“दर्शनावली” को छैटौं भाग प्रकाशित



प्रत्येक विषय वा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण नै दर्शन भएको हुनाले मानवजीवनका लागि गन्तव्य पहिल्याउन र लक्ष्यमा पुग्न दर्शनको अपरिहार्य भूमिका हुन्छ। यसै कुरालाई आत्मसात् गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानबाट वार्षिकरूपमा दर्शनशास्त्रसम्बन्धी प्रकाशित हुँदै आएको ग्रन्थ ‘दर्शनावली’ को भाग–६ बजारमा आएको छ।

प्रतिष्ठानको दर्शनशास्त्र विभागको संयोजनमा प्रकाशित हुने ‘दर्शनावली’ मा विविध नेपाली दर्शनका बारेमा विद्वान्हरूले लेखेका महत्वपूर्ण लेखहरू समावेश गर्ने गरिन्छ।

दर्शनशास्त्र विभागका प्रमुख एवं सदस्य–सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ र विष्णु प्रभातद्वारा सम्पादित उक्त ग्रन्थ ‘दर्शनावली’ को भाग–६ मा नेपाली दर्शनको परिचय, संस्कार रूपान्तरणको आवश्यकता र चुनौती, दर्शन र शिक्षा, प्रकृतिपूजक बोन दर्शन, मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंहको योगदान, साङ्ख्य, वेदान्त, मीमांसा, वैशेषिक, न्याय, बौद्धलगायत विभिन्न दर्शनसँग सम्बद्ध २० ओटा आलेख समावेश गरिएको छ।

३ सय १२ पृष्ठको उक्त पुस्तकको मूल्य ३ सय ३० रुपियाँ रहेको छ। पुस्तक प्रज्ञाको पुस्तक प्रदर्शनीमा आकर्षक छुटका साथ बिक्री भइरहेको पुस्तक प्रदर्शनी सहव्यवस्थापक महेश्वर थापा मगरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्