‘ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न आवश्यक छ’



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछ । सरकारीस्तरबाट भ्रमण वर्ष मनाउन लागिएको यो तेस्रो पटक हो । भ्रमण वर्ष शुरू हुन एक महिना बाँकी हुँदा भ्रमण वर्षको तयारी कस्तो छ, विगतका अनुभवबाट के सिक्न सकियो भन्ने, भ्रमण वर्षमा के कुराको आवश्यकता छ, कसरी भ्रमण वर्ष सफल बनाउन सकिन्छ, कहाँ के कमजोरी भएको छ भन्नेलगायतका विषयमा नेपाल समाचारपत्रको नेपाल भ्रमण वर्ष २०२० विशेषाङ्कका निम्ति पर्यटन क्षेत्रमा सरोकारवालासँग परिवर्तन देवकोटाले गरेको कुराकानी ः

विनायक शाह
प्रथम उपाध्यक्ष, होटल एसोसिएसन नेपाल

सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्षको तयारीलाई कसरी हेर्नुभएको छ ?

सरकार र निजी क्षेत्र मिलेर तयारी त राम्रोसँग भई नै रहेको छ। कुन ठाउँमा के गर्ने भनेर योजना पनि भइरहेको छ। तर बनाइएका योजनाहरूको कार्यन्वयन हुन सकेको छैन, जुन एउटा समस्याको विषय बनेको छ। त्यस्तै अर्काे ठूलो समस्या पूर्वाधारको रहेको छ।

किनभने अब लगभग डेढ महिना बाँकी छ, तर पूर्वाधारको उचित विकास एवम् व्यवस्थापन हुन सकेको छैन। सामान्य कुरा, काठमाडौंका सडकहरूमा देखिने सवारीको चाप, धुलो, धुँवा, फोहोरको व्यवस्थापन छैन। अर्काे महत्वपूर्ण पूर्वाधार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन पनि राम्रो छैन।

हामी दुई शक्तिशाली मुलुक भरत र चीनको बीचमा छौं तर चीन र भरतलाई जोड्ने सडकको अवस्था एकदमै दयनीय छ। यसर्थ हामीसँग सबै भए पनि पूर्वाधारको अभाव छ।

सबै कुरा पर्यटन व्यवसायी, पर्यटन मन्त्रालयले गरेर मात्र पुग्दैन, सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ। सबै निकायले समन्वय गरेर अगाडि बढ्नु पर्ने हो, तर यस्तो नहुँदा जुन गतिमा विकास विस्तार हुनु पर्ने हो त्यो नभएर एकदमै सुस्त भएको छ।

पर्यटन वर्ष नजिकिँदै गर्दा नेपालमा होटलको स्थित के कस्तो रहेको छ ?

देशमा संघियता कार्यन्वयन भइसकेपछि सबैभन्दा बढी विकास भएको क्षेत्र भनेकै होटल हो। होटल क्षेत्रका संसारका ठूल्ठूला ब्रान्डहरू नेपालमा आइसकेका छन्। देशभरमा १ सयभन्दा बढि ठूला साना विभिन्न स्तरका होटलहरू सरकारमा दर्ता गराएर सञ्चालनमा छन्, र कतिपय सञ्चालनमा आउने तयारीमा छन्।

काठमाडौंमा मात्र हेर्ने हो भने झन्डै २ दर्जनको हाराहारीमा होटलहरू सञ्चालनमा छन्। नेपाल भ्रमण वर्ष २०२० मा भित्रिने २० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता अहिले नै छ। ६ वटै प्रदेशहरूमा ठूला, साना र मझौला होटलहरू सञ्चालनमा छन्। तसर्थ होटल क्षेत्रमा हामी पूर्णरूपले तयारी छौं।

होटलको बेड संख्या पुग्ने अवस्था छ त ?

सबै पर्यटकहरू एकै दिन त आउने होइन नि, ३ सय ६५ दिनमा आउने हुन्। देशैभरि भएका होटलको संख्याले हामीले पर्यटकलँई मज्जाले सेवा दिन सक्छौं।

विद्यमान होटल पूर्वाधारले पर्यटकहरू आकर्षित गर्न सक्ला ?

अन्तर्राष्ट्रिय मापदण्डअनुसारका होटलहरू छन् हामीसँग। हाम्रा होटलको सेवा सुविधा, रेन्ट सबैमा हामी एकदम कम्पिटिभ छौं। होटल उद्योग भनेको नेपालको मात्र नभएर विश्वव्यापीकरण भएको क्षेत्र हो। हामीकहाँ आउने ग्राहकहरू अधिकांश विदेशी हुन्छन्।

उनीहरूले खर्च गर्ने पैसाको अनुपातमा हामीले सेवा दिन सकेनौं भने त उनीहरू हामी कहाँ आउँदैनन् नि। हामीले राम्रो सेवा सुविधा दिएको भएर नै पर्यटकहरू फेरि फेरि आइरहेका छन्।

नेपाललगायत विदेशी मापदण्ड पूरा गरेका होटलहरू पनि छन् नेपालमा, जसले गर्दा पर्यटकलाई उनीहरूको रुचिअनुसारको सेवा सुविधा दिन सकेका छौं। यसर्थ होटल क्षेत्रमा हामी पूर्णरूपमा सक्षम छौं।

नेपाली होटलहरू नाममा पाँचतारे छन् तर सेवा स’विधा एकदमै न्युन हुन्छ भन्ने गुनासाहरू पनि आएका छन्, वास्तविकता के हो ?

गुनासो कस्ले गरेको, कहाँ गरेको, कुन प्रसंगमा गरेको भन्ने कुरा हुन्छ। यदि यो कुरा साँचो हो भने त हाम्रो पर्यटक संख्या घट्नु पर्ने हो नि, तर घटेको छैन। बढिरहेको नै छ।

यदि होटलको सेवा चित्तबुझ्दो नभएपछि त पर्यटकहरू बस्न नै रुचाउँदैनन् नि। तर हामीकहाँ त भ्रमण अवधि लम्बाएर पनि बसेका छन्। यसर्थ यो कुरामा कुनै सत्यता छैन्। हजार केसमा एउटा दुइटा त्यस्तो भयो होला। जस्तै राति १२ बजे गेस्ट आएर खाना खान खोज्ला, त्यति नै बेला किचेन तयार हुँदैन।

त्यस्तो अवस्था पनि हुन सक्छ। यसर्थ कस्तो अवस्थामा नराम्रो भनेको हो त्यो कुरालाई मध्यनजर गर्नुपर्छ। नेपालका ९५ प्रतिशत होटलले राम्रो सेवा दिइरहेका छन्। यसलाई त राम्रोमा गनिन्छ नि।

पर्यटकलाई आकर्षित गर्ने होटल नेपालमा कत्तिको छन् ?

पाँच तारेदेखि सामान्य होटल नेपालमा धेरै छन्, जसले पर्यटकलाई राम्रो सेवा सुविधा दिइरहेका छन्। पर्यटकमा पनि खर्च गर्ने क्षमताअनुरूपको होटलमा बस्छन्।

अहिले ठूल्ठूला होटल खुलेका छन्, यदि होटलको बजार नभएको भए त खुल्दैनथे होला नि होइन र ? पर्यटकले होटलमा बस्ने, खाना बाहिर खाने र खर्च नगर्ने या कम गर्छन्, भन्ने जस्तो कुरा छ वास्तविकता के हो ?

हरकोहि व्यक्तिले आफ्नो आर्थिक क्षमताअनुसारको ठाउँमा घुम्न जान्छ, जे मन लाग्यो त्यो किन्छ। यसर्थ हामीकहाँ आउने पर्यटकको कुरा गर्दा पर्यटकहरूलाई जहाँ मन लाग्यो त्यहाँ घुम्ने, खाने जस्ता आफ्नै अधिकार छन्।

आफ्नो क्षमताअनुसारको ठाउँमा बस्छन्, खान्छन्। पाँच तारे होटलमा बसेको मान्छे बाहिर सानो ठाउँमा खाना खान जाँदैन। सामान्यतया सबैले आफ्नो इच्छाअनुसार गर्छन्। र अर्काे कुरा टिपिकल नेपाली खाना खान चाहाने पर्यटकहरूको लागी होटलमा त्यस्तो व्यवस्था छैन भने नेपाली खाना खानको लागि बाहिर जान्छन्।

नेपाल आउने पर्यटकको चाहाना कस्तो हुन्छ ?

पर्यटकहरू नेपालको प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्नको लागि नेपाल आउँछन्। त्यस्तै नेपालको संस्कृति, रहनसहन, भेषभुषा आदि नियाल्नको लागि पर्यटकहरू नेपाल आउँछन्। त्यसैले हाम्रो संस्कृतिलाई विश्वव्यापीरूपमा प्रचारप्रसार गर्न सकेको खण्डमा अझ धेरै पर्यटकहरू नेपाल आउन लालायित हुन्थे।

नेपालको एउटा राम्रो पक्ष पाहुनालाई भगवान् मानेर खुल्ला दिलले हाँसेर स्वागत गर्ने, जसले पर्यटकलाई सकरात्मक प्रभाव पार्छ। जसले गर्दा उनीहरूले आफू निकटकालाई आफ्नो देशमा गएर नेपालको बारेमा कुरा गर्छन्। त्यो नै सबैभन्दा सशक्त विज्ञापन हो। त्यसरी धेरै पर्यटक आउँछन्। आफूले चाहेको जस्तो वातावरण

पर्यटकहरू धेरै मात्रामा नेपाल भित्रिन्छन्। पर्यटकलाई निराश पार्ने एउटा पक्ष भनेको पूर्वाधारको व्यवस्था र व्यवस्थित नहुनु हो। जस्तै कुनै पर्यटक बिदा मनाउन नेपाल आएमा नेपालको बाटोघाटो, धुलो, धँुवाजस्ता कुराले उसलाई असर गर्छ। त्यस्तै घुम्न आएको मान्छे १–२ घन्टा टाफिक जाममा पर्यो भने त राम्रो हुँदैन नि।

यो पर्यटकलाई निराश बनाउने पक्ष हो। यस्ता समस्याको निराकरण गर्न सकेमा एकदमै राम्रो हुन्थ्यो। यसको लागि सरकार, सडक विभाग, सम्बन्धित निकाय, जनता सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।

चिनियाँ राष्ट्रपति आउँदा बाटोघाटो एकदमै व्यवस्थित बनाउन सक्नेले त्यसलाई किन निरन्तरता दिइँदैन। काठमाडौंका सडकहरूको अवस्था हेर्दा भ्रमण वर्षको बिल्ला गरे जस्ता छन्। चिनियाँ राष्ट्रपति आउँदाको जति तयारी कम्तीमा पनि भ्रमण वषभरि मात्र गर्दा भ्रमण वर्षलाई धेरै टेवा पुग्ने थियो।

बजेटको अभावको कारणले पक्कै पनि बनाउन नसकेको पक्कै होइन। जस्तै हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बजेटको अभावले नबनेको होइन कि काम नै नगरेर नबनेको हो। त्यस्तै बौद्धको बाटोको कुरा गरौं। पर्यटकको लागी मात्र नभएर राज्यले नागरिकको लागि पनि त सोच्नुपथ्र्या, त्यो छैन्।

बजेट अभावको कुरा गर्ने हो भने नागरिकले तिरेको कर छ, त्यसको सदुपयोग खै त। यसर्थ हरेक क्षेत्रले आ–आफ्नो ठाउँबाट सकरात्मक सहयोग गरेमा भ्रमण वर्ष सफल पार्न सहयोग गर्छ।

पर्यटन क्षेत्र भनेको देशको अर्थतन्त्रलाई बलियो बनाउने तत्व हो। यसले व्यवसायीलाई मात्र नभएर हरेक क्षेत्रका मानिसलाई आर्थिक उपार्जनमा सहयोग पुर्याउछ। त्यसैले सबै मिलेर भ्रमण वर्षलाई आ–आफ्नो ठाउँबाट सहयोग गरेको खण्डमा पक्कै पनि भ्रमण वर्ष सफल हुन्छ।

प्रतिक्रिया दिनुहोस्