स्काभेटर फुटाउने अगुवाइकर्ता वडाध्यक्ष क्षतिपूर्ति र धरौटी बुझाएर तारेखमा रिहा



मोतीराम तिमल्सिना, काभ्रे। 

बनेपा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि भित्रयाउन लागेको जापानिज प्रविधिको मेसिन राख्ने संरचना निर्माणका लागि लैजाँदै गरेको स्काभेटर तोडफोड गर्ने वडाध्यक्षसहित तोडफोडमा संलग्नलाई क्षतिपूर्तिसहित धरौटीमा छाड्ने आदेश भएको छ।

जनही १३ हजार ३ सय ४५ समेत गरी जनही २० हजार ३ सय ४५ रुपियाँ धरौटी दाखिला गरे तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ।

वडा नम्बर ९ मा रहेको नगरपालिकाको आफ्नै स्वामित्वमा रहेको जग्गगामा वातावरणमैत्री मेिसन राख्ने कार्यमा वडाध्यक्ष शेरबहादुर सुवालले अवरोध पुर्याउँदै स्काभेटर तोडफोड गरी चालकलाई समेत घाइते बनाएका थिए।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको इजलासले वडाध्यक्ष सुवालसहित अन्य ९ जनालाई तोडफोडमा संलग्न भएको भन्दै क्षतिपूर्ति भराउँदै धरौटीमा छाड्ने आदेश गरेको हो।

वडा अध्यक्ष सुवाललाई स्काभेटर तोडफोड गरेबापत जनही १३ हजार ३ सय ४५ रुपैया र ७ हजार धरौटी राखेर छाडिएको छ। पक्राउ परेका डम्बरबहादुर घिसिङलाई हिरासतमा बसेका कारण ३ हजार धरौटी र त्यति नै क्षतिपूर्ति भराइएको छ।

त्यस्तै क्षतिपूर्तिसहित धरौटीमा छुट्नेमा वडाध्यक्षका छोरा बाबुकाजी सुवाल रहेका छन्। उनी संर्घष समितिका संयोजक हुन् भने डम्बरबहादुर घिसिङ संर्घष समितिका सहसंयोजक थिए। अभियुक्त वडाध्यक्ष शेरबहादुर सुवाल, उनका छोरा बाबुकाजी सुवाल, जीवन थापा, कपिलमुनि दुलाल, सन्तोष गौतम, दीपक थापा, भीमसेन थापा, निलकमल शाही र ज्ञानबहादुर सुवालले आफूले स्काभेटर तोडफोड गरी संर्घष समितिमा समेत बसेको बयान दिएका छन्।

उनीहरू सबैलाई मुलुकी ऐनको दफा ११८ को उपदफा (१) को कसुरमा सोही ऐनको दफा ११८ को उपदफा (२) बमोजिम कारबाही हुनसक्ने जरिवना र कैदबापत जनही ७ हजार र डोजरमा भएको क्षति र डोजर चालकको उपचारमा लागेको रकमसमेत १ लाख ३३ हजार ४ सय ४७ को १० जना अभियुक्तलाई दामासाहीले भाग गर्दा हुन आउने जनही १३ हजार ३ सय ४५ समेत गरी जनही २० हजार ३ सय ४५ रुपियाँ धरौटी दाखिला गरे तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ।

धरौटी र क्षतिपूर्ति नबुझाए थुनुवा पुर्जी दिई कारागार चलान गर्ने आदेश भएको थियो। अभियुक्त सबैले बुधबार दिउँसो जनही तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका छन्।

बनेपा नगरपालिकाले व्यवस्थापन गर्न लागेको फोहोरमा नेपाली कांग्रेसले संस्थागत अवरोध पुर्याउँदै आएको छ। तारेखमा रिहा भएका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन्। पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादे नेपाली कांग्रेसका क्षेत्रीय सभापति हुन्।

उनको निर्देशनमा नेपाली कांग्रेस बनेपा नगर समितिले चरणबद्ध विरोध गर्दै आएको छ। नगरपालिकाले वातावरणमैत्री उक्त मेसिन राख्ने तयारीका लागि सर्वपक्षीय छलफलसमेत गरेको थियो। फोहोर व्यवस्थापन हुन नसक्दा बनेपा दिनदिनै फोहोरको संक्रमणमा पर्दै गएको छ।

नेपाली कांग्रेसले साँगामा पनि मेसिन राख्न अवरोध गरेको थियो। २०७६ कार्तिक १८ गते वडा अध्यक्षको समूहले डोजरमा तोडफोड गरेको थियो।

सर्वदलीय बैठकले फोहोर जलाउने इन्सिरेटर मेसिन जडानका लागि पहिलो प्राथमिकता बनेपा नगरपालिका–९ मा रहेको नगरपालिकाकोे आफ्नै जग्गामा ईआईए प्रतिवेदन प्राप्त भएपछि मेसिन जडान गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्