नेपाली भूमिमा भारतीय विस्तारवाद



डिल्लीराम मिश्र

अन्ततोगत्वा, समय र परिस्थितिजन्य विषयवस्तुको अर्को अर्थ र परिभाषा नलागेमा– जसरी भारतले दुई शताब्दीसम्म अङ्ग्रेजहरूको दासत्व र गुलामी चरित्र स्वीकार गरेर बस्न बाध्य भयो, त्यसै गरी भारत स्वतन्त्र भएपछि नेपाल र नेपालीहरू पनि भारतको दासत्वमा रहनुपर्दछ भन्ने निर्लज्ज भारतीय शासकहरूको विस्तारवादी चरित्र र नियतका कारण भारतले नेपालजस्तो एउटा स्वतन्त्र राष्ट्रको अहितमा बारम्बार साँध–सिमाना मिच्ने, जग्गा अतिक्रमण गर्ने, बाँध बाँध्ने र आमनेपालीलाई अनायासै सधैँ दुःख दिने तथा मानसिकरुपमा तनाव दिने जस्ता निकृष्ट कार्य सन् १९४७ सालदेखि निरन्तररुपमा गरिरहेको छ, उसको विस्तारवादी चरित्र देखाइरहेको छ।

आफ्नो राष्ट्रको साँध–सिमानाका बारेमा सामान्य चासो पनि नराख्ने नेपाली सत्ताधारी शासकहरूको उदासीनता र कमजोरीका कारण राष्ट्रले आज यो नियति भोगिरहनुपरेको छ। साँध–सिमानाको रक्षा गर्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने प्राथमिकता सरकारको योजनामा कहिल्यै पनि परेन। सत्ता प्राप्तिको लागि दिल्लीमा लम्पसार पर्ने बबुराहरूबाट राष्ट्रको सीमा सुरक्षा कसरी सम्भव हुन सक्छ ?

ऐतिहासिक सुगौली सन्धिमा नेपालका शासकहरूबीच ज्ञान–अज्ञानवश नेपालको पक्षमा जे–जस्तो कार्य भयो, तर त्यसले निर्धारण गरेको नेपाली भूभागअन्तर्गतको साँध–सिमाना गुम्नुहुँदैन, हराउनुहुँदैन एवम् यताउति हुनुहुँदैन भन्ने आमनेपालीको पवित्र आत्माको पवित्र पुकार हो।

तर यति लामो यात्राक्रममा पनि यो दास मनोवृत्ति र हेपाहा चरित्र भारतीय शासकहरूमा अझैसम्म पनि जीवन्त रहेको छ। एउटा नजिकको छिमेकी भएर नेपालप्रति हेर्ने दृष्टिकोण भारतीयहरूमा कहिल्यै पनि सकारात्मक र सफा रहेन।

इतिहासको त्यो कालखण्डमा भारतीय विस्तारवादीहरूले एउटा तथ्य संस्मरण गर्नु अनिवार्य छ। त्यो के भने, नेपालले कहिल्यै पनि भारतजस्तो दास बनेर पराधीन भोग्नुपरेन। यो हिमाली अधिराज्य नेपाल सधैँ सगरमाथाजस्तो उच्च भएर रह्यो र रहिरहनेछ। इतिहासको एक कालखण्डमा सुगौली सन्धि भएको पनि आज २०४ वर्ष भएको छ, सुगौलीमा धेरै पानी बगिरहेको छ भने सुगौली सन्धि भएको १३२ वर्षपछि मात्र भारत बेलायती उपनिवेशबाट मुक्त भएको हो।

यसबीचमा अङ्ग्रेज सरकार र नेपाल सरकारका तर्फबाट धेरै प्रकारका आधिकारिक नापनक्साहरू निर्माण भएका छन्। साँध–सिमानाका सम्बन्धमा पटक–पटक पुनरवलोकन भएका छन्। सन् १८१६ को सुगौली सन्धिपछि सन् १९४७ मा भारत स्वतन्त्र हुँदासम्म नेपालको दक्षिणी साँध–सिमानाका बारेमा खासै विवाद र समस्या देखा परेको थिएन। सुगौली संन्धिको धारा ५ मा कालीनदीपूर्वको भूभाग नेपालको हो भन्ने प्रस्टरुपमा उल्लेख भएको छ। नेपाल भारत यी दुई देशको साँध–सीमा पनि त्यही सिद्धान्तअनुरुप कायम हुनुपर्छ भन्ने नेपालीहरूको अडान हो।

त्यसै समयको सेरोफेरोमा सन् १८४६ मा नेपालका शक्तिशाली राणा प्रधानमन्त्री महाराज श्री ३ जङ्गबहादुर राणा सत्तामा आए। उनले देशको साँध–सिमाना बलियो र स्थायी बनाउन मेचीदेखि महाकालीसम्म जङ्गे पिलरको निर्माण गरेका थिए।

उनले सुगौली सन्धिमा गुमेको नेपालको विशाल भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ठूलो कूटनीतिक पहलका साथ पुरस्कारस्वरुप नेपालमा समावेश गरेका हुन्, जसलाई आज नयाँ मुलुक भनेर सम्बोधन गरिन्छ।

त्यसकारण नयाँ मुलुकको रुपमा यी जिल्लाहरूको नाम लिँदा पछिसम्म पनि नेपालीहरूले राष्ट्रवादी शासक श्री ३ जङ्गबहादुर राणाको योगदानलाई सम्झिरहने छन्।यता सन् १९४७ मा अङ्ग्रेजको दासत्वबाट भारत स्वतन्त्र भएपछि सुगौली सन्धिमार्फत कायम रहेको नेपाली भूभागमाथि भारतीय शासकहरूको अतिक्रमण र दादागिरी चल्दै आएको पनि आज ७३ वर्ष भएको छ।

यस समयावधिमा भारतको भन्दा पनि आफ्नो राष्ट्रको साँध–सिमानाका बारेमा सामान्य चासो पनि नराख्ने नेपाली सत्ताधारी शासकहरूको उदासीनता र कमजोरीका कारण राष्ट्रले आज यो नियति भोगिरहनुपरेको छ। साँध–सिमानाको रक्षा गर्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने प्राथमिकता सरकारको योजनामा कहिल्यै पनि परेन। सत्ता प्राप्तिको लागि दिल्लीमा लम्पसार पर्ने बबुराहरूबाट राष्ट्रको सीमा सुरक्षा कसरी सम्भव हुन सक्छ ?

२००७ सालदेखि २०१७ सम्म नेपालको साँध–सिमानाका बारेमा भारतीय पक्षले खासै चासो नदेखाए पनि आफ्नो मुलुकको लागि प्रचुर फाइदा हुने गण्डक सम्झौता गर्न २०१६ सालमा वी.पी. कोइरालासँग नेहरू सफल भए, तर पञ्चायतकालमा भारतले नेपालको भूमि कालापानीमा आफ्नो विस्तारवादीको चरित्र देखायो। नेपालको उत्तरी सिमानामा भारतीय चेकपोस्ट राख्ने काम उसले गर्यो। विशेष गरी सन् १९६२ मा भएको भारत–चीन युद्धमा भारत पराजित भएपछि उसले नेपालप्रति बढी नै चियो चासो राखेको देखिन्छ।

नेपालमा २०१७ सालको राजनीतिक परिवर्तनपश्चात् श्री ५ महेन्द्रको नेतृत्वमा विकासका पूर्वाधारहरू तीव्र गतिमा अगाडि बढिरहेका थिए। यस क्रममा २०१९ सालमा पूर्व–पश्चिम राजमार्गको निर्माण कार्य प्रारम्भ, मित्रराष्ट्र चीन सरकारको सहयोगमा नौबिसेदेखि पोखरासम्म जोड्ने पृथ्वीराजमार्गको निर्माण र काठमाडौं–कोदारी राजमार्गको निर्माणलगायत देशमा उद्योग कलकारखानाको स्थापना एवम् औद्योगिक क्षेत्रहरूको निर्माण प्रवेशले भारतीय प्रधानमन्त्री नेहरू एकपटक झस्केका थिए।

कोदारी राजमार्ग निर्माण गर्ने क्रममा नेहरूले चासो राख्दा श्री ५ महेन्द्रले दिएको जवाफबारे कूटनीतिज्ञ केशरबहादुर के.सी.ले आफ्नो एक अन्तर्वार्तामा उल्लेख गरेका छन्। यति मात्र होइन, श्री ५ महेन्द्रकै समयमा नेपालको उत्तरी सिमानामा रहेका भारतीय चेकपोस्ट हटाउने कार्यबाट पनि भारत रुष्ट भएको थियो। उक्त कदम श्री ५ महेन्द्रको अत्यन्त सुझबुझकारी कार्य थियो। भारतले सन् १९६२ देखि नै विनाआधार र विनासहमति नेपालको भूमि कालापानीमा भारतीय सेनाको क्याम्प राख्दै आएको हो।

भारतीय विस्तारवादको चरित्रअनुरुप नै सेना कालापानीमा राखिएको हो। दरिद्र चिन्तन बोकेका भारतीय शासकहरूले २०४७ सालपछि सीमा विवादमा रहेको कालापानी र सुस्ता क्षेत्रबाहेक मेचीदेखि महाकालीसम्म १ हजार ८ सय ८० कि.मि.मा फैलिएको नेपालको भारतसँग जोडिएका २३ जिल्लामा व्यापकरुपमा सीमा अतिक्रमण गर्दै आएका छन्। आज भारतले नेपालको साँध–सिमाना अतिक्रमण गरेको र गर्दै आएको निकृष्ट कार्यप्रति छिमेकी मुलुकलगायत अन्तर्राष्ट्रिय जगत्समेत भारतको विस्तारवादी चरित्र र नियतप्रति सतर्कतापूर्वक हेरिरहेका छन्।

भारतजस्तो विशाल राष्ट्रले नेपालजस्तो आजीवन सार्वभौम स्वतन्त्र राष्ट्रमाथि बारम्बार साँध–सिमानामा गरेको निर्लज्जापूर्ण कार्य दरिद्र मानसिकताको उपज हो। दुवै देशको सहमतिविना सिमानामा गाडिएका सीमास्तम्भ रातारात हटाउने, उखेल्ने, सार्ने, भत्काउने र गायब गर्ने जस्ता कार्य भारतीय पक्षबाट अहिले पनि तीव्ररुपमा हुँदै आएको छ। कुनै पनि राष्ट्रको साँध–सिमाना भनेको अत्यन्तै संवेदनशील विषय हो।

आफ्नो देशको साँध–सिमानाका बारेमा चासो नराख्नु र ध्यान नदिनु भनेको देश, जनता र राष्ट्रप्रति गद्दारी गर्नु हो। आज ओली नेतृत्वको सरकार त्यही गद्दारी गरिरहेको छ। त्यसैले २०४८ सालपछिका कुनै पनि निर्वाचित प्रधानमन्त्रीको नेतृत्वमा रहेका सरकारले सिमानाका बारेमा अलिकति पनि ध्यान नदिँदा भारतको हेपाहा प्रवत्तिले आज यो विकराल समस्या उत्पन्न गराएको छ। भारत कहिल्यै पनि नेपाल–भारतबीचको सिमानाको विवाद टुंगियोस् भन्ने चाहँदैन, किनकि उसले सीमा मिचिरहनुपर्छ र नेपालका लुरे शासकहरू पनि त्यस्तै छन् अनि त्यही चाहन्छन्।

भारतको दास नबनीकन, मालिकको निगाहा–बकस नभईकन सत्तामा टिकिरहन सकिन्न भन्ने लेम्यान स्तरको मनोदशाबाट नेपालका कुनै पनि प्रधानमन्त्री पृथक् रहन सकेका छैनन्। आज भारतले यति धेरै सिमाना मिचेको छ, नेपाली भूमिमा दादागिरी प्रदर्शन गरिरहेको छ तर दुई तिहाईको दम्भ बोकेको के.पी. शर्मा ओली नेतृत्वको सरकार भने मस्तसँग सिरक ओढेर सुतिरहेको छ, निदाएको नौटङ्की गरिरहेको छ। देशको सिमानाजस्तो संवेदनशील विषयमा कहिल्यै पनि गम्भीरतापूर्वक विचार विमर्श गरिएको छैन र गरिँदै पनि।

सिमानाका स्वाभिमानी जनता सधैँ प्रताडित छन्। भारतले हाम्रो भू–भाग यति मिच्यो उति मिच्यो भनेर नेपाली जनता नेपाल सरकारसँग अलापविलाप गर्छन् तर सरकार भने बहिरो बनी कानमा कपास कोचेर बस्छ, बरु सिमानाका सम्बन्धमा जनस्तरबाट केही कुरा उठ्यो भने सरकार पुलिस लगाएर कुटपिटमा उत्रन्छ अनि आफ्नो मालिकप्रति भक्तिभाव जाहेर गर्छ। कहाँ लुकेका छन् आज पुष्पकमल दाहाल सिमाना मिचिरहँदा पनि ?

उनी एक शब्द बोल्दैनन्, बोलून् पनि कसरी ? दश वर्षसम्म भारतीय दानापानी खाएर नेपालका १७ हजार नागरिकको सर्वनाश गर्नुका साथै राष्ट्रको अर्बौंको भौतिक संरचना नष्ट भारतीय योजनाअनुरुप गरिएको हो। तथापि राष्ट्रको नक्सा घट्नु भनेको राष्ट्रको शान गुम्नु हो र नेपाली जनताको स्वाभिमानमाथि डोजर चलाउनु हो, वज्र प्रहार गर्नु हो। भारतले गत कात्तिक १६ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको पनि आज यतिका दिन भैसकेको छ, नेपाली जनताको मन तरङ्गित भैरहेको छ, आन्दोलित भइरहेको छ तर भारत पर्ख र हेरको अडानमा छ।

नेपाल सरकार भने अहिलेसम्म कुनै प्रकारको कूटनीतिक पहलको पक्षमा देखिएको छैन। खाली एक इन्च भूमि पनि मिच्न दिँदैनौं भनेर एकतर्फीरुपमा कोलाहल मच्चाइरहेको छ, नेपाली जनताको कस्तो विडम्बना ? भारतीय शासकहरूको हेपाहा प्रवृत्तिको पनि एउटा सीमा हुन्छ, तर के.पी. शर्मा ओलीकै नेतृत्वको सरकारमा उसले आफ्नो नक्सा परिवर्तन गरी नेपालको भूमि मिचेको छ।

एकताका टनकपुर, महाकाली सन्धिलाई लिएर कान्तिपुरुष गणेशमान सिंहले विरक्त मान्दै भनेका थिए– पञ्चायतले जसोतसो बचाएर राखेको राष्ट्रियता कोइराला परिवारले समाप्त गर्यो भन्दै टनकपुर सन्धिमा राष्ट्रघात गर्ने गिरिजाप्रसाद कोइरालाप्रति यो सङ्केत गरिएको हो र वर्तमान सरकारले पनि त्यही बाटो अवलम्बन गरिरहेको छ भन्दा फरक पर्दैन।

 

प्रतिक्रिया दिनुहोस्