गैरा बजार तनावग्रस्त, दर्जनौं गाडी र यात्रु अलपत्र



नेपाल समाचारपत्र, डोटी। 

प्रहरीले नियन्त्रणमा लिएको मान्छे कुटेर मारेको आरोप लगाउँदै स्थानीयवासीले अवरोध गर्दा गैरा बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्तले सडकमा टायर बालेर यातायात अवरोध गरेका छन्। उनीहरूको अवरोधका कारण गैरा बजारमा पहाडी जिल्लाबाट तराई जाने आउने दजर्नौ यातयातका साधन तथा सयौं यात्रुहरू अलपत्रमा परेका छन्।

मादक सेवन गरी गाडी छेकेको आरोपमा घण्टेश्वर प्रहरीले जोरायल गाउँपालिका–१ गैरा बस्ने २१ वर्षीय जीप चालक गणेश पालीलाई आइतबार नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा रहेका मृतक पाली शैचालय गएको बेला नाम नखुलेको औषधी सेवन गरेपछि उनलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दिलिपसिंह देउवाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘प्रहरीले गणेशलाई मार्नुपर्ने कुनै कारण छैन, उनि आफ्नै कारणले मरेका हुन्, उनको पोस्टमार्टम रिपोर्टबाट सबै प्रमाणित हुनेछ।’ उता मृतका बुबा तेजबहादुर पालीले सो प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शंकर खड्का र दीपक सामन्तको कुटाइबाट छोराको मृत्यु भएको आरोप लगाउनुभएको छ।

‘प्रहरीको कुटाइबाट मेरो छोराको मृत्यु भएको हो, मृतक पालीका बुबाले भन्नुभयो– ‘दोषीलाई कारबाही हुनुपर्छ, र हामीले न्याय पाउनुपर्छ।’पालीको मृत्युको कारण पत्ता लगाउन डोटी प्रहरीले छानबिन समिति गठन गरेको छ। मृतकका घरपरिवारले प्रहरीको कुटाइबाट गणेशको मृत्यु भएको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त समितिमा प्रहरी निरीक्षक कर्णबहादुर बोहरा, मुद्दाफाँटका प्रहरी नायब निरीक्षक देबहादुर कुँवर तथा राष्ट्रिय अनुसन्धानका अनुसान्धान सहायक शेरबहादुर बोगटी रहनुभएको छ।

मारेको आरोप लागेका प्रहरी जवानहरू खड्का र सामन्तका विरुद्ध मंगलवार मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी दिएका छन्। मृतक पालीले कुन औषधी तथा के कति कारणले खाएका हुन भन्ने विषयमा प्रहरीले केही बताएको छैन्।

पालीको सब पोस्टमाटमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा राखिएको छ। मृतकका आफन्तहरू पोस्टमाटमका लागि अस्पताल नगएका कारण पालीको पोस्टमाटम हुन नसकेको चिकित्सकले बताएका छन्।

गैरा बजारमा तनाव शुरू भएपछि अहिले उक्त क्षेत्रमा शान्तिसुरक्षा कायम गर्नकालागि इलाका प्रहरी कार्यालय बुडरबाट प्रहरी नायब निरीक्षक कर्णबहादर रौलेको नेतृत्वमा थप प्रहरी टोली त्यसतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। किटानी जाहेरी दिएका प्रहरी जवानविरुद्ध कारबाही नगरिए बिहिबारदेखि अनिश्चितकालीन डोटी बन्द गर्ने मृतकका आफन्तले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्