सम्पदा पुनर्निर्माणको अवसर र चुनौती



सुनील महर्जन
मसेन मन्दिर पुनर्निर्माण कार्य, स्थानीय उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण प्रभावकारी रहने विचारको एउटा सफल परीक्षणका रूपमा लिन सकिन्छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माण दुई विधिमार्फत गरिरहेको छ। एक ठेक्कदार मार्फत र दोस्रो, स्थानीय समुदायमार्फत भइरहेको छ। यसमध्ये उपभोक्ता समितिमार्फत ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माण भइरहेको हो।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो। विश्वसम्पदा सूचीमा सूचीकृत सो मन्दिरलाई व्यापारीहरूको इष्ट देवका रूपमा लिइन्छ। अहिले भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत पुनर्निर्माण कार्य भइरहेको छ। जनस्तरबाटै मन्दिर पुनर्निर्माण कार्य शुरू गरिएपछि मनकारीहरूको सहयोग जुट्दै गएको पाइएको छ।
‘यसलाई उपभोक्ता समितिमाथि विश्वासका रूपमा लिन सकिन्छ। सरकारले सम्पदा पुनर्निर्माणका लागि बजेट अभावको कारण देखाउँदै आएकोमा स्थानीयस्तरबाट सहयोग जुट्नुले पनि सो विधिको प्रभावकारीतालाई पुष्टि गर्दछ।’ –समितिमार्फत पुनर्निर्माण गर्न सहजीकरण गर्दै आउनुभएका दिलेन्द्र श्रेष्ठले भन्नुभयो।
भूकम्पले मन्दिरको माथिल्ला तलामा गाह्रो थाम्ने थाम, दलिन र बिम भाँच्चिएका थिए। भित्ताहरू चिराचिरा परेका थिए। उत्तरपट्टि ढल्केको थियो। भूकम्प गएको झन्डै चार वषपछि पुनर्निर्माणले गति लिएको हो।
स्थानीय उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण प्रभावकारी रहेको यस मन्दिर पुनर्निर्माणले पनि देखाएको सम्पदाविद् दिलेन्द्र श्रेष्ठले बताउनुभयो। ‘यसमा स्थानीयको अपनत्व, भावना र विश्वास जोडिने भएकाले प्रभावकारी बनेको हो।’ –उहाँले भन्नुभयो।
यसैको अर्को उदाहरण हो, काठमाडौं वसन्तपुरस्थित काष्ठमण्डप मन्दिर पुनर्निर्माण। जगसहित ढलेको काष्ठमण्डप पुनर्निर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ।
मन्दिर पुनर्निर्माणको काम आधा सकिएको छ। पुनर्निर्माण समितिका अनुसार, परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ। काष्ठमण्डप पुरानै शैली (तीन तलाको) को बन्नेछ।
उपभोक्ता समितिका अध्यक्ष प्रदेश ३ का सांसद राजेन्द्र शाक्यका अनुसार हालसम्म पुनर्निर्माणमा तीन करोड रुपियाँ खर्च भइसकेको छ। उपभोक्ता समितिलाई काठमाडौं महानगरपालिकाले साढे पाँच करोड रुपियाँ दिएको थियो। हालसम्म निर्माणका लागि रकम अभाव नभएको पनि शाक्यले बताउनुभयो।
सम्पदाको पुनर्निर्माण सामान्य विकास तथा पूर्वाधारका कामहरू जस्तो नभएकाले अमानतबाट गर्नुपर्ने सम्पदा क्षेत्रको संरक्षणमा लामो अनुभव बटुलिसक्नुभएका विज्ञसमेत रहनुभएका श्रेष्ठको भनाइ रहेको छ। ‘सम्पदा पुनर्निर्माण सडक, पुल वा कुनै व्यावसायिक भवन बनाएजस्तो हुँदैन। सम्पदा पुनर्निर्माण वा नवनिर्माण अमानतबाट गर्नुपर्ने खाँचो छ।’ –उहाँले भन्नुभयो।
सम्पदा पुनर्निर्माणका विभिन्न अनुभवले समुदायमार्फत गर्ने कुरा प्रभावकारी हुँदै गएको पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो। ‘भत्किएको सम्पदाप्रति एकाकार भएका समुदायले हाम्रो सम्पदा हामी आफै निर्माण गरौं भन्ने भावनाले पुनर्निर्माण कार्य अघि बढाएको छ।’ –प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो।
पुनर्निर्माणमा समुदायको सहभागिता बढाउन १० करोडसम्मको काम उपभोक्ता समितिमार्फत गर्न सक्ने खरिद कार्यविधिमा संशोधन गरेको पनि उहाँले बताउनुभयो। यो विधि प्रभावकारी हुनुमा सम्पदाप्रतिको अपनत्व, एकाकार नै रहेको उहाँको बुझाइ रहेको छ।
‘तर सबै ठाउँमा उपभोक्ता समितिले नै राम्रो गर्न सक्छन् भन्ने हुन्न। उनीहरू उक्त सम्पदासँग कति एकाकार छन्, त्यसमा पनि निर्भर गर्छ। तथापि, समुदायमार्फत गर्ने कुरा प्रभावकारी हुँदै गएको हामीले पाएका छौं।’ –प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो।
सम्पदा पुनर्निर्माण गर्दा मूलतः निर्माण व्यवसायीमार्फत पनि जाने र उपभोक्ता समितिहरू बनाएर जाने दुवै ‘एप्रोच’ अवलम्बन गरिएको छ। ठूलो मात्राको काम निर्माण व्यवसायीमार्फत जाने र स्थानीय उपभोक्ताले गर्नसक्ने काम उनीहरूको समितिमार्फत गर्ने अवधारणा अवलम्बन गरिएको जनाउँदै उहाँले भन्नुभयो– ‘दुवै अभ्यासका आ–आफ्ना विशेषता र कमजोरी रहेको छ।’
ठेक्कामार्फत गराउँदा कतै ठेकदार भाग्ने, मौलिकता बिग्रिने समस्या रहेको बताउँदै उहाँले भन्नुभयो– ‘नेपालको पुरातात्विक सम्पदा पुनर्निर्माणमा निर्माण व्यवसायीहरूको क्षमता कमजोर नै देखियो। सम्पदाको रेखदेख र पुनर्निर्माणको जिम्मेवारी सरकारी निकायको खरिद व्यवस्थापन गर्ने क्षमतामा कमी देखिएको छ।
पाटनको राधाकृष्ण मन्दिर यसको एउटा ज्वलन्त उदाहरण बनेको छ।
मन्दिर निर्माणको शुरूकै चरणमा ठेकेदार नै गायब भएका थिए। बुंगमतीको मच्छिन्द्रनाथको मन्दिर, शंखमूलस्थित जगत्नारायण मन्दिर, पाटन सुन्धारास्थित उमा महेश्वरको मन्दिर हाल ठेकदारमार्फत पुनर्निर्माण भइरहेका छन्।
ती मन्दिरको पुनर्निर्माणमा प्रगति नभएको र कार्यको गुणस्तरमा प्रश्न उठिरहेको पुरातत्व विभागअन्तर्गत पाटन दरबार हेरचाह अड्डाका प्रमुख काजी प्याकुरलले बताउनुभयो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा पुनर्निर्माणमा सार्वजनिक खरिद ऐन बाधक रहेको भनेर सार्वजनिकरूपमा भन्दै आउनुभएको छ।
तथापि ठूलो मात्राको काम उपभोक्ता समितिले गर्न नसक्ने हुँदा ठेक्कदारमार्फत नै गराउनुपर्ने अवस्था रहेको पनि ज्ञवालीको भनाइ रहेको छ।
सम्पदाविद्का अनुसार सम्पदाको पुनर्निर्माण गर्नु भनेको भौतिकरूपमा उभ्याउनु मात्र होइन। मौलिकतालाई जोगाएर सम्पदा पुनर्निर्माण गर्नुपर्ने सम्पदाविद् एवं वरिष्ठ आर्किटेक्ट सुदर्शन तिवारीले भन्नुभयो– ‘भूकम्पले क्षति पु¥याएका सम्पदामा अब हामी जसरी पुनर्निर्माण गर्छौं, त्यसले हाम्रो मौलिकता कसरी जोगाउँछ, पहिलेको जस्तै महत्व कसरी झल्काउँछ र अरू सम्पदा तथा सभ्यतासँग कसरी एकरूपता कायम गर्छ भन्ने मुख्य चुनौती हो।’
सम्पदामा रहेका हाम्रा मूल्यमान्यता कसरी स्थापित गर्न सक्छौं भन्ने विषय अत्यन्त महत्वपूर्ण रहेको पनि उहाँको कथन छ। यो चुनौती सामना गर्नका लागि पनि उपभोक्ता समितिमार्फत निर्माण कार्य बढी प्रभावकारी हुने सम्पदा पुनर्निर्माणमा संलग्नहरू बताउँछन्। काष्ठमण्डप पुनर्निर्माणको हालसम्मको कार्यले पनि सो भनाइलाई पुष्टि गर्ने अध्यक्ष शाक्यले बताउनुभयो।
हाल काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र अमलेखगन्जबाट ल्याइएको छ। हालसम्म चार हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ। सम्पदाविज्ञ तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गर्दै पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काष्ठमण्डपमा पुर्खाले पहिला कसरी निर्माण गरेका थिए भन्ने कुराको जानकारी लिनसमेत सहयोग भएको छ।
१२औं शताब्दीमा बनेको विश्वास गरिएकामा बेलायतको दुराग्रह विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौं शताब्दीमा निर्माण भएको पत्ता लागेको थियो। पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनर्निर्माणमा प्रयोग गरिएको छ।
मन्दिरको पुनर्निर्माणमा चार मूल थाम मध्ये एक थाम (१०औं शताब्दीमा प्रयोग गरिएको पाइएको) पुरानो राखिएको छ। त्यस्तै सय थान मेथमध्ये सातौं शताब्दीमा प्रयोग गरिएका २९ थाम राखिएको छ।
पुनर्निर्माण समितिका अध्यक्ष शाक्यका अनुसार पहिलो र दोस्रो रोमा १०–१० मेथ प्रयोग गरिएको छ भने तेस्रो रोमा नौ मेथ प्रयोग गरिएको छ। समितिका अनुसार, परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ। काष्ठमण्डप पुरानै शैली (तीन तलाको)को बन्नेछ।
भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनर्निर्माणका क्रममा निकालिएको माटो र ताहाचलको माटो प्रयोग गरिएको छ। त्यस्तै आवश्यक ढुंगा काभ्रेबाट ल्याइएको छ। पुनर्निर्माणका लागि आवश्यक काठ नेपाल टिम्बर कर्पोरेसन (टीसीएन) सँग पुरातत्व विभागको लागतअनुसार १७ हजार ५८ क्युफिट काठ ल्याउने सम्झौता गरिएको छ।
त्यस्तै काष्ठमण्डपमा प्रयोग गरिएको इँटा दक्षिणबाराही इँटा उद्योगबाट ल्याइएको छ। ठेकदारहरूले जसरी भए पनि काम सकाउने, बाटो बनाउने ठेकदारले सम्पदा पुनर्निर्माण अनुभव र ज्ञानको कमीलगायतले गुणस्तरमा प्रश्न उठेको पनि अध्यक्ष शाक्यले बताउनुभयो।
आफ्नो कार्यकालमा भएभरका क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्ने लक्ष्यले कार्यहरू अघि बढाइरहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो। ‘भर्खरै लगनटोलस्थित कीर्तिपुण्य महाविहारको दिगुछेँ बनायौं। अब त्यहीको आगछेँ पनि बनाउँछौं।’ –उहाँले भन्नुभयो।
सांस्कृतिक सम्पदा संरक्षणमा स्वाभाविकरूपमा स्थानीय जनसहभागिताको महत्व रहेको बताउँदैै पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले भन्नुभयो– ‘आफ्नो पहिचान बोकेको सांस्कृतिक सम्पदाको संरक्षण गरिनुपर्ने र आफ्नो सहभागिता रहनेतर्फ अधिकतम मानिस सचेत रहेका देखिन्छ। सम्पदा पुनर्निर्माणका लागि यो अवसर हो।’
सम्पदा पुनर्निर्माणका चुनौतीहरू
चर्चामा रहेका सम्पदा पुनर्निर्माणमध्ये रानीपोखरी पनि एक हो। काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न खोजेपछि रानीपोखरी पुनर्निर्माणमा विवाद भएको थियो। विवादपछि पुनर्निर्माणको जिम्मा प्राधिकरणले लिएको छ।
प्राधिकरण र रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिबीच सम्झौता भई हाल रानीपोखरीको पिँधमा कालीमाटी राखी पोखरीको सतह मिलाउने र पर्खाल निर्माणको कार्य भइरहेको छ।
निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्नेछ भने उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल पुनर्निर्माणको जिम्मेवारी पाएको थियो।
दातृ निकायको सहयोगमा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा पनि सम्पदा पुनर्निर्माणको काम भइरहेको छ। काठमाडौं उपत्यका संरक्षण कोषका प्रमुख रोहित रञ्जितकारका अनुसार पाटन दरबार क्षेत्रमा अवस्थित हरिशंकर मन्दिर हालसम्म पुनर्निर्माण सम्पन्न भएको पछिल्लो मन्दिर हो।
पाटन दरबार क्षेत्रका हरिशंकर मन्दिर, चारनारायण, दुईवटा मणिमण्डप र राधाकृष्ण मन्दिरलाई २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त पारेको थियो। त्यस्तै, योगनरेन्द्र मल्लको सालिक र भीमसेन मन्दिरअगाडिको सिंहस्तम्भ भाँचिएको थियो।
त्यसबेला पाटन दरबार क्षेत्रका ३० वटा सम्पदामा क्षति पुगेको पुरातत्व विभागको हिसाब छ। तीमध्ये ११ वटाको पुनर्निर्माण सकिएको छ भने सातवटाको काम भइरहेका छन्।काठमाडौं उपत्यका संरक्षण कोषले पाटन दरबार परिसरमा पुनर्निर्माणको काम सकेको छ।
कोषका निर्देशक रञ्जितकारका अनुसार, भीमसेन मन्दिरअगाडिको सिंहस्तम्भ, दुईवटा मणिमण्डप, कृष्ण मन्दिर, तलेजु मन्दिर, योगनरेन्द्र मल्लको सालिक स्तम्भ, विश्वेश्वर मन्दिर, सुन्दरी चोकको पूर्वी भाग र बहादुर शाह बैठकको काम समयमै सम्पन्न भएको छ।
निर्माण सामग्री र दक्ष कालिगढ अभावले गर्दा बीचबीचमा काम सुस्त हुने बताउँदै सम्पदा पुनर्निर्माण सामग्री र दक्ष जनशक्तिको अभाव एउटा ठूलौ चुनौती रहेको पनि कोषका निर्देशक रञ्जितकारको भनाइ रहेको छ। विज्ञ र अनुभवीहरूका अनुसार सम्पदा पुनर्निर्माणमा विभिन्न चुनौतीहरू रहका छन्।
सम्पदा पुनर्निर्माणका चुनौतीहरू
  •  सम्पदा संरचनामा तिनको सामग्री तथा प्रविधिमा ज्ञानको कमी,
  • पर्याप्त मात्रामा कालीगढहरू नहुनु
  • पुरानै प्रकृति तथा स्वरूपका काठहरू प्राप्त गर्न कठिन हुने अवस्था
  •  पुनर्निर्माण कार्य असहज हुनु,
  • स्थानीय तह तथा बहुल सरोकारवाला भएकाले समन्वयको कमी हुनु,
  •  बजेटका अभाव
  • निर्माण व्यवसायीबाट तोकिएको समयसीमाभित्र कार्य सम्पन्न नगर्ने प्रवृत्ति
  •  निर्माण शैली, सामग्री एवं सीपका सम्बन्धमा मतैक्यता नहुनु
  • दातृनिकायको स्रोत प्राप्त गरी कार्यान्वयन प्रक्रियामा जान जटिलता
  • केही कानुनी अप्ठ्यारो
  • बाटो बनाउने ठेकदारबाट मन्दिर निर्माण कार्य
पुनर्निर्माण सम्पन्न भएका काठमाडौंका सम्पदाहरू
(१) इचङ्गुनारायणस्थित सत्तल,
(२) गणेश मन्दिर सत्तल संरक्षण,
(३) गोकर्ण ४० वज्रयोगिनी सत्तल, साँखु
(४) राधाकृष्ण मन्दिर, कुपण्डोल
(५) तलेजु मन्दिर, हनुमानढोका
(७) त्रिपुरेश्वर महादेव मन्दिरको ४ कुनाको मन्दिर सत्तल संरक्षण
(८) नागार्जुन नपा जमाचोस्थित पाटी संरक्षण
(९) शंखमूलस्थित आगो ताप्ने पाटी सत्तल संरक्षण
(१०) पञ्चमुखी हनुमानसँगैको सत्तल, उत्तरगया, गोकर्ण
(११) कान्ति भैरव मन्दिर परिसरको ध्यान पाटी, गोकर्ण
(१२) शरण भद्रेश्वर महादेव मन्दिर संरक्षण, इचङ्गुनारायण–१
(१३) तानादेवी मन्दिर, हनुमानढोका
(१४) साँखुस्थित न्ह्याक सत्तल टहरा
(१५) भीमसेन पाटी संरक्षण, फर्पिङ
(१६) भीमसेन मन्दिर, भीमढुङ्गा
(१७) नाटेश्वरी मन्दिर, हाँडीगाउँ
(१८) विष्णुदेवी मन्दिर संरक्षण, सतुंगल
(१९) ज्योतिर्लिङ्गेश्वर महादेव मन्दिर, साँखु
(२०) टोखा तलेजु
(२१) नैकाप सत्तल
(२२) नारायण मदिर, दहचोक चन्द्रागिरि
(२३) इन्द्रायणी मन्दिर
(२४) शिव मन्दिर
(२५) जगतपाल महाविहार, कीर्तिपुर
(२६) सिद्धेश्वर महादेव मन्दिर संरक्षण, जितपुर
(२७) गणेश मन्दिर संरक्षण, कामनपा ब्रह्मटोल
(२८) भैरवथान संरक्षण, कुलेश्वर
(२९) जलाशयन नारायण शङ्खमूल
(३०) याक फल्चा, कीर्तिपुर
(३१) दिगु फल्चा, कीर्तिपुर
(३२) गुतपौं पाटी, कीर्तिपुर
(३३) चिलंचो चैत्य, कीर्तिपुर
(३४) नानकमठ समाधि, ज्ञानेश्वर
(३५) इन्द्रभक्तेश्वर सत्तल, टेकु पचली
(३६) किम्डोल गुम्बा, स्वयम्भू
(३७) महाविष्णु मन्दिर संरक्षण
(३८) दक्षिणकाली माता मन्दिरको आमाको थान संरक्षण
(३९) कालु पाण्डेको समाधि, चनपा दहचोक
(४०) इन्द्रायणी मन्दिर परिसरको पोखरी संरक्षण, चनपा दहचोक
(४१) सैनिक आवास, छाउनी
(४२) जमाचो सत्तल, नागार्जुन
(४३) अनन्तपुर मन्दिर, स्वयम्भू (माथि बायाँ)
(४४) बुद्ध मन्दिर संरक्षण, ब्रह्महटोल
(४५) नर्वदेश्वर महादेव मन्दिर, साँखु
(४६) राधाकृष्ण मन्दिर जीर्णोद्धार, टेकु
(४७) टेकु दोभानस्थित लक्ष्मेश्वर मन्दिर र चौघेरा सत्तल
(४८) भञ्ज्याङ पाटी संरक्षण, दक्षिणकाली
(४९) जोगीगाल गोकर्णस्थित ढुङ्गेधारा संरक्षण, गोकर्ण
(५०) छाउनी सङ्ग्रहालय संरक्षण तथा सुदृढीकरण
(५१) विजेश्वरी मन्दिर संरक्षण, शोभा भगवती, विजेश्वरी
(५२) शोभा भगवतीस्थित इन्द्रायणी मन्दिर
(५३) टोखास्थित तलेजु मन्दिर
(५४) हनुमानढोका दरबार क्षेत्रमा रहेको वंशगोपाल मन्दिर
(५५) जङ्गहिरण्यहेम मन्दिर जीर्णोद्धार, थापाथली
(५६) वज्रयोगिनी मन्दिर जीर्णोद्धार, साँखु
(५७) भगवतीबहाल शंकरकीर्ति महाविहार, नक्साल
(५८) राष्ट्रिय संग्रहालयको ऐतिहासिक भवन संरक्षण, छाउनी
(५९) भीमसेन मन्दिर संरक्षण, फर्पिङ
(६०) कामनपा–१९ स्थित कङ्केश्वरी मन्दिर संरक्षण
(६१) विष्णुदेवी मन्दिर संरक्षण, मच्छेनारायण, कीर्तिपुर
(६२) आदिनाथ मन्दिर संरक्षण, चोभार
(६३) गोरखनाथसँगैको शिवालय संरक्षण, त्रिपुरेश्वर
(६४) टुँडालदेवी मन्दिर परिसरको बाँकी कार्य
(६५) सुन्टोलको माइघरअगाडिको मन्दिर जीर्णाेद्धार, साँखु
(६६) वज्रयोगिनी वसुन्धरामाई जीर्णाेद्धार
(६७) गुरुनानक मठ संरक्षण, म्हेपी
(६८) दहक्षेत्रको पाटी सत्तल, जीर्णोद्वार
(६९) नागार्जुन नपा हलचोकस्थित आकाश भैरव द्योछेँ संरक्षण
(७०) नागार्जुन नपा इचङ्गुनारायणस्थित सत्तल संरक्षण
(७१) शिव मन्दिर, दहचोक, चन्द्रागिरि नपा १
(७२) कोट घर र गढी संरक्षण, दहचोक, चन्द्रागिरि नपा १
(७३) सिंह दुवाल ल्वहँ देगः जीर्णाेद्धार, कीर्तिपुर नपा
(७४) हिटी चाफः मन्दिर तथा परिसर जीर्णोद्धार, कीर्तिपुर नपा
(७५) मञ्जुश्री सत्तलसँगैको सेतो पाटी संरक्षण, स्वयम्भू
(७६) प्रतापपुर मन्दिर, स्वयम्भू (माथि दायाँ)
(७७) दक्षिणकाली मन्दिरको गर्भ गृह, जीर्णोद्वार
(७८) मनकामना मन्दिर संरक्षण, दहचोक, चन्द्रागिरि नपा
(७९) चण्डेश्वरी मन्दिर संरक्षण, गोकर्ण
(८०) पदम मुक्तेश्वर सत्तल संरक्षण, गोकर्ण
(८१) लक्ष्मेश्वर महादेव मन्दिर, नागार्जुन नपा साबिकको भीमढुङ्गा
(८२) सिद्धेश्वर महादेव मन्दिरको संरक्षण, जितपुरफेदी
(८३) सिद्धेश्वर महादेव मन्दिर परिसरको सत्तल संरक्षण, जितपुरफेदी
(८४) चुनदेवी मन्दिर संरक्षण, बलम्बु
(८५) साँखुस्थित सरस्वती र भीमसेन मन्दिरको बाँकी कार्य
(८९) बोगटी पाटी, गोकर्ण
(९०) महाविष्णु मन्दिर संरक्षण, कामनपा–१५ धुम्वाखेल
(९१) विश्वेश्वर महादेव मन्दिर जीर्णोद्धार, साँखु
(९२) टोखा तपलाछीस्थित महादेव मन्दिर संरक्षण
(९३) चण्डेश्वरी मन्दिर संरक्षण, टोखा
(९४) टोखा तपलाछीस्थित नारायण मन्दिर संरक्षण
(९५) दक्षिणकाली माता मन्दिरको आमाको थान परिसरको सत्तल
(९६) सोह्रखुट्टे पाटी जीर्णोद्धार, कीर्तिपुर नपा
(९७) गोपालबाबाको आश्रम संरक्षण
(९८) बीपी सङ्ग्रहालय, सुन्दरीजल
(९९) शक्तिबल्भेश्वर महादेव मन्दिर संरक्षण, नागार्जुन
(१००) साँखुस्थित वज्रयोगिनी सत्तल संरक्षण
(१०१) यतापौ पाटी संरक्षण, कामनपा–३४, यतापांै मार्ग, शंखमूल
स्रोत ः पुनर्निर्माण प्राधिकरण

प्रतिक्रिया दिनुहोस्