडियो। त्यसपछि आफै पहिला चढ्न थाले। मेरो निर्णयले शुरूका दिनमा घरपरिवार दुःखी पनि बने। डाक्टर पढाएको अन्तमा गएर फेरि त्यहि भारी बोकेर हिमालनै चढ्ने भयो पनि भने। अहिले मेरो कामले परिवारलाई पनि खुसी दिन सकेको छु र पर्यटन प्रवद्धनमा पनि योगदान गरेकै छु।

प्रतिक्रिया दिनुहोस्