‘सरकार र निजी क्षेत्रबीच सहकार्य गर्न जरुरी’



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछ । सरकारीस्तरबाट भ्रमण वर्ष मनाउन लागिएको यो तेस्रो पटक हो । भ्रमण वर्ष शुरू हुन एक महिना बाँकी हुँदा भ्रमण वर्षको तयारी कस्तो छ, विगतका अनुभवबाट के सिक्न सकियो भन्ने, भ्रमण वर्षमा के कुराको आवश्यकता छ, कसरी भ्रमण वर्ष सफल बनाउन सकिन्छ, कहाँ के कमजोरी भएको छ भन्नेलगायतका विषयमा नेपाल समाचारपत्रको नेपाल भ्रमण वर्ष २०२० विशेषाङ्कका निम्ति पर्यटन क्षेत्रमा सरोकारवालासँग परिवर्तन देवकोटाले गरेको कुराकानी ः

डण्डुराज घिमिरे
महानिर्देशक, पर्यटन विभाग

सरकारले तेस्रो पटक आयोजना गरेको भ्रमण वर्षलाई हजुरले कसरी लिनुभएको छ ?

यस्तो कार्यक्रमहरू गर्नुपर्छ, जसले गर्दा नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउन एकदमै ठुलो योगदान पुग्छ। नेपाल मात्र होइन यहि वर्ष दुबई सरकारले पनि भ्रमण वर्ष आयोजना गरेको छ। यस्ले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान बढ्छ। देशको उत्पादनहरू निर्यात गर्ने पक्षमा पनि सहयोग गर्दछ।

तर भ्रमण वर्ष २०२० को लागि तयारी पुगेन भन्ने गुनासाहरू पनि सुनिन्छन्। हामी आफैले तयारी गर्ने हो। त्यसैले सरकार, निजी क्षेत्र र जनताहरू सबैले आ–आफ्नो क्षेत्रबाट तयारी गनुपर्छ। हामीले आफैभित्र एक अर्काको नराम्रो कुरा गरेर केही हँुदैन, त्यसैले हामी सरकार, निजी क्षेत्र र जनताहरू मिलेर नै सहयोग गरेर भ्रमण वर्षलाई सफल पार्नुपर्छ।

भ्रमण वर्षको लागि धेरै कुरालाई समेटिएको छ। त्यसमध्ये पनि केही फरक कुरालाई विशेष जोड दिन सक्यो भने झन् राम्रो हुन्छ होला। जस्तै हिमालयलाई सेक्रेट मानिएको छ, तर हिमालय पर्वतलाई पनि पर्यटक केन्द्रित बनाउन सकेमा धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।

त्यस्तै बौद्ध धर्मको इतिहासलाई पनि बजारमा ल्याएर सेल गर्न सकिन्छ। त्यसले पनि भ्रमण वर्षलाई फरक बनाउन मद्दत गर्छ। त्यस्तै हिन्दू धर्मका संस्कृतिहरूलाई पनि पर्यटकलाई लोभ्याउन सक्छ।

हुन त पूर्व पर्यटन मन्त्री स्व रविन्द्र अधिकारी र वर्तमान पर्यटनमन्त्री योगेश भट्टराईले पनि धेरै कुराहरूमा सुधार गर्दै जानुभएको छ। उदाहरणका लागि, सचिवालयका कुरा, विभिन्न किसिमका ब्रान्डहरूलाई मार्केटमा एप्रोच गर्ने कुराहरू, अन्तर्राष्ट्रिय बजारमा प्रमोसनका विज्ञापनलगायलका कुराहरू तयारी भएको छ जस्तो लाग्छ मलाई।

भ्रमण वर्ष नजिकिँदै गर्दा पूर्वाधारको विकास नभएको, काठमाडौंको धुलो, धुवा र प्रदुषणलाई लिएर निकै चर्चा भइरहेको छ, नि।

प्रदुषण नियन्त्रण गर्ने कुरा सरकारले मात्र एक्लै समाधान गर्न सक्दैन। यो कुरा जनसमुदायको सक्रियतामा सम्भव हुने कुरा हो। सरकारले त मात्र मापदण्ड तोकिदिने काम गर्छ। जनस्तरको व्यापक सहभागिता र सक्रियतामा यो अभियान सम्पन्न गर्ने कुरा हो।

जस्ले प्रदुषण बढी छ भनेर बढी टिप्पणी गर्छ उसले नै धेरै प्रदुषण गर्छ भन्ने मेरो ठम्याइ हो। त्यसकारणले सरकार एक्लैले गर्ने कुरा होइन यो। हामी सबैले आफूले गरेको क्रियाकलाप प्रदुषणयुक्त छ कि छैन भनेर आत्मालोचना, आत्मसमीक्षा गरेर हर्यौं भने प्रत्येक व्यक्तिले प्रत्येक तहबाट साँचो बोलाइ र सुनाइ गर्यौ भने प्रदुषण घटाउन महत्वपूर्ण टेवा पुग्दछ।

सरकारले गर्नुपर्ने जति गरेको छैन होला, किनकि सरकार भनेको निजी क्षेत्र पनि हो र संयुक्त क्षेत्र पनि हो, त्यसैले हामीले सरकारलाई राम्रोसँग बुझेर व्यवहार गर्न जान्यौं भने प्रदुषण, वातावरण मात्र होइन सम्पूर्ण डिजास्टरका कुरालाई व्यवस्थापन गर्न सक्छौं।

म पर्यटन विभागमा आएपछि त्यो सन्देश फैलाउने कोसिस गरेको छु। तर पनि मान्छको जात देख्न, सुन्नका लागि एउटा र गर्न, हुनका लागि अर्कै हुने रहेछ। अहिलेको दुनिया अरूलाई ढाटेर, छलेर बाच्ने दुनिया छैन् भनेर बुझाउन एकदमै गाह्रो हुने रहेछ।

सरकारले प्रदुषण नियन्त्रणको लागि के कस्तो प्रयास गर्दै छ ?

सरकारले सडक निर्माणको कार्य अगाडि बढाइरहेको छ। साथै स्थानीय तहबाट पनि यसबारे प्रयास गर्दै आएको छ। भ्रमण वर्षलाई सबै मिलेर गरौं भन्ने माहोल सिर्जना गरेको छ।

सबै ठाउँमा हामीलाई सपोर्ट गर्ने मान्छे छैनन् होला त्यो छुट्टै कुरा हो, तर सबै निकायहरू मिलेर, पहिलेको तुलनामा बढी स्रोत परिचालन गरेर काम भइरहेको छ। सरकारबाट काम भइरहेको छ, हुँदै गरेको छ। तर देखिने कुरा नभएकोले आलोचना भएको हो।

२०४६ सालतिरको काठमाडौं र अहिलेको काठमाडौंमा सञ्चार, बैंकिङ, नेट्वर्कको अवस्था कस्तो थियो, त्यो हेर्दा थाहा हुन्छ। यो ३० वर्षमा काठमाडौंमा कस्तो परिवर्तन आएको छ त्यो हेर्न सकिन्छ। अहिलेसम्म जे भएको छ रामै्र भइरहेको छ। र भ्रमण वर्ष २०२० लाई सफल पार्न सबै मिलेर यो भन्दा पनि राम्रै काम गरिरहेका छौं।

पर्यटकहरूको संख्यालाई निकै जोड दिएको छ, अन्य कुराहरू हेरेन भन्ने कुराहरू पनि बाहिर आएका छन् नि।

पर्यटक संख्या पनि आउनुपर्छ। सेवा सुविधा दिने भनेको पर्यटकलाई नै हो। पूर्वाधारहरू नपुगेको हो कि भन्ने कुरा पनि एक ठाउँमा छ, तर मलाई मेरो दृष्टिकोणमा के लाग्छ भने हाम्रो फोकस संख्यामा अलि बढी भयो, संख्यामा हाइलाइट गर्नुभन्दा गुणस्तर वा सेवा सुविधालाई हाइलाइट गरेको भए अझै राम्रो हुन्थ्यो कि भन्ने हो।

हाम्रो नेपाली पन, पुरातत्वलगायत पर्यटन क्षेत्रमा अली महत्वपूर्ण छ भन्ने देखाउन नपुगेको हो कि भन्ने मलाई लागेको छ। संख्या र सेवालाई एउटै तराजुको दुई पट्टी राखेर न्याय गरिनुपथ्र्यो।

संख्यालाई त फोकस गर्नुपर्छ नै। १० लाख पर्यटक आउँदा २५ प्रतिशत राम्रा पर्यटक आएभने पनि २० लाख आउँदा २५ प्रतिशत भए भने पनि त्यो बढी नै हुन्छ। तर हामीले प्याकेज छुट दिने कुराहरूमा सरकार अग्रसर हुनुपर्छ भन्ने मेरो आशय हो।

पर्यटकहरूको संख्या धेरै भएपनि खर्च गर्ने प्रवृति भने एकदमै कम देखिन्छ भनिन्छ, खासमा यस्तो हुन्छ त ?

सरकारी डाटाले प्रतिदिन प्रतिव्यक्ति ४४ डलर खर्च भएको देखाउँछ। अहिलेको यस्तो सेनारियो हेर्दा यतिमात्रै खर्च गर्न सक्ने क्षमता भनेको विगतको तुलनामा कम नै हो। पहिला भूकम्प गएको वर्ष र त्यसपछिको वर्षमा करिब ७० डलर प्रतिव्यक्ति प्रतिदिन खर्च गर्ने क्षमता थियो।

अहिले हामीले मूल्यलाई महत्व राखेर सेवा दिने हो भने खर्च गर्ने क्षमता राम्रो भएका पर्यटकहरू नै आउँछन् जस्तो लाग्छ। तर ४४ डलर भनेको आफैमा कम चाहिँ होइन।

यसअघिका भ्रमण वर्षहरू कस्तो रहेको थियो ? कस्तो मूल्यांकन गर्नुभएको छ ?

हाम्रो यसअघिका भ्रमण वर्षहरू पनि गुणस्तरमा भन्दा संख्यामा नै केन्द्रित भएका थिए। १९९७ को पर्यटन वर्षले केहीकेही नयाँ कुराहरू छाडेर गयो। २०११ को पर्यटन वर्षले पनि होमस्टेजस्ता नयाँ कुराहरू छोडेर गयो।

अहिलेको भ्रमण वर्षले ज्ञानका कुराहरू छोडेर गयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। तर त्यतिखेर हामीले सेलिब्रेसन, फेस्टिबल, कार्यक्रममा मात्रै सिमित र≈यो। नागरिक उड्ययन तथा पर्यटन तथा संस्कृति मन्त्री माननीय योगेश भट्टराईले ४० मुलुकका पर्यटन मन्त्रीलाई २०२०मा निमन्त्रण गरेर ग्रान्ड सेरेमन ओपन गर्ने बताउनुभएको छ। त्यसअनुसारको तयारी पनि हामीसँग भएको छ।

पर्यटकका लागि देखाउनै पर्ने नयाँ विषयवस्तु केही छन् कि ?

कुमारी, काठमाडौं दरबार स्क्वायर, हेरिटेज जस्ता कुराहरू परम्परागत भएका छन्। अहिले हामीलाई नौलो कुरा देखाउन जरुरी छ। नयाँ कुरा के हुन्छन् भने विसडमका कुरा, सफ्टवयर पार्ट, हस्पिटालिटी, बिजिनेसका कुराहरू, धर्मका कुराहरू हुन सक्छन्। अहिले हामीले सेक्रेट माउन्टेन भनेका छौं, त्यो सेक्रेट के हो त ? त्यस्ता कुराहरू देखाउनुपर्छ।

अब भ्रमण वर्षलाई स्वागत गर्नका लागि कसले कस्तो भूमिका खेल्नुपर्ला ?

पहिलो कुरा त एकअर्कालाई आरोप प्रत्यारोप गर्ने कुरा हटाउनुपर्छ। निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रलाई आरोप लगाउने काम गर्नुहुँदैन। सरकारमा बस्ने मानिसहरू मात्रै पनि सबै कुरा होइनन्।

उनीहरूलाई पनि ज्ञान, बुद्धिविवेकले भर्ने भनेको निजी क्षेत्रले नै हो। भ्रमण वर्ष सबैको अभियान हो। यसमा सबै मिली लाग्नुपर्छ। यसबाट हामी सबैले फाइदा लिने हो भन्ने सबैले बुझ्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्