मकवानपुरका पर्यटकीय क्षेत्र



रोशन पराजुली

सीमभञ्ज्याङ

(हेटौंडाबाट ५२ किमि उत्तर र काठमाडौंबाट ६१ किमि पश्चिम तथा दक्षिण)महाभारत पर्वत शृंखलाको सम्भवतः दोस्रो उच्च शिखर सीमभञ्ज्याङ मकवानपुर जिल्लाको सर्वोच्च स्थान हो। यहाँ हिउँदमा हिमवर्षाको रमणीय दृश्य छाउँदा हिउँमा खेल्न आउनेको संख्या अत्यधिक रहन्छ।

चैत र वैशाखको उखरमाउलो गर्मीमा पनि यहाँ न्यानो कपडा जरुरी पर्दछ। प्राकृतिक शीतभण्डारका रूपमा यस क्षेत्रलाई लिन सकिन्छ। यस उच्च भूभागबाट तल हेर्दा लाग्छ हामी बादलमाथिको गाउँमा छौं।

तलबाट हुस्सु उड्दै आएर गम्ल्याङ्ग अँगालो हाल्दा स्वर्गीय अनुभूति हुन्छ। यहाँको थप आकर्षणका रूपमा मैत्रीबगैंचा र यहाँ निर्मित मानव अधिकार स्तम्भ हुन्।

दामन भ्युटावर

(हेटौंडाबाट ५५ किमि उत्तर र काठमाडौंबाट ५६ किमि पश्चिम तथा दक्षिण)राजधानीलाई तराई जोड्ने सेतुका रूपमा रहेको त्रिभुवन राजपथको सर्वाधिक उचाइमा रहेको सीमभञ्ज्याङमा अवस्थित दामन भ्युटावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ।

भ्युटावरमा रिसोर्ट पनि सञ्चालनमा छ। यस टावरबाट पालुङ, दामन, वज्रवाराही र चित्लाङका फाँटमा फलेको ताजा तरकारीको हरियो फाँट, पूर्वमा सर्वोच्च शिखर सगरमाथा, पश्चिममा अन्नपूर्ण तथा धौलागिरिलगायत नेपालका उच्च ८ हिमशृंखलाको सहज दृश्यावलोकन गर्न सकिन्छ।

अत्यधिक गर्मीका बेला, तनावको बेला, बिदा मनाउन चिसो शान्त वातावरणको आनन्द लिन मानिसहरू यहाँ आउने गर्दछन्।यहाँ स्थापित सुविधायुक्त भ्युटावर र पानोरमा रिसोर्टलगायत होटल तथा लजहरूले दशकौंदेखि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सेवा पुर्याउँदै आएका छन्।

सुनगाभा र लालीगुराँस पैदलमार्ग

सीमभञ्ज्याङबाट भीमफेदी/देउराली र दामनबाट मार्खु पुगी इन्द्रसरोवरमा सञ्चालित मोटरबोटको आनन्द लिँदै मार्खु, चित्लाङ हँुदै चन्द्रागिरि÷थानकोट पुग्न सकिन्छ। फाखेलबाट चन्द्रागिरि पर्वत र त्यहाँबाट उपत्यकाको अवलोकन गर्दै राजधानी पनि पुग्न सकिने प्रसिद्ध पैदलमार्गहरू छन्।

यस स्थानबाट गरिने पैदल यात्रा अत्यन्त रोमाञ्चकारी र आनन्ददायी हुन्छ। उच्च शृंखलाबाट देखिने रमणीय दृश्यहरू हेर्दै र विभिन्न समुदायका सांस्कृतिक, सामाजिक पक्षहरूको अवलोकन गर्दै सम्पन्न गरिने पैदलयात्राले नयाँ उमंग र उत्साह थप्छ।

ऋषेश्वर महादेव

सीमभञ्ज्याङ र दामनको बीचमा प्रसिद्ध ऋषेश्वर महादेवको मन्दिर छ। हिन्दू र बौद्ध धर्मावलम्बीहरूद्वारा समान श्रद्धाले पुजिने यो मन्दिरको प्राचीन सन्दर्भ बौद्ध धर्मगुरु पद्मसम्भवसँग गाँसिएको तथ्यले यस स्थानको धार्मिक महत्व अद्वितीय मानिन्छ।

यो क्षेत्र ध्यान केन्द्रका रूपमा पनि चिनिन्छ। तत्कालीन राजा त्रिभुवनले यहाँ पूजा गरी छोरा वरदान मागेको र राजा महेन्द्र जन्मेको भन्ने किंवदन्ती पनि छ।

अर्किड (सुनगाभा) तथा लालीगुराँसको मनोरम भण्डार

यस जिल्लाको महाभारत पर्वत शृंखला सुनगाभा तथा लालीगुराँसको प्राकृतिक संग्रहालयका रूपमा लिन सकिन्छ। विविध जाति तथा रङका लालीगुराँसका लागि समेत प्रसिद्ध यस क्षेत्रमा हालसम्म गरिएको अध्ययनअनुसार नेपालमा पाइने तीन सय ५० प्रजातिका सुनगाभामध्ये एकसय ७५ प्रजाति सीमभञ्ज्याङ क्षेत्रमा पाइएको छ।

पर्वतीय वनस्पति उद्यान तथा शीतोष्ण वागबानी केन्द्र

यस क्षेत्रमा वन र वनस्पतिसम्बन्धी अध्ययनका लागि पर्वतीय उद्यान, फलफूल तथा खाद्यान्न बालीको अध्ययनका लागि शीतोष्ण वागबानी केन्द्रको स्थापना गरिएको छ।

हिमवर्षाको रमणीय दृश्य, दुर्लभ वनस्पति, जैविक विविधता आदिका कारण सीमभञ्ज्याङलाई सन् २००२ अन्तर्राष्ट्रिय पर्वत वर्षको उपलक्ष्यमा नेपाल सरकारद्वारा पर्वतीय वनस्पति उद्यान घोषणा गरिएको छ।

कुलेखानी क्षेत्र

यो क्षेत्रमा विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन्। चिसो पानीमा पाइने माछाका लागि प्रसिद्ध छ। यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरू जाने प्रमुख पैदलमार्गका रूपले पनि चिनिन्छ।

दक्षिणकाली–हेटौंडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ। यो स्थान हेटौंडा र काठमाडौंबाट ३५ किमिको समदूरीमा पर्दछ। जहाँ दुई घण्टाको अन्तरालमा आइन्छ। यहाँका प्रमुख पर्यटकीय स्थानहरू

सम्राट् अशोककालीन चैत्य, होमस्टे र बाख्राको चिज

दामन क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यको कारणले प्रख्यात छ भने चित्लाङ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणका कारणले चर्चित छ। सम्राट् अशोकले स्थापना गरेको चैत्य ल्वोहः जसले सम्राट् अशोकको नेपाल भ्रमणको जीवन्त इतिहास बोकेको छ र राजा उदयदेवको संवत् ४५ को शिलालेखको अवस्थितिले पनि यो क्षेत्र कति प्राचीन रहेछ भन्ने अन्दाज गर्न सकिन्छ।

गजुरसहितको शिवालय, सात धारा, नेपालकै ठूलौ चौर (भेडा फार्म) र ट्राउट माछापालन यहाँका चर्चित अवलोकन गर्न लायक पर्यटकीय गन्तव्य हुन्। नेपालकै एकमात्र बाख्राको चिज उत्पादन केन्द्र र ओलिभ आयलको यहाँ खेती गरिन्छ।

यहाँ घरबास कार्यक्रम (होमस्टे)को व्यवस्था पनि छ। उपत्यकाबाहिर पहिलो पटक विसं २००२ सालमा स्थापना गरिएको प्रहरी पोस्टले पनि ऐतिहासिककालमा नै यो स्थान कत्ति संवेदनशील र महत्व रहेछ भन्ने दर्साउँछ।

कुलेखानी चित्लाङ थानकोट बाटो हुँदै तामदानमा बोकेर पशुपति दर्शन गर्न जान लागेका यात्रुहरूको हृदयविदारक दृश्य देखेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले चित्लाङको गुर्जुधाराको डिलमा बसेर ‘यात्री’ कविता लेखेका हुन् भनिन्छ। चित्लाङ काडमाडौंबाट करिब २२ किमी दूरीमा छ।

टिष्टङ, पालुङ ऐतिहासिक क्षेत्र

वज्रवाराही र यसका आसपासका क्षेत्रहरूमा प्राप्त लिच्छविकालीन अभिलेखहरू र उपलब्ध अभिलेखहरूले यो क्षेत्र ऐतिहासिकरूपमा अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा रहेको प्रमाणित हुन्छ।

सतीदेवीको पीठ पतन भएर उत्पत्ति भएको उन्मत्तेश्वर महादेवको मन्दिर र राजा अंशुवर्माको दरबार आदि यसका थप प्रमाण हुन्।वज्रवाराही मन्दिरमा प्रत्येक तीन वर्षमा तीन दिन मनाइने वज्रवाराही अजिमाको मेला, पालुङ, वज्रवाराही क्षेत्रमा मनाइने बाह्रवर्षे नाच, राजारानी नाच आदि यस क्षेत्रका अद्वितीय नाच तथा मेलाहरू हुन्।

इन्द्रसरोवर

मार्खु र कुलेखानीअन्तर्गतका गहिरो खोंचमा बाँध बाँधी नदीनालाको पानी संकलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत् परियोजनाको जलाशय इन्द्रसरोवर आफैमा एक नौलो नमुना हो।

७ किमि क्षेत्रफलमा फैलिएको मानवनिर्मित इन्द्रसरोवर एसियामा नै पहिलो मानिन्छ। यो स्थल जलविहार तथा माछापालनका लागि पनि प्रसिद्ध छ। सीमभञ्ज्याङ्ग र दामन भ्युटावरबाट पैदलयात्रा गर्दै यहाँ आउन सकिन्छ।

पूर्णिमाको रात यस सरोवरमा वरपरका पहाड, हरिया जंगल र तारायुक्त आकाश प्रतिबिम्बित हुने अचम्मको मनमोहक दृश्य देखिन्छ। हेटौंडा र काडमाडौंबाट करिब २ घण्टामा यस ठाउँमा पुग्न सकिन्छ।

चिसापानी गढी र कालीतोप

(हेटौंडाबाट २९ किमि उत्तर र काठमाडौंबाट ४८ किमी)
तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी गढी, त्यहाँ रहेको बटुकभैरव मन्दिर र कालीतोपको छुट्टै पहिचान रहेको छ।

स्त्री जातिको प्रवेशनिषेध रहेको रहस्यमय बटुकभैरव मन्दिर र आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म मारक क्षमता रहेको कालीतोपको कथा, यत्रतत्र छरिएर रहेको कार्तुस तथा गोलाहरू गढीभित्र देख्न सकिन्छ।

 

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाका रूपमा ख्याति कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जंगली सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न निर्माण गरिएको हात्तीसार र हात्तीचढीसम्बन्धी अन्य सामग्रीहरू आज इतिहास प्रतिबिम्बित हुने संग्रहालय बन्न गएको छ।

तत्कालीन बेलायतकी महारानीलगायत विशिष्ट पाहुनाको स्वागत सत्कार र सवारीमा प्रयोग गरिने विभिन्न दर्जाका हौदाहरू अवलोकनीय छन्।

शहीद स्मारक र हेटौंडा औद्योगिक क्षेत्र

समुद्री सतहको ३ सय ९० मि उचाइमा रहेको हेटौंडा उपमहानगरपालिकाको नाम वनवासको क्रममा पाँच पाण्डवहरू यस स्थानमा आएर बस्दा हेडम्बा राक्षससँग युद्ध भएको र युद्धमा भीमसेनले हेडम्बा राक्षस मारेको हुँदा हेडम्बा नाम अपभ्रंश हुँदै हेटांैंडा नामकरण भएको जनश्रुति पाइन्छ।

२०२६ सालमा हेटौंडा नगरपालिका घोषणा भएको हो। हेटौंडा उपमहानगरपालिका २०७१ सालमा घोषणा भएको थियो। हेटौंडा नगर देशकै पहिलो हरित नगरका नामले परिचित छ।

नगर क्षेत्रमा शहीद स्मारक, औद्योगिक क्षेत्र र विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू छन्। ८७ किलोमिटर रहेको काठमाडौंबाट हेटौंडा करिब पौने चार घण्टामा आइपुग्ने ऐतिहासिक खोजकर्ता केदारप्रसाद न्यौपाने जानकारी गराउनुभयो।

यहाँ आउनका लागि पर्यटकहरूलाई कुनै समस्या नरहेको उहाँको भनाइ छ। स्वास्थ्य क्षेत्रदेखि हरेक कुराहरूको सुविधा रहेको न्यौपानेले बताउनुभयो। हेटौंडामा बस्नका लागि एभरेजमा एक परिवारलाई पाँच हजारदेखि माथिसम्म खर्च हुने उहाँको भनाइ छ। उहाँका अनुसार यहाँ साना होटलदेखि थ्रीस्टरसम्म होटलहरू भएका कारणले पर्यटकलाई समस्या छैन।

हेटौंडाका पर्यटकीय क्षेत्र

शहीद स्मारक

(हेटौंडाबाट ७ किमी पश्चिम र काठमाडौंबाट ८९ किमी)नेपालको राष्ट्रियता, प्रजातन्त्रका र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको प्रतीकस्वरूप बाह्र जना शहीदका आकृति एउटै २५ टनको शिलामा कुँदी स्थापना गरिएको शहीद स्मारक यथार्थमा जनस्तरबाट निर्माण गरिएको एक अद्वितीय धरोहरका रूपमा स्वीकार गरिएको छ।

जिल्लाको पर्यटकीय सूचना केन्द्र, शहीद ग्यालरी, आकर्षक उद्यान, दृश्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, बालउद्यान, स्वीमिङपुल आदिको पूर्वाधारयुक्त यस शहीद स्मारकमा देशका विभिन्न स्थानहरूबाट र मित्रराष्ट्र भारतको सीमा क्षेत्रका पर्यटकका लागि उपयुक्त गन्तव्यस्थल भएको छ।

कुष्माण्ड सरोवर १०८ गौमुखी धारा

हेटौंडा नपाको वडा नम्बर ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुशको जंगलबाट उत्तर वहेकी) नदीको संगमस्थलमा कुष्माण्ड सरोवर अवस्थित छ।

तीन नदीको संगममा बसेर कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त गरेको भनी स्कन्द पुराणको हिमवत् खण्डको ७६औं श्लोकमा उल्लेख भएको हुँदा यस पवित्र भूमिमा कुष्माण्ड भगवतीको स्थापना गरी १०८ गौमुखी धारा स्थापना गरिएको छ। यहाँ माघ स्नान गर्ने र कात्तिक महिनामा कुभिण्डो दान गर्ने प्रचलन छ।

वनस्खण्डी

हेटौंडा नगरपालिका वडा नम्बर २ मा अवस्थित वनस्खण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको नजिकको रमणीय स्थान हो। पहाडको फेदी र हराभरा वनजंगलको बीचमा स्थापना गरिएको यस क्षेत्रमा दशैंको फूलपाती भित्याउने कार्य अति नै रामाइलो ढंगले गरिन्छ।

हेटौंडा औद्योगिक क्षेत्र

हेटौंडा औद्योगिक क्षेत्र हेटौंडाको दक्षिण भागमा अवस्थित छ। राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू यहाँ सञ्चालित छन् र यो नेपालकै सबभन्दा ठूलो औद्योगिक क्षेत्र पनि हो। यहाँका उद्योगहरू मकवानपुरबासीको रोजगारका लागि मुख्य स्रोत रहेको छ।

पुष्पलाल पार्क

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैंचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो। यस स्थानमा नगरपालिकाको सहयोगमा नगरकै ठूलो पुष्पलाल स्मृति पुस्तकालयसमेत सञ्चालित छ।

मकवानपुरगढी क्षेत्र

जिल्लाको मध्यपूर्वमा अवस्थित मकवानपुरगढी क्षेत्रका निम्न स्थानहरू पर्यटकीय गन्तव्यका लागि प्रसिद्ध छन् ः–

ऐतिहासिक मकवानपुर गढी

(हेटौंडाबाट १२ किमि पूर्व–उत्तर र काठमाडौंबाट ९८ किमि)आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेनवंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको मकवापुरगढी हेटौंडा नगरबाट १२ किमि उत्तर–पूर्व गढीमा पर्दछ।

परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुरगढीले तत्कालीन समयको सामरिक महत्व तथा सुरक्षात्मक दूरदर्शिता झल्काइरहेको देखिन्छ। अझ यहाँ स्थापना गरिएको सिक्रीले बाँधिएको वंशीगोपालको मूर्ति पनि उत्तिकै दर्शनीय छ। गढी क्षेत्रमा होमस्टेको व्यवस्था पनि छ।

मनकामना मन्दिर

यो मन्दिर हेटौंडाको निकट उत्तर–पूर्वी डाँडामा अवस्थित छ, जहाँबाट हेटौंडा नगरको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यो मन्दिरलाई गोरखा मनकामनाको बहिनीका रूपमा लिइन्छ र हिन्दूहरूको पवित्र मन्दिर रहिआएको छ। यहाँ प्रत्येक बिहान प्रभातफेरी गर्दै दर्शनार्थीहरूको घुइँचो पुग्ने गर्दछ।

प्रमुख जात्रा तथा मेलाहरू

मकवानपुर जिल्ला विभिन्न जात्रा तथा मेलाका लागि पनि प्रसिद्ध मानिन्छ। ऋषेश्वर महादेवस्थान दामनमा लाग्ने ऋषेश्वर जात्रा, वज्रवाराहीमा मनाइने वाराही जात्रा, भैंसेखानीमा मनाइने स्यार्सेकालिकाको जात्रा, पालुङमा मनाइने इन्द्रायणी माईको जात्रा, चुरियामाईको चुरियामाई, भीमफेदीमा मनाइने भीमसेन जात्रा, भैंसेको त्रिखण्डी जात्रा तथा हेटौंडामा मनाइने कृष्णजात्रालाई व्यापक जनसमूह भेला हुने जात्राका रूपमा लिइन्छ।

सिस्नेरीको नारायण मन्दिर, मकवानपुर गढीको वंशगोपाल, भैंसेको त्रिखण्डी मन्दिर, नवलपुरको पुण्यक्षेत्र र हटियाको राजदेवी मन्दिर आदिमा पनि ठूलो मेला र जात्रा लाग्दछन्।

पालुङ र वज्रवाराही क्षेत्रमा देखाइने बाह्र वर्षे तथा तीन वर्षे मेल अति भव्यतासाथ मनाइन्छन्। यी मेला तथा जात्रामा विभिन्न जिल्ला तथा मित्रराष्ट्र भारतदेखिका तीर्थालुहरू आउने गर्दछन्।

जातीय तथा सांस्कृतिक विविधता

तामाङ जातिको सर्वाधिक बाहुल्यता रहेको जिल्ला च्योबाङ अर्थात् चेपाङ (प्रजा) जातिको विशेष बासस्थान रहेको छ भने प्रकाशमा आएको अतिपिछडिएको वनकरिया जातिको बसोबास क्षेत्र र तिनीहरूको सांस्कृतिक मौलिक पहिचानका लागि पनि प्रसिद्ध छ।

अल्पसंख्यक दनुवार, माझी, पहरी, थामी आदि जनजातिको पनि बसोबास रहेको छ। डाँडाखर्कको बैकुण्ठमा तामाङ जातिद्वारा नाचिने घाटु नृत्य र पालुङ उपत्यकामा नेवार समुदायको बाह्र वर्षे नृत्य र इन्द्रायणी नृत्य अत्यन्त लोकप्रिय मानिन्छन्।

चेपाङ संग्रहालय

अल्पसंख्यक जनजाति चेपाङको ऐतिहासिक र सांस्कृतिक महत्वका वस्तुहरू जगेर्ना र प्रदर्शन गर्न चैनपुर राक्सिराङमा एक चेपाङ संग्रहालय स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्