कृषिमा आवश्यक जनशक्ति अपुग



मोतीराम तिमल्सिना, काभ्रे। 

राष्ट्रिय आर्थिक गणनामा औधोगिक उत्पादन क्रियाकलापमा प्रदेश नम्बर ३ मा काभ्रे उत्कृष्ट देखिएको छ। प्रतिष्ठान संख्या, संलग्न जनशक्ति र उत्पादनका हिसाबले प्रदेश ३ नेपालमै अग्रस्थानमा रहेको छ भने काभ्रेपलाञ्चोक जिल्ला हरेक क्षेत्रमा सशक्त देखिएको छ। तर कृषिमा जनशक्ति अपुग देखिएको छ।

आर्थिक गणनाले मुलुकको विकास तथा योगदानका हिसाबले वित्तीय, शिक्षा, थोक तथा खुद्रा व्यापार, मोटर पार्टस, आवास निर्माण तथा होटल व्यवसाय, खानी तथा उत्खननलगायतका क्षेत्रले बेरोजगार जनशक्तिलाई रोजगार मात्रै उपलब्ध गराएको छैन मुलुकबाट बाहिरिने अरबौं रुपियाँ रोक्न सहयोग पुर्याएको छ।

युवाहरू विदेशिनबाट रोक्न प्रतिष्ठानहरू मियो बनेर सशक्त बनिरहेका छन्। कृषि प्रधान देश नेपालमा सरकारले आकर्षक कार्यक्रम ल्याए पनि कार्यान्वयन हुन नसक्दा जनशक्ति क्रियाशिल हुन सकेको छैन। कृषिमा भन्दा जागिरमा युवाहरूको आर्कषण देखिएको छ।

काभ्रेमा कृषि प्रतिष्ठानअन्र्तगत कार्यरत जनशक्तिको संख्या २ हजार २ सय ४८ मात्रै छ। यो तथ्यांकले पनि के देखाउँछ भने मुलुकको विकासमा कृषि क्षेत्रमा ठुलो जनशक्तिको आर्कषण भन्दा विकर्षण छ। कृषिमा गरिने विभिन्न परियोजना, अनुदान कृषकमुखी नभएको यो तथ्यांकले देखाउँछ।

आर्थिक गणनाअनुसार कृषि, वन तथा माछापालन व्यवसाय देशभरका प्रदेशहरूमा २ दशमलव ६२ प्रतिशत रहेको छ भने प्रदेश नम्बर ३ मा २ दशमलव ४ प्रतिशत रहेको छ। ६ हजार ९ सय २६ प्रतिष्ठानमध्ये ७ सय ३६ काभ्रे जिल्लामा रहेका छन्।

जसमा २ हजार २ सय ४८ जनशक्ति कार्यरत छन। प्रतिशतका हिसाबले प्रदेश ३ मा ३ दशमलव ६ प्रतिशत रहेको छ भने काभ्रेपलाञ्चोक जिल्लामा ४ दशमलव १ प्रतिशत जनशक्ति कार्यरत रहेको छ। यो अन्य प्रतिष्ठानको भन्दा कम जनशक्ति खपत गर्ने क्षेत्रका रूपमा देखिएको छ।

खानी तथा उत्खनन, विद्युत, ग्याँस, वाफ तथा वातानुकुलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप र निर्माणमा प्रदेश नम्बर ३ मा ० दशमलव ५ प्रतिशत रहेको छ भने जिल्लामा १ दशमलव २ प्रतिशत रहेको छ। २ हजार १ सय २१ प्रतिष्ठानमा काभ्रेपलाञ्चोक जिल्लामा १ सय ६९ प्रतिष्ठान रहेका छन्। जनशक्तिका हिसाबले प्रदेश ३ मा २८ हजार ९ सय ४३ मध्ये जिल्लामा १ हजार २ सय ७१ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्