संरक्षण नगरिंदा सुदूरपश्चिममा लोप हुँदै नौमती बाजा



विमल विष्ट, डोटी।

नेपाली लोक संस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको निकै ख्याती प्राप्त नौमती बाजा यतिबेला क्रमिकरूपमा लोप हुने खतरा बढेको छ। आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागतरूपमा बाजा बजाउनेको पेसालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउछन्।

दुई दमाहा, दुई ट्याम्को, नरसिंहा, सनाई, मजुरा, झ्यालीसँगै राखेर कम्तीमा पनि १०/११ जनाको समूहले बजाउने बाजा विगतको जस्तो अहिले बिरलै देख्न र सुन्न पाइन्छ। एकै किसिमका पोसाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिकाले नाचिने हुनाले सुदूरपश्चिम प्रदेशमा यो बाजाको रौनक तथा नाच्ने गरिन्छ।

यो बाजा बजाउने समूहमा एकजना मुख्य नाइके हुन्छन् भने अन्य दश जना सहयोगीका रूपमा रहने गर्दछन्।नौमती बाजालाई यहाँको प्रदेशमा पञ्चेबाजासमेत भन्ने गरिन्छ। उक्त बाजा लोपहुँदै जानथाले पनि बाजा संरक्षणमा कसैले पहल नगरेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय तथा पञ्चेबाजा बजाउनमा पोख्त धनिराम नेपालीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘केही वर्ष अघिसम्म विवाहलगायत अन्य कार्यक्रम हुँदा नौमती बाजाको तालमा नाच्ने गाउँने गर्दा गाउँ नै रमाइलो हुने गर्दथ्यो, अहिले बजारमा आएका आधुनिक बाजाको कारण पुराना बाजाहरू क्रमिकरूपमा लोप हुँदैजान थालेका छन्, संरक्षण गर्न कसैले पहल चालेका छैनन्।’

विगतमा कुनै शुभसाइत नै किन नहोस नौमती बाजा खोज्ने गरिन्थ्यो तर अहिले यो प्रचलन हराएका कारण संस्कृति नै लोप हुँने खतरा बढेको शिखर नगरपालिका–१ गुठेउडीका नौमती बाजा बजाउने अर्का स्थानीय हरि दमाईले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘नौमती बाजाको धुनले पुरै गाउँ गुञ्जयमान हुन्थ्यो, अहिले त असभ्य र उरन्ठाउला गीत संगीतका साथै हिन्दी गीत संगीतमा उत्ताउलो पाराले नाच्ने गाउँने गर्छन, आफ्नो कला संस्कृति जोगाउन कसैले ध्यान दिएका छैनन्।’

नौमती बाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउन पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेसालाई अगाल्न थालेको स्थानीय बुढापाका बताउछन्।

आधुनिक जिवनशैलीसँगै बाजाको तालमा छमछमी नाचिने नौमती बाजा अहिलेका विभिन्न गीत संगीतले गर्दा विस्थापित हुँदै गइरहेको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘बजारमा आएका आधुनिक गीत, संगीत र बाजाका कारण यहाँको पुरानो चिनारीका रूपमा रहेको नौमती बाजा लोप हुन थालेको हो, हामी सबै मिलेर यसको संरक्षण गर्नु जरुरी भएको छ।’

आफ्ना बाबुबाजेले वषौंदेखि संरक्षण गर्दै आएको पेसा लोप हुँदैजान थालेपछि उक्त बाजा बजाउनेहरू चिन्तित बनेका छन्। सुदूरपश्चिम प्रदेशमा नौमती तथा पञ्चेबाजा प्रायः दलित समुदायका व्यक्तिहरूले मात्रै बजाउने चलन छ।

बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुष्ताहरूले पञ्चे तथा नौमती बाजा अँगाल्न नखोज्दा यसको महत्तव घट्दै गई लोप हुँने अवस्थामा पुगेको हो।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू बैतडी, डडेल्धुरा, अछाम, बझाङ, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा कुनै शुभकार्य हुनासाथ बजाइने उक्त बाजा आधुनिक बाजा भित्रिएका कारण हिजोआज बिरलै सुन्न पाइन्छ। पुरानो काला, संस्कृति झल्काउने उक्त बाजाको संरक्षणमा समयमै ध्यान नदिए यो बाजा हराउने अवस्थामा नआउला भन्न सकिन्न्।

प्रतिक्रिया दिनुहोस्