स्थानीय सरकार आएपछि फेरिएका नागरिक



रामचन्द्र विक, रामेछाप। 

स्थानीय सरकार आउनुभन्दा पहिला आफ्नो गाउँ विकासको लागि कति बजेट आएको छ र त्यसको कार्यान्वयन भएको छ कि छैन भन्नेसमेत थाहा नपाउने नागरिकले स्थानीय सरकार आएपश्चत आफ्नो वडामा हुने विभिन्न कामको गुणस्तरको समेत ख्याल गर्न थालेका छन्।

शनिबार सुनापति गाउँपालिकाले गत आर्थिक वर्षमा प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो। सुनापति गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सबै वडाका वडाध्यक्षले गत वर्षमा भएका विकास निर्माणको बारेमा जानकारी गराएपछि कार्यक्रममा सहभागी भएका युवादेखि जेष्ठ नागरिकले समेत सहजै प्रश्न गरे।

गाउँपालिकाको केन्द्र नजिकै बन्दै गरेको सडकको समस्या देखाउँदै स्थानीय युवा ज्ञानबहादुर श्रेष्ठले प्रश्न गर्नुभयो– ‘सडक नजिकै लगाइएको मेसिनरी वाल एक महिना नबित्दै भत्किन थालेको छ, त्यो प्राविधिक कमजोरी हो, या ठेकेदरको कमजोरी हो ?, त्यसको समधान कहिले हुन्छ अध्यक्षज्यू ?’

त्यस्तै अर्का बेथानका स्थानीय जेष्ठ नागरिक सूर्यबहादुर खड्काले आफ्नो गाउँमा खानेपानीको समस्या भएको बताउँदै प्रश्न गर्नुभयो– ‘पहिलादेखि नै आफ्नो गाउँमा खानेपानीको समस्या थियो, हामीले सोचेका थियौं स्थानीय सरकार आएपछि खानेपानीको समस्या समधान हुन्छ। तर आजसम्म भएको छैन त्यसको समधान कहिले हुन्छ अध्यक्षज्यू ?’

यसरी आफैलाई भोट दिएर जिताउने स्थानीयले राखेका गाउँका समस्याका बारेमा गाउँपालिकाका अध्यक्ष धावा लामाले हँसिलो मुहारमा उत्तर दिँदै भन्नुभयो– ‘हामी तपार्इंहरूकै लागी काम गरिरहेका छौं, तपार्इंहरूले आज यहाँ समस्या राखे जस्तै जुनसुकै समयमा पनि तपार्इंको वडा वा गाउँपालिकामा समस्या लिएर आउनुहोस तपार्इंहरूका समस्या त्यतिबेला नै पूरा गर्छौं।, तपार्इंहरूले यसरी हामीलाई प्रश्न राखेपछि धेरै कुरा हामीले थाहा पाउँछौं काम गर्न पनि सजिलो हुन्छ, हामीलाई तपाईंका प्रश्नले झन जिम्मेवार बनाउँछ।’

त्यस्तै स्थानीय सरकार आएपछि गठन भएको न्यायिक समितिले गरेको कामको बारेमा जानकारी गराउँदै गाउँपालिका उपाध्यक्ष गीता विष्टले भन्नुभयो– ‘न्यायिक समितिमा आउने विवादलाई हामीले छलफलको माध्यमबाट समाधान गर्छौं, जहाँ दुवै पक्षलाई नहार्ने गरी न्याय दिन्छौं जसले दुवै पक्षका पीडितलाई दीर्घकालीन न्याय दिन्छौं।,

हामी गाउँ–गाउँमा गएर पिछाडि पारिएका समुदायलाई स्थानीय सरकारबाट पाउँने सेवा–सुविधाको बारेमा जानकारी गराउँदै कुनै समस्या भए तत्काल स्थानीय जनप्रतिनिधिलाई भन्नु भन्ने सन्देश दिएका छौं जसको कारण नागरिकमा चेतना वृिद्ध भएको छ।,

त्यसैले पनि नागरिकहरूले हामीले गरेका काममाथि निगरानी बढाउनुभएको हो। यो हुनुमा स्थानीय सरकारको मुख्य देन छ।’ विगतमा गाविसमा आएको बजेटको समेत जानकारी नहुने नागरिकले सार्वजनिक ठाउँमै प्रश्न गर्नु भनेको यो स्थानीय तहले दिएको ठूलो उपलब्धि भएको उपाध्यक्ष विष्टको भनाइ रहेको छ।

सुनापति गाउँपालिकाको आयोजना तथा सान नेपाल रामेछापको सहजीकरणमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, पाँच ओटै वडाका वडाध्यक्षलाई स्थानीय तहबाट प्रवाह हुने सेवा तथा विकास निर्माणको बारेमा नागरिकले प्रश्नसँगै विभिन्न जिज्ञासा राखेका थिए। प्रश्नकर्ताको जवाफ दिँदै जिम्मेवार अधिकारीहरूले स्थानीयले राखेका माग तत्काल पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्