देउवाको जिम्मेवारी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो पटक सार्वजनिकरूपमा सरकारलाई लक्षित गरी व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर अहिले विभिन्नखाले टीका–टिप्पणीले बजार तातेको छ ।

भारतीय सरकारले केहीअघि जारी गरेको नयाँं नक्सामा नेपाली भूमिलाई भारतीय भूमि भएको दाबी गरेपछि चौतर्फीरूपमा विरोध भइरहेको बेला सभापति देउवाले भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको सहमतिमा नक्सा जारी गरेको भन्दै अभिव्यक्ति दिनुभयो

। तर, उहाँको अभिव्यक्तिमाथि सत्तारूढ दलका नेताले मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले समेत आपत्ति प्रकट गरे । नेपाली नेताहरूमाथि जनताले अविश्वास र शंकाको घेरामा राखिरहेको बेला देउवाले जगत् हँसाउने खालको अभिव्यक्ति दिएको टिप्पणीकर्ताहरूको भनाइ देखिन्छ ।

पटक–पटक मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिबाट उक्त अभिव्यक्ति आउनु र सोही दलका नेताहरूले समेत गलत बोलेको भन्दै सच्याउन दबाब दिनुले उहांँको अभिव्यक्तिलाई चुनावी फण्डा मात्र होइन मुलुकको सार्वभौमिकतामाथि नै खेलवाड गरेको भन्ने विश्लेषण पनि बाहिर आएको छ ।

नेपाली कांग्रेसजस्तो लोकतन्त्र र राष्ट्रियतालाई मूल नारा बनाउँदै बारम्बार आन्दोलनमा सरिक भएको राजनीतिक दलको नेतृत्वबाट व्यक्त हुने धारणाले मुलुकलाई नै असर पार्छ, स्वयं नेकाप्रतिको जनविश्वासमा पनि प्रभाव पर्छ ।

यो कसैका लागि पनि सुखद पक्ष होइन । एउटा जिम्मेवार नेताबाट मुलुकको संवेदनशील विषयलाई सरकारको उछित्तो काड्ने नाममा गलत सन्देश प्रवाह गर्नखोज्नु चिन्ताको विषय हो ।

सत्तारूढ दलका नेताहरूले सभापति देउवाको भनाइलाई ‘धतुरो’ खाएर बोलेको भन्नेसम्मको आक्षेप लगाउँदासमेत त्यही अभिव्यक्ति ठाउँ–ठाउँंमा गएर व्यक्त गर्नु आश्चर्यको विषय हो । यस अवस्थामा देउवाले कि त ठोस प्रमाण दिएर सार्वजनिक हुनसक्नुपर्छ कि त सार्वजनिकरूपमै बोली फिर्ता लिनुपर्छ ।

नेपालको भूमि सुरक्षित गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन सरकारलाई सहयोग गर्ने औपचारिक निर्णय गर्ने, अनि भाषणमा त्यही सरकारका प्रमुखको तीव्र आलोचना गर्ने कार्य आम नागरिकलाई पनि चकित बनाउन पर्याप्त छ ।

कुनै पनि सरकार प्रमुखले राष्ट्रियताका विषयमा त्यतिसम्मको तुच्छ काम गर्दछ भन्ने विश्वास कसैले गर्दैन । चुनावमा मतदातालाई आकर्षित गर्ने अन्य उपायहरू अवलम्बन नगरी राष्ट्रियताको विषयलाई हल्कारूपमा प्रस्तुत गर्ने सभापति देउवाको शैलीलाई कदापि ठीक हो भन्न सकिँदैन ।

यदि नेपाल सरकारले भारतलाई नेपाली भूमि भारतमा पार्दा कुनै दाबी विरोध नगर्ने सहमति गरेको भए त्यसको दस्तावेज सभापति देउवाले सार्वजनिक गर्न सक्नुपर्दछ होइन भने हावादारी भाषण गरेर जनतालाई दिग्भ्रमित पार्ने अधिकार उहाँलाई छैन ।

उहाँंले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सक्नुपर्दछ । होइन भने यस्ता खालको अभिव्यक्तिले मुलुक कता जान्छ सभापति देउवाले त्यसको जिम्मेवारी लिनुपर्छ ।

जे बोले पनि जनताको कठघरामा उभिनुपर्दैन भन्ने सभापति देउवाको मानसिकता हो भने उहांँको राजनीतिक यात्रामा ठूलै ठेस लाग्नसक्छ । यस विषयमा उहाँं गम्भीर भएर आफूले आफैलाई समीक्षा गर्नुपर्छ ।

विगतमा उहाँबाट भएका प्रतिगमनकारी र अलोकतान्त्रिक व्यवहारकै कारण नेका इतिहासमै सर्वाधिक कमजोर बनेको छ, के अब पनि नचेत्ने ? जिम्मेवार कहिले बन्ने ?

प्रतिक्रिया दिनुहोस्