भ्रमण वर्षको सफलता पूर्वाधारमा आधारित



सुरज वैद्य
(संयोजक : नेपाल भ्रमण वर्ष–२०२०)

नेपालमा २० लाख पर्यटक भित्याउने ‘इन्डिकेटर’ पूरा हुँदैमा नेपाल भ्रमण वर्ष–२०२० सफल हुँदैन। केही थान खेलकुद टुर्नामेन्ट वा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो भने पर्यटकको संख्या ह्वात्तै बढ्छ।

हामीलाई त नेपालको आर्थिक अवस्थामा सुधार ल्याउने गरी पर्यटन व्यवसायलाई स्थायित्व प्रदान गर्नुछ, यस वर्ष मात्र होइन, निरन्तर गुणस्तरीय पर्यटक नेपाल आउनुपर्छ।

पर्यटन व्यवसायलाई सबल र निरन्तर बनाउन पूर्वाधारका पक्षमा ध्यान दिनु पहिलो प्राथमिकताको विषय हो। अहिले मैले देखेको सातै प्रदेशमा पर्यटकको संख्या बढोस् भन्ने चाहना गर्ने हो भने विमानस्थलको व्यवस्था सहज र सुरक्षित हुनुपर्यो। सरकारको काम हो– पूर्वाधारको विकास र सम्पर्क सूत्रको सफल परिचालन।

जस्तो, बाटो बन्यो भने पूर्वाधार भयो, निजी क्षेत्रले आफैं होटेल खोल्छ, रोजगार सिर्जना गर्छ र पर्यटक तान्छ। काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म प्रदूषण र फोहोरको व्यवस्थापन समस्या छ, यसलाई हटाउनु पनि पूर्वाधारकै विषय हो।

हामीले आज पनि नेपालीलाई जति विमान शुल्क लिन्छौं, त्यसको डबल विदेशीबाट असुल्छौं। हामीकहाँ अलि बढी पर्यटक आउने भनेको सगरमाथा, एबीसीलगायत हिमाली क्षेत्र र काठमाडौं–लुम्बिनी–सौराहा–पोखरा नै हो।

अरू पर्यटकलाई आकर्षित गर्ने स्थान हामीकहाँ नभएका होइनन्, सरकारले एक सय पर्यटन केन्द्रको सूची सार्वजनिक गरेको पनि छ, तर त्यहाँ पर्यटक छैनन्। किनभने खानपिन, बसोबास र सुरक्षा पर्यटकका आधारभूत चासोका विषय हुन्। रारा जतिसुकै सुन्दर भए पनि त्यहाँ पुगेका पर्यटक कहाँ बस्ने, उनीहरूलाई मनपर्ने भोजन कसले तयार पारिदिने ? असी–सय जनाभन्दा बढीको होटल सुविधा नै छैन।

आम पर्यटकको कुरा एउटा हो, नेपालको हिमाल, संस्कृति, जनजीवन, वन्यजन्तुआदि हेर्न आउने पर्यटकलाई ध्यान दिनुपर्छ नै। तर, त्यसका अतिरिक्त विशिष्ट र पेसागत पर्यटकलाई नेपाल भित्र्याउन सक्नुपर्छ। उदाहरणका लागि छिमेकी भारतको विशाल चलचित्र उद्योगका लागि नेपाल सुन्दर प्राकृतिक स्टुडियो हो।

तर, भारतीय चलचित्र निर्माता–निर्देशकसँग मैले कुराकानी गर्दा उनीहरूले भने– ‘चलचित्र निर्मातालाई विशेष सुविधा के छ, नीतिगत रूपमै छिमेकी भारतको चलचित्र उद्योगका लागि नेपालले व्यवस्था गर्नेहो भने, निर्माताहरू चलचित्रको क्यामरा बोकेर नेपालमा ओइरिनेछन्।’

उनीहरूले सुटिङमा ड्रोन क्यामराको प्रयोग गर्न नपाउने, भ्रष्टाचारमा चाहिनेभन्दा बढी दुःख दिने, हिँडडुलमा नियन्त्रण गर्ने कारणले बरु टाढाको स्वीट्जरल्यान्ड जाने प्रवृत्तिको विकास भएको जानकारी गराए। पर्यटन व्यवसायको विकासका लागि सातै प्रदेशका सम्भाव्य क्षेत्रमा बृहत् पार्क निर्माण गर्नु आवश्यक छ।

यसका लागि सरकारले निजी क्षेत्रलाई ५० वर्षको समय तोकेर करारमा पार्क बनाऊ, चलाऊ, कमाऊ र यस अवधिपछि राज्यलाई हस्तान्तरण गर भन्नु आवश्यक छ। जग्गा किनेर व्यवसाय गर्न गाह«ो भइसक्यो। जलविद्युत् क्षेत्रमा ३० वर्ष निर्माण गर्नेले लिन्छ, पछि सरकारको हुने जो व्यवस्था छ, त्यो पर्यटनमा पनि हुनुपर्यो।

यसका लागि नेपाली लगानीकर्तालाई पहिलो प्राथमिकता दिने तर स्वदेशी नागरिकले रुचि दिएनन् भने विदेशी लगानीकर्तालाई पनि करारमा पर्यटन क्षेत्र निर्माणको जिम्मा दिनुपर्छ।

मैले शुरुमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने कुरा गरेँं, पर्यटन वर्ष शुरु हुनै लागिसक्यो, यतिखेर पूर्वाधारतिर लागेर पर्यटक चाहिँ कहिले ल्याउने भन्ने पनि कतिलाई लाग्ला, तर म प्रस्ट छु, मेरो योजना चाहिँ २०२० मा मात्र पर्यटक भित्र्याउने कुरामा मात्र सीमित छैन।

पहिला भनेजस्तै, यसलाई इभेन्टका रूपमा नसोचौं, निरन्तरतामा सोचौं, स्थायी रूपमा विकास गर्नका लागि बलियो पूर्वाधार आवश्यक छ, यस वर्ष आधारभूत पूर्वाधार तयार भयो भने २०२१ मा पर्यटक आए भने पनि नेपाललाई नै लाभ हुने हो।

पर्यटनलाई राज्यले भ्रमण वर्षको घोषणा गरेर मात्र, उसको दायित्व पूरा हुन्न, सरकारमा रहेका मात्र होइन, सबै नागरिकले नेपालको आर्थिक उन्नतिका लागि पर्यटन आवश्यक छ र यसका लागि आ–आफ्नो तर्फबाट योगदान दिनुपर्छ भनेर आत्मसात् गर्नुपर्छ।

पर्यटनलाई आवश्यक छ त भनिन्छ तर त्यसका ‘ग्य्राभिटी’ बुझेको व्यवहारले प्रमाणित गरेको छैन। यो मेरो टिप्पणी सबैभन्दा बढी नेपाल सरकारलाई नै हो। दैनिक १५ सयभन्दा बढी नेपाली रोजगारीका लागि बाहिर गइरहेका छन्, यसलाई रोक्नुछ।

पर्यटन क्षेत्रको विकास गर्ने हो भने रोजगारी देशमै सिर्जना हुन्छ, नेपालीहरू बाहिर जाने क्रम घट्नेछ। म पर्यटन क्षेत्रको व्यवसायी होइन, त्यसैले म होटेल सञ्चालक, ट्रेकिङ क्षेत्रका उद्यमी, र्याफ्टिङ, साइक्लिङ, पर्वतारोहण, उड्डयन र आम व्यक्तिका विचार सुन्छु।

पर्यटन क्षेत्रकै व्यक्ति संयोजक भएको भए ऊ एकपक्षीय पनि हुनसक्थ्यो, तर म छैन। म सबैलाई समेटेर दीर्घकालीन रूपमा पर्यटन क्षेत्रको विकास गर्न चाहन्छु।

(वैद्यसँग गरिएको कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनुहोस्