छोरो खोरमा थुन्नु परेको छ, घरको ढोका हाल्ने पैसा छैन



नेपाल समाचारपत्र, धादिङ।

सिद्धलेक गाउँपालिका–२ की ६० वर्षीया सुकुमाया नेपालीको दैनिकी बिहान छोरोका लागि खाना बनाउने र घरको धन्दा गर्दैमा बित्ने गर्छ।६० उमेर वर्ष काटेकी वृद्ध आमा ३३ वर्षीय छोरोलाई दिनहुँ भात पकाएर खुवाउनु पर्ने बाध्यता मात्र होइन उसलाई बचाउनका लागि खोरमा थुनेर काम जानुपर्ने कारुणिक कथा उनको लागि दशा सावित भएको छ।

आफूलाई बुढ्यौलीमा पालन पोषण गर्ला भन्ने छोरालाई पाल्नु पर्ने बाध्यता त छ हालै निर्माण गरेको घरमा ढोका राख्ने पैसासमेत नहुँदा छोरोलाई खोरमै थुनेर राख्नु परिरहेको सुकुमायाले बताउनुभयो।
सुकुमायाको छोरो सिलाबहादुर नेपाली ३० वर्षदेखि खोरमा थुनिएर बसेका छन्।

मानसिक स्वास्थ्य समस्या र सुस्त मनस्थितिको समस्याका कारण घरबाट भाग्ने र लडेर मर्ने डरले उनलाई खाना खुवाएपछि, आमा काममा निस्कने बेलामा खोरमा थुनेर राख्नुपर्ने बाध्यता छ।

ससाना हातखुट्टा, दुब्लो शरीर, अनुहार सुकेर चेप्टो भएको र दाँत समेत बाहिर निस्केका सिलाबहादुरलाई आर्थिक अभावमा उपचार खर्च नभएपछि घरमै खोरमा थुनेर राख्नुपरेको हो।

उपचार गराउन खर्च छैन। आफू पालिनसमेत नपुग्ने थोरै पाखो बारी छ। हरेक दिने खानाको लागि समस्या झेल्दै आउनुभएकी सुकुमायाले १० वर्षअघि मलेखुमा स्वास्थ्य शिविर आउँदा छोराको उपचार गराएकी हुन् र निरन्तर औषधी खुवाउनु पर्ने भएपछि खर्च अभावमा उपचारसमेत गर्न नसकेको उहाँले बताइन्।

अभावले गर्दा भूकम्प पीडितको घर निर्माण गरेको भए पनि ढोका हाल्न नसकेपछि टहरामै बस्न बाध्य भएको सुकुमायाको भनाइ छ। सरकारले जोखिम लाभग्राही भनेर एकल महिला र अपांगता भएको व्यक्तिलाई पुनर्निर्माणका लागि थप ५० हजार रुपियाँ पाउने भने पनि सुकुमायाको नाम एकल, र अपांगता भएको भएपनि जोखिमयुक्त लाभग्राही सूचीमा नाम नभएपछि यो सहुलियतसमेत पाउनुभएको छैन।

सुकुमायामात्र होइन नीलकण्ठ नगरपालका–२ की इन्द्रकुमारी मगरले सरकारले भूकम्पबाट घर क्षति भएर निर्माण गर्न दिएको रकमले घर निर्माण गर्न नसक्ने अवस्थामा हुनुहुन्छ। एकल भएपछि कसरी घर बनाउने ? उहाँको प्रश्न छ।

उनिहरू सरकारले भनेको जोखियुक्त लाभग्राही हुन्। प्रकृति छुट्टै र समस्या समान अर्थात घर निर्माण गर्न नसक्नु नै हो वा घर बनाएर पनि पूरा गर्न नसक्नु नै हो।उनीहरू मात्र होइन पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि गरेको तथ्यांक संकलनको आधारमा धादिङ जिल्लामा १ हजार ८ सय २९ लाभग्राही जोखिमयुक्त अवस्थामा रहेका थिए।

यसमध्ये घर निर्माण शुरू नै नगर्ने लाभग्राहीको सख्या अझै ९८ रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार अधिकारी आनन्दराज पाण्डेको भनाइ छ। जोखिमयुक्त लाभग्रहीमध्ये १ हजार १ सय ७४ ले मात्र घर निर्माण सम्पन्न गरेका छन्। घर निर्माण शुरू गरेर पनि ६ सय ५५ ले निर्माण सम्पन्न गर्न सकेका छैनन्।

एकल महिला, ७५ वर्ष नाघेका मानिस, १४ वर्षमुनिका मानिस र अपांगता भएका मानिसको घर जोखिमयुक्त लाभग्राही भनेर पुनर्निर्माण प्राधिकरणले परिभाषित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्