गाउँपालिकाले कृषिजन्य उत्पादनमा कर नलिने



बुद्ध नेपाली, सिन्धुली। 

तीनपाटन गाउँपालिकाले कृषि उत्पादनको निर्यातमा लिँदै आएको कर यस वर्षदेखि नलिने भएको छ। स्थानीय तहहरूले कृषि उत्पादनमा समेत कर लगाएर जनताबाट अलोचित भइरहेको अवस्थामा तीनपाटन गाउँपालिकाले भने चालू आर्थिक वर्षदेखि गाउँपालिकाभित्र उत्पादन भई बाहिर निर्यात हुने कृषिजन्य सामाग्रीहरूको कुनै पनि कर नलिने निर्णय गरेको हो।

गाउँकार्यपालिकाको बैठकले वडा कार्यालयबाट दिइने सिफारिस सेवाको शुल्कबाहेक कृषि उत्पादन निर्यातमा अन्य कुनै पनि प्रकारको कर नलिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताउनुभयो।

गाउँपालिकाले यसअघि अदुवा, अलैंची, बेसार, तरकारी, फलफुललगायत गाउँपालिकाको उत्पादन बाहिर निर्यात हुने कृषि उत्पादनमा प्रतिकिलो १ रुपियाँका दरले कर लिँदै आएको थियो। कृषि उत्पादनमा कर लगाउँदा कृषकलाई मर्का परेको र मूल्य बढ्दा बाहिरबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेपछि कर नलगाउने निणर्य गरिएको अध्यक्ष थापाले बताउनुभयो।

‘कृषक श्रमिक हुन, उहाँले भन्नुभयो– ‘उनीहरूले उत्पादन गरेको वस्तुमा कर लगाउँदा उत्पादन महँगो हुने र बाहिरबाट आयात हुने कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भई कृषक नै निराश हुने अवस्था आउन थालेपछि कृषि उत्पादनमा कर लगाउने विषयमा गाउँपालिका पछि हटेको हो।’

गाउँपालिकाले कर लगाउँदा कृषकलाई मर्का परेको गुनासो बढेपछि यस वर्ष कृषि उत्पादनमा निकासी तथा पैठारीमा कर नलिने भएको हो। तीनपाटन गाउँपालिकामा अदुवा, बेसार, लौठ सल्लो, धान, मकै, कोदो, किवीलगायतका कृषिजन्य सामाग्रीहरू बढीमात्रामा उत्पादन भई निर्यात हुँदै आएको छ।

गत आर्थिक वर्षमा गाउँपालिकाले निकासी कर तथा ढुंगा, गिट्टी, बालुवालगायतका वस्तुमा कर लगाएको थियो।यस वर्ष कृषिमा निकासी कर नलगाईने तर ढुंगा, गिट्टी, बालुवामा भने निकासी कर लगाइने अध्यक्ष थापाको भनाइ छ।

गाउँपालिकाले गत आर्थिक वर्षमा अलैंची तथा अदुवा निकासी शीर्षकमा मात्रै करिब १४ लाख रुपियाँ कर संकलन गरेको थियो। एक वर्षमा गाउँपालिकाले विभिन्न शीर्षकमा ४०/५० लाख रुपैयाँ आन्तरिक कर संकलन गरेको अध्यक्ष थापाले बताउनुभयो। 

गाउँपालिकाका सबै वडामा अदुवा खेती हुने गरेको र वडा नम्बर ८ र ७ मा अलैंची खेती हुने गरेकोले यी खेतीलाई व्यवस्थित गर्न सके गाउँपालिकालाई प्रयाप्त आम्दानी हुन सक्ने अध्यक्ष थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्