प्रकाशकीय : राष्ट्रिय मुद्दामा कामना प्रकाशन



कामना न्यूज पब्लिकेसन्स् प्रालि आजबाट ३५ वर्ष पूरा गरी ३६ वर्षमा प्रवेश गरेको छ। २०४१ साल मंसिर १५ मा चलचित्रसम्बन्धी कामना मासिक पत्रिका प्रकाशन गरेर थालिएको यस प्रकाशनको यात्रामा क्रमशः पारिवारिक डाइजेस्ट साधना, सन्ध्याकालीन दैनिक महानगर र राष्ट्रिय दैनिक नेपाल समाचारपत्र प्रकाशित गरेर र न्युज अफ नेपाल डटकम चलाएर मुलुकमा संस्थागत रूपमा पत्रकारिताको विकासमा यस प्रकाशनले भूमिका खेलेको हामी यस सन्दर्भमा श्रद्धेय पाठकलाई स्मरण गराउन चाहन्छौं।

नेपाली मिडियामा सिर्जनात्मक प्रयोग र यसको संस्थागत तथा व्यावसायिक प्रवद्र्धनमा कामना प्रकाशनले आफूलाई समर्पित गरेको पनि अनुरोध गर्दछौं। वार्षिकोत्सवमा सम्बन्धमा हामीले निवेदन गर्नुपर्ने अर्को सन्दर्भ हो, हाम्रा हरेक प्रकाशन प्रस्ट उद्देश्यका साथ पाठकको सेवामा आएका छन्।

अभिव्यक्तिको स्वतन्त्रता नभएको पञ्चायतकालीन अवस्थामा व्यावसायिक पत्रकारिताको विकासका लागि संस्थागतरूपले पहल गर्नु आवश्यक थियो, त्यसैले नेपाली चलचित्र र कला क्षेत्रमा समर्पित हुने गरी कामना मासिक शुरू गरिएको हो।

यस संस्थाका परिकल्पनाकार तथा संस्थापक पुष्करलाल श्रेष्ठ अहिले हामीसँग हुनुहुन्न, तर उहाँले नेपाली पत्रकारितालाई व्यावसायिक स्वरूप प्रदान गर्न खेलेको भूमिका र देखाएको बाटो हामीसँग छ।वार्षिकोत्सवका सन्दर्भमा पनि राष्ट्रिय मुद्दालाई नै उठाउनुपर्छ भनेर सिकाउने पनि श्रद्धेय श्रेष्ठ नै हुनुहुन्थ्यो।

त्यसैले आज हामी नेपाल भ्रमण वर्ष–२०२० को उच्च सफलताको कामना गर्दै ‘पहिला देश अनि विदेश’ लिएर हाजिर भएका छौं। यो विशेषांक प्रकाशित गरिरहँदा हामीलाई अमेरिकी राष्ट्रपति जन एफ केनेडीको त्यो लोकप्रिय अभिव्यक्ति स्मरण भइरहेछ, जसमा भनिएको छ– ‘देशले तिमीलाई के गर्न सक्छ भनेर नसोध, बरु देशलाई तिमीले के गर्न सक्छौं त्यो सोध।’

सरकारले भ्रमण वर्षका लागि के–के गरिरहेको छ, त्यो नसोचौं, हरेक नेपालीले आफ्नो तर्फबाट के गर्न सकिन्छ, त्यो सोचौं। पर्यटन वर्ष मनाउने अवधारणा सरकारको मात्र होइन, राष्ट्रको हो, त्यसैले यस मिसनलाई हरेक नेपालीले आफ्नो मिसन बनाउनुपर्छ। यस विशेषांको प्रकाशनका क्रममा विभिन्न सरोकारवालासँग कुराकानी गर्दा ‘अतिथि देवो भवः’ को मूल मन्त्रको मर्मका विषयमा जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको धारणा प्रकट भएको छ।

आज २० लाख पर्यटक ल्याउने मात्र होइन, आएका पर्यटक सद्भावना राजदूत बनेर घर पर्किने अवस्थाको पनि सिर्जना गर्नुपर्छ, जसले गर्दा कम्तीमा उनीहरूले अरू २० लाख पर्यटक नेपाल पठाउन्। यसका लागि पर्यटकलाई सेवा पुर्याउने होटेल, ट्रेकिङलगायतका क्षेत्रका व्यक्तिलाई पनि तालिम दिनु आवश्यक देखिन्छ।

कामना प्रकाशनको यस धारणाप्रति श्रद्धेय पाठक, वितरक, विज्ञापनदाता र तमाम शुभचिन्तकको ऐक्यबद्धता रहने विश्वास प्रकट गर्दै सदाझैं न्यानो सुझाव र आशिर्वादका लागि प्रार्थना गर्दछौं।

पर्यटनलाई मुलुकको समृद्धिको आधार बनाउने र लाखौं पाठक तथा कामना प्रकाशनबीचको न्यानो सम्बन्ध अझ प्रगाढ पार्ने कार्य आगामी दिनमा अझ सफल बनोस् !

           दिरेकलाल श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक
कामना न्यूज पब्लिकेसन्स्

प्रतिक्रिया दिनुहोस्