महासेठ र मातृका मधेस झर्दा आएको तरंग



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा दुई दृष्टिले हेरिन्छ। प्रधानमन्त्रीसमेत रहेका ओलीलाई मधेस विरोधीको रुपमा अझै व्याख्या गरिन्छ भने प्रचण्डलाई मधेसलाई प्रेम गर्ने नेताको रुपमा लिइन्छ।

उसो त बेला–बेला मधेस झर्दा दाहालले भन्ने गरेका छन्, ‘मेरो मधेससँग लभ परेको छ।’ तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली निकट रघुवीर महासेठ र नेकपाका अर्का अध्यक्ष प्रचण्ड निकट मातृका यादव मन्त्री परिषद्बाट गलहत्याइँदा मधेसमा अहिले चर्चाको विषय बनेको छ।

यो भन्दा झन् चर्चाको विषय यति बेला के बनेको छ भने, महासेठ र मातृका दुवै अहिले मधेस झरेका छन्। उनीहरू मधेस झरेसँगै आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय पनि बनेका छन्।

यसअघि छठका बेला पनि दुवै नेता झरेका थिए मधेस। दुवैले शुभकामना आदानप्रदानका नाममा शक्ति प्रदर्शन मात्रै गरेनन्, मातृका समूहको शुभकामना आदानप्रदान कार्यक्रमहरूमा सहभागी बनेका नेकपा नेता रामचन्द्र झाले महासेठले मन्त्री बनेयता ठूलो भ्रष्टाचार गरेर नेकपा सरकारकै बदनाम गरेको भन्दै तत्काल मन्त्री पदबाट महासेठलाई बर्खास्त गरेर जेल नै हाल्नुपर्नेसम्मका अभिव्यक्तिसमेत प्रशस्त दिए।

उद्योगपति उपेन्द्र महतोका सहोदर ज्वाइँसमेत रहेका महासेठ पनि के कम ? उनले पनि धनुषाको तारापटीमा छठको अवसर पारेर विशाल शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर शक्ति प्रदर्शन गरे।

रामचन्द्र झाले भनेझैँ महासेठ मात्रै बर्खास्त भएनन् मातृका पनि बर्खास्त भए। दुवैलाई मन्त्रीबाट बर्खास्त गरेपछि तरंगित बनेको मधेस दुवै मधेस झर्दा झन् तरंगित बनेको छ।

– सुरेन्द्र चौधरी, सिराहा।

प्रतिक्रिया दिनुहोस्