‘मकवानपुरको कर्णाली’मा पहिलो एम्बुलेन्स



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुरको चेपाङबहुल विकट राक्सिराङ गाउँपालिकामा पहिलो पटक एम्बुलेन्स सेवा शुरू हुने भएको छ। प्रदेश–३ सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो। मकवानपुरको कर्णालीका रूपमा रहेको राक्सिराङ गाउँपालिकामा चेपाङ तथा तामाङ जातिको बाहुल्यता छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो– ‘प्रदेश सरकारले उपलब्ध गराएको १६ लाख रुपियाँमा एम्बुलेन्स खरिद गरेका हौं,’ उहाँले भन्नुभयो– ‘अब डोकोमा बिरामी बोकेर मनहरिसम्म पुर्याउनुपर्ने अवस्था अन्त्य हुनेछ, गम्भीर बिरामीको अकालमै मृत्यु हुने अबस्था अब हट्नेछ।’

एम्बुलेन्स सञ्चालनका लागि व्यवस्थापन समिति गठनसँगै कार्यविधि बनाएर अघि बढ्ने उहाँले जानकारी दिनुभयो। स्थानीयलाई सहज हुने गरी भाडादर निर्धारणको योजना रहेको अध्यक्ष मल्लले बताउनुभयो।

जीपीएक्स प्रणालीसहित एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको उहाँले भन्नुभयो।राक्सिराङ गाउँपालिकामा एम्बुलेन्स नहुँदा समस्या भएको भन्दै अध्यक्ष मल्लले प्रदेश सरकारसमक्ष समस्या राख्दै आउनुभएको थियो।

राक्सिराङमा करिब ३० हजार जनसंख्या छ। भौतिक विकटता एवम् शिक्षाको कमी रहेको राक्सिराङका बासिन्दा बिरामी हुँदा डोको वा स्टे«चरमा बोकेर मनहरिसम्म पुर्याउनुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्