जनताले रेडियो सुन्नै छाडिसके



अहिले जमना बदलिएको छ। पहिला रेडियो, टेलिभिजन नहुनेका घरमा अहिले वाइफाई र इन्टरनेट छ। त्यो भएपछि कुरै सकियो। विश्व नै एउटा हातमा। वि.सं. २००७ चैत्र २० गतेका दिन रेडियो नेपालको स्थापना गरियो। जसको स्थापक तारिणीप्रसाद कोइराला हुन्।

उनले नेपाली तथा हिन्दी कार्यक्रमका साथै हिन्दीमा समेत समाचार प्रसारण गर्न थालेका थिए। त्यस्तै रेडियो नेपाल ऐन २०१४ मा मात्र जारी भएसँगै प्रारम्भिक अवस्थामा २५० वाटको ट्रान्समिटरबाट दैनिक ४ घण्टा प्रसारण हुँदै आएको रेडियो वि.सं. २०२५ मा १२ घण्टा प्रसारण समय बढाइयो र परिवर्तित समयसँगै वि.सं. २०४१ सालबाट साढे १३ घण्टा प्रसारण हुन थालेको थियो।

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको रूपमा रेडियो सगरमाथाले वि.सं. २०५४ मा सञ्चालनको अनुमति पाएको थियो। पछिल्लो पटकमा विराटनगर, सुनसरी, रूपन्देही, नेपालगन्ज, कैलाली, झापा, चितवन, धनगढी, सुर्खेत जिल्लामा रेडियोको संख्यामा वृद्धि भएको पाइन्छ।

त्यसै गरी एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारिको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति इजाजत लिएसँगै वि.सं. २०७३ भदौ १ देखि २४ सै घण्टा प्रसारण हुन थाल्यो। जहाँ करिब ६५ वर्षको इतिहासमा रेडियोले दिने सन्देश अति महत्वपूर्ण भएको छ।

वास्तवमा भन्नुपर्दा नेपालमा एफएम रेडियोको संख्यामा वृद्धि हुँदै गएको छ। हालसम्म ६९७ वटा रेडियो सञ्चालन गर्ने इजाजतपत्र मिलिसकेको अवस्था छ। तर ५६३ चाहिँ अहिलेसम्म नियमित सञ्चालनमा आइरहेका छन्।

साँच्चै नै रेडियो त्यो माध्यम हो जसमा मानिसका दुःख–सुखमा हरपल साथी बनेको हुन्छ। किनकि समाजमा घटेका वास्तविक घटनाहरूको उजागर गर्दछ। यसले समाजमा जनचेतना जगाउनुका साथै समाज परिवर्तन र विकासको रूपमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

रेडियोमा प्रसारण हुने जुनसुकै कार्यक्रमले पनि समाजमा एक किसिमको सन्देश बोकेको हुन्छ र त्यसको उजागर पनि गरेको हुन्छ। कुनै पनि घटनाक्रम जस्ताको तस्तै सत्यतथ्यको खोज गरेको हुन्छ तर यो भन्न खोजेको होइन कि केवल रेडियो माध्यम मात्र सबै कुरामा सक्षम छ।

बदलिँदो समयसँगै टेलिभिजन, इन्टरनेट माध्यम पनि उत्तिकै सक्षम र सबल छ तर रेडियो त्यस्तो माध्यम हो जहाँ जे काम गर्दा पनि हरपल र हरक्षण साथ दिन्छ। रेडियोमा प्रसारण हुने कार्यक्रम शायदै टेलिभिजन अथवा इन्टरनेटले पनि त्यति सरल मिठासपन दिँदैन।

कारण बच्चादेखि वृद्ध उमेर समूहलाई लक्षित गरी कार्यक्रम प्रसारण गरिन्छ। किनकि रेडियोमा त्यो माधुर्यता छ, जुन श्रोतावर्ग सजिलै रेडियोप्रेमी बन्दछन्। आजभोलि त साहित्यक रचनाहरू पनि समयसँगै हराउँदै गएका छन्। किनकि प्रविधि र इन्टरनेट माध्यमले मानिस पनि परिवर्तित भएको अवस्था छ।

जहाँ इन्टरनेट पहुँच पुगिसकेको छ, त्यहाँ रेडियो माध्यम पनि बिस्तारै–बिस्तारै सुस्ताउन थालिसकेको छ। किनकि कहीँ–कतै घटना भइहाल्यो भने सबैभन्दा पहिले इन्टरनेटमा आएको हुन्छ, समाचार सम्बन्धित ठाउँमा नपुग्दै आज हरेक मानिसको मन मस्तिष्कमा खबर पुगेको हुन्छ।

समय वेगसँगै समाजमा धेरै किसिमका घटना दिन–प्रतिदिन भइरहेको अवस्था छ, जसले गर्दा हाम्रा नानीबाबुहरू, बालबालिकाहरूमा पनि त्यसै अनुरूपको नकारात्मक असर पुगिरहेकै छ।

आजकल पढाइमा भन्दा पनि मोबाइल, इन्टरनेट माध्यमले उनीहरूमा नकारात्मक विचार ल्याइदिन्छ। आजभोलि के बच्चा, के वृद्ध हरेकले इन्टरनेट प्रयोग गर्न थालिसकेका छन्। हो, समयसँगै परिवर्तित हुनुपर्छ।

हामीलाई जति बेला रेडियो माध्यमको आवश्यकता थियो, जसले हामीलाई हरपल हरक्षण साथ दियो। मेलापात गर्दा होस् वा उकाली–ओराली गर्दा, जहाँ जतिखेर पनि हितैको साथी बन्यो।

आज सुस्ताउँदै जाँदा गम्भीर चासोको विषय पनि बनेको छ। तसर्थ हामीले समयसँगै विचार परिवर्तन गरी सञ्चार क्षेत्रका हरेक माध्यमलाई सहर्ष स्वीकार गरेर विज्ञान र प्रविधिको सदुपयोग गरौं।

– सविता न्यौपाने,
नयाँ बजार, पोखरा।

प्रतिक्रिया दिनुहोस्