माछा माछाबाट सौगातको अपेक्षा



अभिनेता सौगात मल्ल १० महिनाको अन्तरालपछि अब माछा माछा नामक फिल्ममा देखिने भएका छन्। लगातार असफलताको सामना गरिरहेका अभिनेता मल्लले फिल्मबारे जानकारी दिन राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा माछा माछाबाट राम्रो अपेक्षा रहेको बताए।

आगामी मंसिर २० गते रिलिज हुने फिल्मको कथा र टिम राम्रो लागेकाले यसमा काम गरेको सौगातले बताए। ‘यो मैले पहिलेदेखि नै काम गरिरहेको टिम हो। त्यसमाथि फिल्मको कथा पनि राम्रो लागेकाले काम गर्दा एक खालको रमाइलो हुन्छ जस्तो लाग्यो र काम गरें।

१० महिना काम नगरे पनि मेरो ४ वटा जति फिल्म आउन बाँकी छन्। ती फिल्म कहिलेसम्म कुरेर बस्ने भनेर पनि माछा माछामा काम गरेको हुँ’, सौगातले भने– ‘एक समय यस्तो थियो कि मैले खेलेको फिल्म राम्रो मात्र हुनुपर्छ भन्ने थियो। तर त्यसरी हँुदैन रहेछ। काम कुनै राम्रा हुन्छन् कुनै नराम्रा हुन्छन्।

यस कारण सबै खालका फिल्ममा काम गर्नुपर्ने रहेछ। सबैभन्दा पहिला त आफू बाँच्न पर्यो अनि मात्र फिल्मका बाँच्ने भन्ने कुरा हुन्छ।’फिल्मका निर्देशक तथा लेखक सुनिल गुरुङले माछा माछाको कथा भूकम्पभन्दा अघि नै तयार भए पनि टिमको सल्लाहमा पुनः लेखर गरेर फिल्मको छायांकन शुरू गरिएको बताए।

‘मेरो डेब्यु डिरेक्सन भनेर सबै जनालाई मन पर्ने र फरक कहानीमा फिल्म बनाएको छु भन्ने होइन। सबैलाई मन नपरे पनि धेरैलाई मन पर्ने भए हुन्छ।’ –उनले भने। सुनिलले आफ्नो फिल्ममा समय नमिल्ला भन्ने डर रहे पनि कलाकारहरूले समय दिएकाले माछा माछा राम्रो बनेको बताए। ‘म आफूलाई लक्की मान्छु।

कलाकारले समय दिनुभएपछि मैले स्क्रिप्टमा राम्रो काम गर्न पाएको छु।’ –सुनिल भन्छन्। फिल्मकी नायिका नम्रता श्रेष्ठले आफूले सक्दो मेहनत गरेको बताइन्। ‘मलाई सबै फिल्ममा नयाँनयाँ क्यारेक्टर गर्न पाऊँ भन्ने लाग्छ। मैले गरेका फिल्ममा क्यारेक्टर रिपिट भएको छैन।

यो फिल्ममा पनि पहिले गरेको भन्दा फरक क्यारेक्टर छ।’ –नम्रताले सुनाइन्। फिल्मका निर्माता रामबाबु गुरुङले सुनिल निर्देशनमा आफूभन्दा कडा रहेको बताए। ‘उसको काम राम्रो लागेको कारण पहिलो फिल्म भए पनि म सुटिङमा त्यति गइनँ। स्क्रिप्टमा भने एक वर्षजति रिराइट गरेपछि काम शुरू गरेको हो।’ –उनले भने।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले निर्माण सहकार्य गरेको फिल्ममा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणि नेपाल, धु्रव कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभिनय गरेका छन्। रामबाबु गुरुङका साथमा दयाहाङ राईको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन्। फिल्ममा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी छ।

प्रतिक्रिया दिनुहोस्