सहँदैनौं अत्याचार



प्रज्वल घिमिरे

सरकारले पहेंलो धातु ल्याउनेलाई कारबाही गरेछ
माउ बाहिरै छ भित्र चल्ला परेछ
ठूलाबडा माउरीले दिने मह खाई भए मालामाल
हामीले नि खान पाइएला भन्या त छोडे अरिङ्गाल

दुईतिहाइ ल्याउनेले फकाएर नेपालीको मन हरेछ
लौरो बिर्सने उद्देश्य लिई खोला तरेछ
धेरै बोलेर चारैतिर आश्वासनको बीउ छरेछ
चामल भनेर सबैले खाए तर पीठो परेछ

एउटा चप्पल लगाएर गाउँबाट शहर झरेछ
पजेरो देखेर छक्कै परेछ
अनि छाप्रोबाट महलमा डेरा सरेछ
त्यसपछि अन्धकारमा रोशनी देखेर भुतुक्कै परेछ
विचरा माया गर्न खोज्दाखेरि जेल परेछ

अर्कोले चाहिँ निर्दोषको गाला चड्काएछ
इँटाभट्टामा मान्छे मार्न बम पड्काएछ
तैपनि मानेनछ कुनै हार
अझ धम्की दिएछ बाटोमा सँगै लानेलाई जाँदा कारागार

ठूला मान्छे यस्तो भएपछि
सुखी नेपाली समृद्ध नेपालको भूमिमा पनि पर्यो संकट
पहिलेदेखि लागेको थियो नियतमा शंका
कहिले कास्मिर खान्छ कहिले खान खोज्छ श्रीलंका

नेपालको भू–भागलाई पनि भयो ठूलो हानि
दक्षिणले हडप्यो लिम्पियाधुरा, लिपुलेक अनि कालापानी
सिधासादा नेपालीलाई पर्यो ठूलो मार
साँचेर राखेका छौं हामीले वीर पुर्खाको नासो खुकुरीको धार
माटोका लागि मर्छौं तर सहँदैनौं अत्याचार

प्रतिक्रिया दिनुहोस्