न्यून दर्शकका बीच जापानमा सूर्य अवार्ड सम्पन्न



राजबिन थापा
टोकियो, जापान

सूर्य कर्पोरेसनको आयोजनामा जापानको टोकियोमा फिल्म र संगीतको विधालाई समेट्दै सूर्य इन्टरनेसनल अवार्ड–२०१९ सम्पन्न भएको छ।दोस्रो संस्करणको अवार्ड समारोहमा छक्का पन्जा–३ ले पपुलर फिल्मको अवार्ड पायो भने सोही फिल्मबाट दीपाश्री निरौलाले पपुलर फिल्म निर्देशकको अवार्ड उचालिन्।

त्यसै गरी क्याप्टेनबाट अनमोल केसी पपुलर एक्टर, साम्राज्ञीराज्यलक्ष्मी शाह पपुलर एक्ट्रेस, चंगा चेटबाट बुद्धि तामाङ सहअभिनेता र गोपीबाट वर्षा राउत सहअभिनेतृ विधाको अवार्ड विजेता भए।

त्यसै गरी क्रिटिक्स अवार्डअन्तर्गत फिल्म प्रसाद, अभिनेता विपीन कार्की, अभिनेतृ नम्रता श्रेष्ठ विजयी भए भने गोपीबाट निर्देशक दीपेन्द्र लामालाई अवार्ड प्रदान गरियो।समारोहमा आधुनिक गीततर्फ दर्शन नमस्ते भाग–५ बाट राजेशपायल राई विजेता भए भने पिरिम नलाउनेबाट गायिका मेलिना राई, पपगीततर्फ सञ्जय पराजुली र गायिका टीका प्रसाईं, लोकगीततर्फ गायक कुलेन्द्र विक र गायिका मञ्जु पौडेल अवार्डेड भए।

समारोहमा लोकप्रिय हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसै गरी फिल्मकर्मी नीर शाहलाई सूर्य लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने क्याप्टेनसमेत रहेका विजय लामालाई सूर्य कलाकारिता सम्मान प्रदान गरिएको थियो।

त्यस्तै पत्रकार लक्ष्मण सुवेदीलाई यसपटकको जापानी यान २५ हजारसहित सूर्य पत्रकारिता पुरस्कार प्रदान गरियो।आयोजकले निकै भव्यरूपमा अवार्ड सम्पन्न गर्ने घोषणा गरे पनि अत्यन्त न्यून दर्शकको उपस्थितिमा समारोह सम्पन्न भएको थियो।

विशाल आकारको नाकानो जिरो हलमा भएको अवार्ड समारोहमा सहभागीको संख्या हेर्दा हलमा आयोजक र नेपालबाट गएका कलाकार मात्रै सामेल भएका हुन् कि भन्ने महसुस भएको थियो। दर्शकको न्यून उपस्थितिका कारण नेपालबाट आएका कलाकारले खल्लो महसुस गरेका थिए।

जापानमा रहेका नेपाली सो अवार्ड विवादित भएपछि उपस्थित नभएका हुन्। केही समय पहिलादेखि नै आयोजक संस्थालाई मान्छे ल्याउने तरिका भएको आरोप लागेको थियो। यद्यपि आयोजकले अवार्डलाई विवादमा ल्याउन खोज्नेहरूले यस्तो आरोप लगाएका जनाएको छ। कार्यक्रम गर्दा भएका केही कमजोरीलाई सच्याउँदै जाने आयोजक वासुदेव लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्