पूर्व मिस नेपालद्वारा दुर्गममा स्वास्थ्यचौकी



हेटौंडा, (नेस)।

हेटौंडाकी चेली तथा पूर्व मिस नेपाल शृंखला खतिवडाको प्रयासमा मकवानपुरको कैलाश–७ स्थित तामलाङमा स्वास्थ्यचौकी निर्माण भएको छ।आर्किटेक्ट अध्ययन गरेकी इन्जिनियर शृखलाकै डिजाइनमा तामलाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको हो।

५५ लाख रुपियाँ लगानीमा निर्मित स्वास्थ्यचौकी भवनका लागि पूर्व मिस नेपाल खतिवडाले आार्थिक सहयोग जुटाएकी हुन्। वान होम फाउन्डेसनको समन्वयमा भवन निर्माण भएको हो।

स्वास्थ्यचौकीको शुक्रबार प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूण नेपालले शुभारम्भ गरेका थिए। स्वास्थ्यचौकीको भवनको साँचो खतिवडाले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानलाई हस्तान्तरण गरिन्।

भवन हस्तान्तरणमा शृंखलाका बुबा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, आमा प्रदेशसभा सदस्य मुनु सिग्देल र ओमबहादुर ग्लानलगायत सांसद तथा जनप्रतिनिधि सहभागी थिए। स्वास्थ्यचौकीमा आकस्मिक कक्ष, फार्मेसी, प्रशासनिक कक्षलगायत छन्।

स्वास्थ्यचौकी निर्माणपछि स्वास्थ्य सेवा अभावमा चेपाङ बस्तीका मानिसलाई धामीझाँक्री तथा पास्टरहरूको भरमा उपचार गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने गाउँपालिका अध्यक्ष मुक्तानले बताए। चेपाङ बाहुल्यता रहेकाले स्वास्थ्यचौकीको नाम चेपाङ भाषामा ङिको स्वास्थ्यचौकी राखिएको छ। ङि भन्नाले चेपाङ भाषामा हाम्रो भन्ने बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्