लागूऔषध कारोबारीलाई आतंककारीको दर्जा !



वासिंगट, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबदेखि मेक्सिकन लागूऔषध ओसारपसार समूहहरुलाई सरकारले कानुनी रुपमै आतंककारीको दर्जा दिने जनाएका छन्। यस कदमपछि अमेरिकालाई तिनीहरुको सफायाका लागि अघि बढ्न सजिलो हुने अनुमान गरिएको छ।

ट्रम्पले मेक्सिको सरकारलाई अब अमेरिका तिनीहरुलाई समाप्त पार्न तयार रहेको पनि बताइसकेका छन्। यसप्रति प्रतिक्रिया दिने क्रममा मेक्सिकोका विदेशमन्त्रीले आफ्नो मुलुकले राष्ट्रिय सार्वभौमको उल्लंघन हुन नदिने स्पष्ट पारेका छन्।

यसै महिनाको शुरुमा मेक्सिको अमेरिकी नागरिकमाथि घातक हमला भएपछि ट्रम्पले लागूऔषध समूहविरुद्ध युद्ध गरिने बताएका थिए।अमेरिका र मेक्सिकोको दोहोरो नागरिकता लिएका मोर्मोन्स जातिका तीन जना महिला र छ जना बालबालिकामाथि अज्ञात लागूऔषध तश्कर समूहले आक्रमण गरी हत्या गरेको थियो।

गत ४ नोभेम्बरमा उत्तरी मेक्सिकोको एक विकट क्षेत्रबाट यात्रा गरिरहेका तिनीहरुमाथि आक्रमण गर्नुका साथै तिनीहरु चढेको सवारी साधन पनि जलाइएको थियो। तर मेक्सिकोका सरकारी अधिकारीहरुले भने पहिचानको गल्तीका कारण सो आक्रमण हुन पुगेको अनुमान गरेका थिए।

अवैध रुपमा मेक्सिकोबाट आप्रवासीको प्रवेशका कारण अमेरिकामा लागूऔषधको कारोबार, चोरी, हिंसा र अपहरणजस्ता अपराध बढ्न थालेको भन्दै आफ्नो चुनाव प्रचारप्रसारका क्रममै ट्रम्पले मेक्सिको सीमा क्षेत्रमा अग्लो पर्खाल निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्