जापानी प्रधानमन्त्री मन्दबुद्धि, राजनीतिक कद नभएकाे नेताः उत्तर कोरिया



उत्तर कोरिया ।

उत्तर कोरियाले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई ‘मन्दबुद्धि,  राजनीतिक कद नभएका नेता’ को सङ्ज्ञा दिँदै उनले आफ्नो अस्त्र परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ।

बिहीवार गरिएको परीक्षणपछि आबेले उत्तर कोरियाले बारम्बार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको भन्दै निन्दा गरेका थिए।

उत्तर कोरियाले एकैचोटि एउटाभन्दा बढी रकेट प्रहार गर्न सक्ने ‘सुपर लार्ज मल्टिपल रकेट लन्चरू’ को परीक्षण गरिएको दाबी गरेको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जापानले ‘वास्तविक बलिस्टिक क्षेप्यास्त्र निकट भविष्यमै देख्न पाउने’ भन्दै शनिवार धम्कीपूर्ण टिप्पणी गरेको छ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।

उत्तर कोरियाले त्यसबाहेक क्षेप्यास्त्र र परमाणु कार्यक्रमसम्बन्धी अनेकौँ प्रतिबन्धहरूको सामना गरिरहेको छ।

जापानको एउटा प्रमुख साझेदार रहेको संयुक्त राज्य अमेरिकासँगको वार्तामा ती प्रतिबन्धहरू हटाउनुपर्ने विषय उत्तर कोरियाको एउटा प्रमुख मुद्दा बन्दै आएको छ।

गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच आयोजित शिखर बैठक विफल भएको थियो। त्यसपछि देशबीच वार्ता हुन सकेको छैन।

दक्षिण कोरियामा रहेका पर्यवेक्षकहरूका अनुसार उत्तरले दुई अज्ञात अस्त्र दक्षिण हाम्ग्योङ प्रान्तबाट बिहीवार सी अफ जापानतर्फ प्रहार गरेको थियो।

त्यसलगत्तै आबेले उत्तरले निरन्तर बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको भन्दै ती आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रीय समुदायका लागि पनि गम्भीर चुनौती भएको टिप्पणी गरेका थिए।

उसले निकट भविष्यमै आबेले आफ्नै अगाडि बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको देख्ने चेतावनी पनि दिएको छ।

गत फेब्रुअरीमा भियतनामा भएको शीर्ष वार्ता भङ्ग भएपछि उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संवादमा खासै प्रगति भएको छैन।

ट्रम्प र किमबीच दुई कोरियाको सीमा छुट्याउने गैरसैनिक क्षेत्रमा जुनमा भेटवार्ता भएको थियो र पुनस् आफ्ना निकायहरूमार्फत् संवाद अघि बढाउने सहमति भएको थियो।

अक्टोबर महिनामा कुराकानी सुरु भए पनि खासै प्रगति हुन सकेको छैन।

उत्तर कोरियाले अमेरिकाले यस वर्षको अन्त्यसम्म आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने माग राखेको छ।

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत् किमसँग अर्को वार्ता गर्ने इच्छा प्रकट गरेको भए पनि उत्तरले त्यसप्रति खासै रुचि देखाएको छैन।

आबेले जुन महिनामा आफू कुनै सर्तबिनै किमसँग कुरा गर्न तयार रहेको बताएका थिए।

बिबिसि

प्रतिक्रिया दिनुहोस्