डोजर प्रकरण : ४८ घन्टामा बुझाउनुपर्ने प्रतिवेदन ३५ दिनसम्म पनि बुझाइएन



विनोद सिंह विष्ट, बैतडी। 

गत कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्यायो। डोजरले महिला हुत्याएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक ५ गते छानबिन समिति गठन गर्यो। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भयो।

उक्त गठिन समितिलाई सत्य तथ्य छानबिन गरी ४८ घण्टाभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकियो। तर छानबिन समितिले ३५ दिन बितिसक्दासमेत प्रतिवेदन बुझाएको छैन। ४८ घण्टाको समय सीमामा प्रतिवेदन बुझाउन नसकिएपछि प्रतिवेदन बुझाउने म्याद ५ दिनका लागी थप गरिएको थियो। उक्त थपिएको म्यादमा पनि प्रतिवेदन तयार भएन। छानबिन समिति गठन भएपश्चात समितिले स्थलगत छलफलसमेत गरेको थियो।

छानबिन समितिले ३५ दिनसम्म पनि प्रतिवेदन नबुझाउँदा नागरिकले आशंका गर्न थालेका छन्। यसअघि नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्षसमेत निकालेको थियो। सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो। झडपकै क्रममा डोजर चालकले एक महिलालाई हुत्याएको थियो।

छानबिन समितिले गहनरूपमा सबैकुरा समेटनुपर्ने भएकोले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ। समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीका अनुसार प्रतिवेदन तयार भएकोले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी बिदामा रहेकोले उहाँ आउने बित्तिकै प्रतिवेदन बुझाउने तयारी रहेको उहाँले बताउनुभयो।

स्थलगतरूपमा दुवै पक्षसँग छलफल गरेको, वस्तुगत अवस्था, नगरपालिकासँग बुझेका छौं। उहाँले भन्नुभयो– ‘पिडित पक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भन्ने उच्च अदालतमा मुद्दा परेकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको छ, त्यसको पनि समस्या समाधानतर्फ छ।’

सो कान्डमा दोषी देखिएकाले कानुनअनुसार कारबाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको छानबिन समितिले जनाएको छ। छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको रायसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठुलो रुप लिएको थियो। महिला हुत्याउने चालक किशोर बोहरालाई जिल्ला अदालत बैतडीले पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिइएको हो।

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिनुभयो।
यस्तै चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयहरू भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटी रिहा गर्ने आदेश भएको छ। सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा दर्ता भएकोमा दुर्गादत्त पनि ४० हजार धरौटीमा छुटेका छन्।

प्रतिक्रिया दिनुहोस्