छत्तीस वर्ष जेलमा बस्ने निर्दोष त्रेय रिहा



वासिंगटन, (एजेन्सी)। 

हत्याको झुठो आरोप लगाइएका अमेरिकी राज्य मेरिल्यान्डका तीनजना पुरुष अन्ततः ३६ वर्ष लामो कारावास सँजाय भुक्तान गरेर रिहा भएका छन्। एक अदालतले सन् १९८४ मा अघिल्लो वर्ष एकजना चौंध वर्षीय किशोरको ज्यान लिएको अभियोगमा अल्फ्रेड चेस्टनट, एन्ड्रयु स्टेवार्ट र रान्सोम वात्किन्सलाई आजीवन काराबास सँजाय तोकेको थियो।

तिनीहरुको मुद्दामाथि पुनः विचार गरी एकजना न्यायाधीशले अभियोगबाट सफाइ दिएपछि तिनीहरुलाई सोमबार बाल्टिमोरमा रिहा गरिएको थियो। यसै वर्ष चेस्टनटले बाल्टिमोरको सत्य निरूपण इकाइमा एउटा पत्र पठाएपछि तिनीहरुको मुद्दा पुन खुलाइएको थियो।

उनले गत वर्ष आफूले प्राप्त गरेको आफूहरुलाई निर्दोष सावित गर्न सक्ने प्रमाण पनि पत्रसंगै उल्लेख गरेका थिए। सन् १९८३ को नोभेम्बरमा डिविट ड्युकेट नामक किशोरको हत्या भएपछि किशोरावस्थामै रहेका तिनीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो।

बाल्टिमोरस्थित जुनियर हाइस्कुलमा जाने क्रममा बाटैमा उनको घाँटीमा गोली हानेर हत्या गरिएको थियो। हत्यापछि उनले लगाइरहेको जर्जटाउन युनिभर्सिटी ज्याकेट हराएको थियो।

डिविटको हत्याकाण्डले प्रेसमा व्यापक स्थान पाएको थियो। बाल्टिमोर पब्लिक स्कुलमा कुनै पनि विद्यार्थीको गोली हानेर गरिएको यो पहिलो घटना थियो। बाल्टिमोर राज्य न्यायाधीश मार्लिन मोस्वीले प्रहरी र वकिलहरुको लापरबाहीका कारण तिनीहरु अभियुक्त सावित भएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्