युगलाई गिज्याउने घटना



आजको युग २१औं शताब्दीको आधुनिक ज्ञानमा आधारित समय हो। २१औं शताब्दी भन्नासाथ वैज्ञानिक, प्रविधिक र हरेक कुरामा आधुनिक हुनुपर्ने देखाउनुपर्ने समय भनेर हामी अर्थ लगाउँछौं। हाम्रो बाह्य आवरण तथाकथित आधुनिक देखिए पनि सोचविचारमा रुढीवादी मान्यता चटक्कै हट्न नसकेको विभिन्न घटनाले देखाइरहेको छ।

ती घटनाहरूले २१औं शताब्दी युगलाई मात्र होइन, हाम्रो सोच र चिन्तन प्रणालीलाई समेत चुनौती दिइरहेको छ। नेपाली समाजको सोचलाई उपहास गर्ने यस्तै एउटा प्रतिनिधिमूलक घटना हो– दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठमाथि भएको दुव्र्यवहारको। उहाँहरू केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बस्नुपर्ने बाध्यता यही युगलाई गिज्याउने घटनाले सिर्जना गरेको छ।

बोक्साबाक्सीको आरोपमा समूहमा नराख्ने भन्दैै सामाजिक बहिष्कार गरेपछि उहाँहरू गाउँ छोडेर सदरमुकामको होटलमा शरणार्थीका रूपमा बस्न बाध्य हुनुभएको छ। वैज्ञानिक युग भन्नासाथ हरेक कुरा कारण र कार्यसहित परीक्षण गरेर मात्र सत्य र असत्य छुट्याउने अभ्यास भन्ने बुझिन्छ।

तर, हामीकहाँ एक÷दुई जना मान्छे मात्र नभई सिंग्गो टोल सुधार समितिको बैठक राखेर बोक्सा र बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने घटनाले हाम्रो मनमस्तिष्कमा अन्धविश्वास र कुरीति निकै जरो गाडेर बसेको छ भन्ने तथ्य उजागर हुन्छ। यो घटना न पहिलो हो, न अन्तिम नै हुनेछ।

त्यही सोचको परिणामस्वरूप रत्नबहादुर र कृष्णमाया जस्ता कयौंं दम्पती यसरी नै पीडित भएर बस्नुपर्ने अवस्था भइरहन्छ। यसलाई हाम्रो समाजका लागि दुर्भाग्यपूर्ण घटना मान्नुपर्दछ। रुढीवादी सोचग्रस्त भएसम्म यस्ता घटना निरन्तर भइरहने छन्।

घटनाअनुसार ५८ वर्षीय पीडित रत्नबहादुर श्रेष्ठले आफू र आफ्नो ५७ वर्षीया श्रीमतीलाई विगत आठ वर्षदेखि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलगायतले बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको तर आफूहरू निरीह भएकाले सहेको बुझिएको छ।

यसले कानुनको पालना गराउने प्रहरी प्रशासन पनि निरीह भएको देखाउँछ। घटना सार्वजनिक भएलगतै प्रहरी प्रशासनले कारबाही गर्ने जमर्को गरेको छ। घटना हुनासाथ प्रहरीले अनुसन्धान वा चासो देखाएको भए ती दम्पतीले यसरी अनाहकमा पीडित बन्नुपर्ने अवस्था आउँदैन थियो।

जे भए पनि अहिले आएर प्रहरीले कारबाही गर्ने प्रतिबद्धता देखाएको छ। यस प्रतिबद्धतालाई व्यवहारमा देखाएर प्रहरीले कानुन सबैका लागि समान भएको सन्देश प्रवाह गर्नु अत्यन्त जरुरी रहेको छ।यसै गरी राज्यले यस्तो विकृति–विसंगतिलाई कडाइका साथ उखेल्न कारबाही चलाउनुपर्छ।

हामीकहाँ यस्ता घटनालाई कानुनले उपचार गरेको छ। कानुनको कार्यान्वयन चुस्त–दुरुस्त भएर गर्नु आवश्यक छ। दोलखाको यस घटनामा प्रहरी प्रशासन पनि नराम्री चुकेको देखिन्छ।

अर्कोतर्फ यस्ता अन्धविश्वास हटाउन सामाजिक परिचालन, जनजागरणका अभियान पनि सँगैसँगै सञ्चालन गर्नुपर्ने हुन्छ। यसमा रँज्यको भूमिका प्रभावकारी बनाउनुपर्ने जरुरत छ नै, साथमा सचेत नागरिक समाजले पनि चुपचाप बसिदिनुभएन। भनिन्छ, अपराध गर्नुजस्तै सचेत भएर पनि चुप लागेर बस्नु निन्दनीय हुन्छ।

प्रतिक्रिया दिनुहोस्