दुर्घटना न्यूनीकरणमा ध्यान पुगेन



जनघनत्व र त्यही अनुपातमा थपिएका सवारीसाधनको चापसँगै पछिल्लो समय सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको पाइएको छ। केही समययता सडक तथा बाटो सहज बन्दै गए पनि दुर्घटना र मृत्यु हुनेको संख्या भने बढ्दो छ।

देशभर सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षको तथ्यांक हेर्ने हो भने सो अवधिमा १० हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन्। सरकारी तथ्यांकअनुसार हरेक वर्ष २ हजारभन्दा बढी जनाको क्षति सडक दुर्घटनाबाटै हुने गरेको छ। यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा झन्डै दुई गुणा बढी हो।

मुलुकभर प्राकृतिक विपत्तिबाट वार्षिक औसत ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्। मानवनिर्मित संयन्त्रबाट हुने सडक दुर्घटना प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा पनि बढी हुनु भयावह स्थिति हो।

देशभर बढ्दो दुर्घटनालाई विश्लेषण गर्दा हाम्रा सडक तथा राजमार्गहरू सधैँ असुरक्षित नै रहेको महसुस हुन्छ। दुर्घटनालाई आकस्मिक भवितव्य मानिए पनि यस्तो दुःखद संयोगका पछाडि केही कारण हुने भएकाले त्यसको खोजी गर्नुपर्छ।

दुर्घटनाका जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले बेला–बेलामा अभियान सञ्चालन गर्दै आएको छ। तर दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको मात्रै दायित्व होइन। यसमा चालक, यात्रु, पैदलयात्री, यातायात व्यवसायीलगायत दुर्घटनासँग सम्बन्धित पक्षले सावधानी अपनाउनै पर्छ।

– रविन पाठक, बुटवल।

प्रतिक्रिया दिनुहोस्