पाटन विमानस्थल कालोपत्रे हुन सकेन



नेपाल समाचारपत्र, बैतडी। 

बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन्। २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्य लिई निर्माण कार्य शुरू गरिएको भए पनि विमानस्थल अझै कालोपत्रे हुन सकेको छैन्। तोकेको समय भन्दा १६ महिना बितिसक्दा पनि विमानस्थल कालोपत्रे भएको छैन।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर पिच मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो।

निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको र अब कालोपत्रे गर्ने मेसिन जडान भइसकेकाले यो महिनाभित्र विमानस्थल कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको इन्जिनियर रावलले बताउनुभयो।

ठेक्का भइसकेपछि विविध कारणले काम समयमै शुरू नहुँदा पनि समस्या भएको उहाँले बताउनुभयो। पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ।

विमानस्थलाई कालोपत्रे गर्ने कार्य बेस, सब–बेस र ड्रेनको सबै काम सकिएको नागरिक उडड्यन प्राधिकरणले बैतडीले जनाएको छ। पाटन विमानस्थलमा ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ। यसका लागि करिब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ।

विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिने भएपछि स्थानीयवासी भने निराश भएका छन्। पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरू भएर २०३५ सालदेखि हवाई सेवा शुरू भएको थियो। २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो।

त्यतिबेला पहाडी जिल्लाहरूमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो।

पाटन विमानस्थल सुचारु भएमा दार्चुलाको अपी हिमाल, बझाङको सैपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरू भिœयाउन सजिलो हुने स्थानीयवासी लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्