विदेश नजाऔं भन्यो, जानै पर्ने बाध्यता



स्वदेशमा मेहनतअनुसारको काम नपाएपछि युवावर्गहरूको रोजाइको स्थान विदेश हुने गरेको छ। लाखौं लगानी गर्दा पनि दैनिक घर खर्च चलाउने पैसा कमाउन मुस्किल हुन थालेपछि अहिले युवाहरू रोजगारी पाइने देश जानको लागि मेहनत गरिराखेका छन्।

स्वदेशमा काम नपाएर दैनिक १५ सयको हाराहारीमा विदेश जाने युवाहरू रहेका छन्। म त्यसमध्यको एक युवा हुँ स्याङ्जा घर, नाम नरेश वि.क.। म कतार जानको लागि सबै प्रक्रिया पूरा गरेर काठमाडौंबाट घर फर्कदै छु।

यहाँलगानीअनुसारको कमाइ हुन समस्या छ। मेहनत गरे पनि पसिनाअनुसारको कमाइ हुँदैन। त्यसैले सवारीचालकको भिसामा कतार जाँदै छु। केही वर्ष काम गरेर आएपछि परिवारको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने आशा पलाएको छ।

यहाँ चालकको पेसा गर्दै थिएँ। विद्यालयको बस चलाउँदै आएको थिएँ तर त्यसबाट राम्रो कमाइ गर्न सकिन। खानलाई नै धौ–धौ के गरेर यहाँ बस्ने ? मासिक २०–२५ हजारले अहिले परिवार पाल्न सकिँदैन।

सन्तान पढाउने, खाने, बिरामी भए उपचार गर्ने पैसा कहाँबाट ल्याउने ? यस्तो कमाइले जीवन चलाउन नसक्ने भएपछि विदेश जानुको विकल्प अरू छैन। श्रमअनुसारको काम यहाँ पाइँदैन। त्यसैले विदेश नै जानुपरेको छ। मैले यहीँ काम गरेँ तर मेहनत गरेअनुसारको पैसा कमाउन सकिन।

सानो गाडीमा काम गरेँ, मुस्किलले २० देखि २५ हजार कमाइ हुन्छ। त्यो कमाइले घरको परिवार पाल्न धौ–धौ।यो भएन भनेर अरूकाम गरेँ, त्यसबाट पनि कमाउन सकिन। घर परिवार पाल्नुपर्ने छ। कमाइ होला भनेर यहीँ कुरेँ तर भएन।

आफूले जानेको पेसा यही हो, अरू जानेको छैन, के गर्ने ? घरपरिवार पाल्नुपर्ने दायित्व आफैंले लिन केही गर्छु भन्दा पनि भएन। आफूले जानेको पेसा स्वदेशमा हैन विदेश गएर गर्छु भन्दै विदेश जानको लागि तयारी भएको छ। सब काम पूरा भएको छ। अब गइन्छ।

यहाँ भन्दा विदेशमा धेरै कमाइ हुन्छ। त्यसैले जान लागेको हो। ड्राइभरी पेसामा नै काम गर्नको लागि विदेश जाने हो। समयको बर्बाद पैसाको नाश सबै कुरा गुमाउनुभन्दा यहीँबाट काम पर्ने संस्था, पठाउने म्यानपावर, विधि प्रक्रिया पूरा गरेर विदेश गएमा कमाइ राम्रो हुन्छ। फ्री भिसा, फ्री टिकट भनेर लैजानेहरू पनि छन् तर उनीहरूले त्यसरी लैजाँदैनन्। त्यसैले म अरू दाजुभाइहरूलाई पनि सुझाउन चाहन्छु।

मेरो छिमेकी पनि विदेश गएको छ। उसले महिनाको ६० हजार कमाउँछ। यहाँ काम गरेर कसरी मासिक ६० हजार कमाउने ? काम खोज्दाखोज्दै वर्ष बित्छ, काम पाए पनि २० हजारका जागिरले के गर्ने ? त्यसैमा झुन्डिएर बस्दबस्दै बूढो भइन्छ।

कमाएर परिवार पाल्न, घर बनाउन विदेश नगई हुँदैन कल कारखाना खोल्ने, बजार भाउ नियन्त्रण गर्ने, सामाजिक सुरक्षाका योजनालाई तीव्र बनाउने, जनताको जीवनस्तरलाई सुनिश्चत गर्ने हो भने को जान्छ विदेश ? यहीँ बसिन्छ नि !

– नरेश वि.क., स्याङ्जा।

प्रतिक्रिया दिनुहोस्