गढिमाईमा मेला नेपालमा धार्मिक पर्यटनको विकास गर्ने अवसर



????????????????????????????????????

गोकुल घोरसाइने

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा पर्ने पसाहा नदी किनारको पूर्वपट्टि गढीमाईको एउटा सानो मन्दिर छ। एकतले मन्दिरभित्र कपडाले छोपेर राखिएको देवी गढीमाईको मूर्ति पनि उस्तै सानो छ।
आस्था र विश्वासको सामुन्ने मन्दिर र मूर्ति सानो होस् वा ठुलो यसले कुनै फरक पार्दोरहेनछ।

त्यही भएर त हिजोआज दर्शनका लागि गढीमाई आउने श्रद्धालुको भीड बढ्दो छ। प्रत्येक ५/५ वर्षमा मेला लाग्ने गढीमाई पशुबलिको लागि विश्वमै प्रसिद्ध छ। बलिको तिथि नजिकिँदै जादा दर्शनार्थीको घुइँचो पनि बढ्न थालेको छ।

मेलामा नेपाल भारतका लाखौं श्रद्धालुले मेला भर्ने र बलि दिने गरेका छन्। देवीलाई भाकल गरेर मनले चिताएको कुरा पुरा भएको विश्वासमा भक्तजनले आफ्नो भाकलअनुसार पशुपंक्षीको बलि दिने गरेका हुन्।
यही विश्वासले डोर्याएर भारतको हैदरावादबाट भाकलको एउटा राँगोसहित आएका रवि पटेल गढीमाई परिसरमा भेटिए।

लगातार ४ वटा छोरी जन्मिएपछि चिन्तामा परेका दाजु अजयले छोरा जन्मियोस भनेर गरेको भाकल पुरा भएपछि दाजुले पठाएको एउटा राँगो गढीमाईलाई चढाउन उनी बलिको तिथिभन्दा २ साताअघि नै गढीमाई आइपुगेका छन्।

‘हामीले चिताएको कुरा देवीले पुरा गदिनुभयो, रविले भने, अब भाकल पुरा गर्ने पालो हाम्रो।’ उहाँले भाकले अनुसार पुरा नगरे देवी रिसाएर अनिष्ट पनि हुनसक्ने पनि बताउनुभयो। बलिको केही दिनअघिबाट मेलामा धेरै ठुलो भिड लाग्ने र भाकलको पशु ल्याउन गाहे पर्ने भएकोले केही समय आउनुपरेको पनि उहाँले बताउनुभयो।

अजयकी श्रीमतीले ९ महिनाअघि मात्र छोरो जन्माएकी हुन्। रविजस्तै आफ्नो मनोकामना पुरा भएपछि भाकलको रागो बलि दिन आउनेको भीड अहिलेदेखि नै शुरू भइसकेको छ। यस वर्षको मेलामा बलिको तिथि मंसिर १७ र १८ गते परेको छ।

यस्तो छ किम्बदन्ति

किम्बदन्तिअनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएको त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ। तिनै थारुका सन्तानबाट १०औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका पुजारी रहनुले १७ आंै सताब्दीदेखि चलेको यो किम्बन्तिले श्रद्धालुहरूका लागि आस्था र विश्वास बढाएको हो।

जेलघरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढिमाईले मलाई तिम्रो गाउँमा लैजाउ, तिमी जेलमुक्त हुनेछौ र तिम्रा सारा दुःखपीडासमेत हट्नेछ भनेपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बरियारपुरमा ल्याएर गाढेका थिए।

तिनै थारुका बंशजले गढिमाई मन्दिरको देखभाल र पूजाआजा गर्दै आएका छन्। बरियारपुरमा मन्दिर निर्माण भएपश्चात ७ किमी पूर्वमा पर्ने अर्को शक्तिपिठ सिम्रौनगढ कंकाली मन्दिरमा बली परम्परा रोकिएको र गढिमाईमा पशु बलिको प्रचलन सुरु गरिएको जनश्रुती पाइन्छ।

त्रिशूल गाडिएको स्थानबाट दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर देख्न सकिन्छ। मन्दिरबाट पूर्व–दक्षिणतिरको पीपलबोटसँगै ब्रह्माको स्थान पनि हेर्न लायक छ।

यसरी सुरु हुन्छ बलि

तिथिअनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हाँस, सुंगुर र राँगासमेतको गरी पञ्चवली दिएपछि मन्दिरमा सर्वसाधारणका लागि पनि बलि खुल्ला हुने गरिने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउनुभयो।

‘मान्छेको शरीरको ४ अंगबाट रगत चढाइन्छ,’ पूजारी चौधरीले भन्नुभयो– ‘त्यसपछि रातिभर पुजा हुन्छ। आफैँ ब्रह्मस्थानमा आफैं बत्ती बल्छ र पञ्चबलि हुन्छ।’हिन्दू संस्कृतिमा पशु बलिलाई शक्तिसँग जोडेर हेर्ने गरिएको छ। शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य मानिन्छ।

भाकल गरी बलि चढाउन आउनेमध्ये ९० प्रतिशत भारतीय र १० प्रतिशत नेपाली श्रद्धालुहरू रहने गरेका छन्। भारत सरकारले रोक लगाउदै आएको भए पनि भारतीय नागरिकले नेपालमै आएर आफूले भाकलेको राँगो किनेर बलि दिने गरेका छन्।

पशुपंक्षी संरक्षण र अधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाले पशुबलि नचढाउन आग्रह गर्दै अभियान चलाइरहेका छन्। तर धार्मिक आस्थासँग जोडिएको बलिप्रथा नियन्त्रण गर्न भने त्यति सहज देखिदैन। २०७१ सालको मंसिर महिनामा लागेको मेलामा लगभग ८० हजार जति पशुबलि दिइएको पुजारी चौधरीले जानकारी दिनुभयो।

अधिकांशले भाकलको राँगा एक दिनअघि नै गढीमाईस्थित वधशालामा ल्याएर राख्ने र समितिले खटाएका स्वंमसेवकले मार हानेर बलि दिने गरेका छन्। केहीले भने मन्दिर परिसरबाहिरको चारैतर्फबाट चारकोस परैबाट देवीको नाममा कान वा पुच्छ्र काटेर जिउँदो राँगा छोडने गर्छन्।

यसरी जिउँदै छोडिएका पशु स्थानीय दलित समुदायले घरमा घरमा लैजाने र अन्य पशुपंक्षीको भने बलिपछि श्रद्धालु आफंैले प्रसादको रूपमा घरमा लगेर मासु खाने गरेका छन्। मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहका अनुसार पहिलेको भन्दा यसप टक अझ बढी बलि हुने अनुमान छ।

अध्यक्ष साहले रंगशाला (बलि दिने स्थान) मा शनिबारसम्ममा करिब ३ सय ५० भन्दा बढी राँगा दर्ता भइसकेको बताउनुभयो। यो वर्ष मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले परेवाको बलि रोक्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो।

‘देवीलाई चढाउन भनेर ल्याइएका परेवालाई खुल्ला छोडेर संरक्षण गर्ने निर्णय भएको छ, अध्यक्ष साहले भन्नुभयो– ‘जिउदै छोड्दा प्रकृति र संस्कृति संरक्षणमा टेवा पुग्नेछ।’

विवादमा बलिप्रथा

पछिल्लो समय गढिमाईको बलिप्रथा विवादमा तानिएको छ। एक दशक अघिबाट अहिंसावादीले चलाएको अभियानका कारण बलिप्रथा विवादमा तानिएको हो। खासगरी माओवादी द्वन्द्वको बेला नेपाल पसेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बलिको विभत्स पक्षलाई हिंसाकै रूपमा चित्रण गरेपछि बलिप्रथा विवादमा तानिएको हो।

भारतीय उच्च अदालतले बलिका लागि भारतबाट पशुपंक्षी ल्याउन रोक लगाएको छ भने नेपालको अदालतले पनि बलि व्यवस्थित पार्न मेला समितिलाई आग्रह गरेको छ। यद्यपि, ४ सताब्दी पुरानो आस्थाको यो परम्परा सर्वसाधारणमा उत्तिकै जब्बर देखिन्छ।

‘अरूले विश्वास गरे गरुन नगरे नगरुन बाराको सिम्रौनगढ नगरपालिका ६ का कपिलदेव महतो नुनिया भन्नुहुन्छ– देवीप्रति मेरो सतप्रतिशत विश्वास छ।’ पेट दुख्ने रोगले ३ वर्षदेखि बिरामी आफ्नो १३ वर्षीय छोरा चन्दनकुमार देवीकै कृपाले ठीक भएको नुनिया बताउनुहुन्छ।

‘धेरै ठाउँको अस्पताल चहारियो तर ठीक भएको थिएन, उहाँले भन्नुभयो– केही सिप नलागेपछि ४ वर्षअघि गढिमाईलाई खसी भाकल गरेका थिएँ, त्यसपछि रोग निको भयो।’ नुनियाले पनि भाकलअनुसार देवीलाई चढाउन भनेर घरमा एउटा खसी राख्नुभएको छ।

मनोकांक्षा पुरा भएको विश्वासमा श्रद्धालुले पशुपंक्षीको बलि चढाउने गरेका हुन्। ‘हामीले बलि दिन भनेका छैनौं, मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहले भन्नुभयो– ‘मनोकांक्षा पुरा भएको खुसीयालीमा भक्तजनहरू आफैंले ल्याउने गरेका छन।’

उहाले श्रद्धालुले आस्थापूर्वक भाकल गरेर ल्याएको पशुपंक्षीको बलि दिन कसैले भन्दैमा नरोकिने बताउनुभयो। देवीलाई बली दिएको राँगाको सिनो स्थानीय दलित समुदायले घरघरमा लगेर प्रसादका रूपमा खाने गरेका छन्।

जिल्लाका केही अगुवा दलितहरूले सिनो वहिष्कार घोषणा गरेपछि दलित समुदायका सर्वसाधारण अन्यौलमा परेका छन्। बलिको सिनु खादा स्वास्थ्यमा प्रतिकुल असर पर्ने र सामाजिक प्रतिष्ठासमेत घट्ने भएकाले बहिष्कार अभियान शुरू गर्नुपरेको बारा करैयामा माईका दलित अगुवा दशरथ राम बताउनुहुन्छ।

अघिल्लो मेलामा असफल भएपछि अगुवाले यसपटक थप तयारीका साथ जिल्ला व्यापी रूपमा १ महिनाअघि देखिनै बहिष्कार अभियानको लागि भेला, गोष्ठी र प्रचार प्रशार गर्दै आएका छन्।

धार्मिक पर्यटनलाई टेवा

भगवान थारुलाई जेलमुक्त पारेको खुसियालीमा प्रत्येक ५/५ वर्षमा पशुपंक्षी वलीसहित लाग्ने मेला यस वर्ष पनि शुरू भइसकेको छ। एक महिनासम्म चल्ने यो मेला धार्मिक पर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहँदै आएको छ।

पर्यटन वर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल गढिमाई मन्दिरमा यसपटक नेपाल, भारतलगायत तेस्रो मुलुकबाट ६० लाख हिन्दु श्रद्धालुहरूले दर्शन गर्ने अनुमान गरिएको छ।

मेलामा आउनेमध्ये ६० प्रतिशत भारतीय नागरिक हुने उनीहरूलाई नेपालका पशुपति, मुक्तिनाथ, बराह क्षेत्र, लुम्बिनी, जनकपुरधाम र सिम्रौनगढजस्ता अन्य प्रमुख धार्मिक स्थलमासमेत पुर्याउन सकिए देशको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्नसक्ने होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा बताउनुहुन्छ।

गढिमाईमा आउने भारतीय नागरिकलाई प्याकेज बनाएर अन्यत्र पनि पुर्याउन सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने उहाँको भनाई। महागढिमाई नगरपालिका प्रमुख उपेन्द्र यादव पनि सरकरले पर्यटकलाई नेपाल भित्र्याउनका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको बेलामेला हेर्न आउने भारतीय पर्यटकलाई देशको विभिन्न भागमा घुमाउने विशेष प्याकेजका कार्यक्रमहरू लागू गर्नुपर्ने बताउनुहुन्छ।

महागढिमाई नगरपालिकाले मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा धार्मिक पर्यटकका लागि यस वर्ष मन्दिर पछाडि पट्िट रहेको पोखरी मुनि भूमिगत सिस महल र माथि सूर्य मन्दिर बनाएको छ। वर्षौदेखि मेला सञ्चालन गर्दै आएको गढिमाई मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति र महागढिमाई नगरपालिकाले पहिलोपटक संयुक्त रूपमा मेलाको व्यवस्थापन गरिरहेका छन्।

मेलाका लागि ७२ सदस्यीय मूलव्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ।पशुबलिको समयमा भक्तजनको ठुलो भिड जम्मा हुने हुँदा सोही अनुसारको तयारी भइ रहेको मेला मूलसमितिका महासचिव मोतिलाल कुशवाहाले बताउनुभयो।

श्रद्धालुहरूको संख्यालाई ध्यानमा राखेर मेला क्षेत्रमा पाँच सय शौचालय र खानेपानीको लागि एक सय ५० भन्दा बढी चापा कलको व्यवस्था गरिएको छ। मेला भर्न आउने भक्तजनलाई राति निशुल्क बासका लागि १ एक पटकमा ८० हजारदेखि एक लाख श्रद्धालुहरू सुत्न बस्न सक्ने गरी हजारभन्दा बढी पण्डाल गाढिएको पनि उहाँले जानकारी दिनुभयो।

गढिमाइ मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक फणिन्द्रमणि पोखरेलले मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो।

कसरी पुग्ने गढिमाइ

गढिमाई मन्दिर बारा जिल्ला सदरमुकाम कलैयाबाट ६ किलोमिटर पर्दछ।र नेपालको प्रवेशद्धार मानिने वीरगंजबाट १७ किमी पुर्वमा छ। पछिल्ला वर्ष सडक सञ्जालमा आएको सुधारले श्रद्धालुलाई साना ठुला सवारी साधनको प्रयोग गरेर मन्दिरसम्म पुग्न सहज बनाएको छ।

वीरजन्जबाट भित्रिने यात्रुले वीरगन्ज–बरियारपुर कालोपत्रे सडक र गण्डक नहरको अर्ध पक्की सडकको समेत प्रयोग गर्ने गरेका छन। हुलाकी मार्गको निर्माणपछि बारा जिल्ला लगायत रौतहट, सर्लाही, महोत्तरी र धनुषाका दक्षिणी भेगका तिर्थालुकालागि मन्दिरसम्म पुग्न निकै सहज भएको छ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको भद्रकाली चोक, १३ किलो, तामागढीबाट करिव २५ किमी सडक पार गरेर गढिमाई पुग्न सकिन्छ।

सिमा नाकाबाट करिव ७ किमी उत्तरमा पर्ने मन्दिरमा भारतबाट आउने श्रद्धालुको सुविधालाई समेत ध्यानमा राखेर मेला व्यवस्थापन मूल समितिले सीमा क्षेत्रमा जोडिएका साना/ ठुला सडकको मर्मत, विस्तार र सरसफाइ कार्य तिव्र पारेको छ।

गढिमाई मेला धार्मिक पर्यटनको कोसेढुंगा

मुल पुजारी मंगल चौधरी

 

गढिमाई मेलामा यतिधेरै श्रद्धालु आउनुको खास कारण के हो ?

हेर्नुस गढिमाई मान्छेको धार्मिक आस्थासंग जोडिएको छ। विश्वास गर्नेका लागि सबैथोक छ। नगर्नेका लागि केही पनि होइन।

तर लाखौं मान्छे गढिमाइको शक्तिप्रति विश्वास गर्छन् र मनले चाहेको कुरा पुरा हुने विश्वसमा मेलामा बलि दिन र दर्शन गर्न भनेर आउछन्।

देवीदेवतालाई खुसी पार्न पशुपंक्षीको बलि नै दिनुपर्छ भन्ने के छ र? बलिप्रथाले गढिमाई विवाद परेको छ भनिन्छ नि ?

यो हामीले भन्ने कुरा होइन। शक्तिपीठमा बली दिने हिन्दुहरूको परम्परा हो। गढिमाइमा मात्र होइन। नेपालका अन्य पिठहरूमा पनि यसरी नै बलि दिने चलन छ। त्यसैगरी विजया दशमीमा पनि देवी दुर्गाको नाममा घरघरमा वली दिने गरिन्छ।

तर अन्यत्रको कुनै चर्चा हुन्न र किन गढिमाइको बलिको मात्र यसरी विरोध भइरहेको छ। मैले यो कुरा बुझन सकिरहेको छैन। अर्को कुरा बलि प्रथाले गढिमाई विवादमा परेको हैन।

एक दशकदेखि केही संचार माध्यम र कथित पशुअधिकारकर्मीहरूले यसलाई विवादमा तान्ने प्रयास गरेका हुन्। मान्छेको आस्था र विश्वासलाई कसैले पनि रोक्न मिल्दैन। र विरोधको यहा कुनै प्रभाव परेको छैन। बलि दिनेहरूको संख्या वर्षेनी बढ्दो छ।

मेलाको आर्थिक सामाजिक फाइदाको पाटो चाहिँ के देख्नुभएको छ ?

हेर्नुस, मेलामा भारतबाट समेत लाखौं दर्शनार्थीहरू आउने गरेका छन्। यसबाट यस क्षेत्रको व्यपार, व्यवसाय र ख्यातिसमेत देश विदेशमा फैलिएको छ।

त्यो भन्दा पनि ठुलो कुरा चाहि के हो भने सरकारले योजना बनाएर काम गर्ने हो भने गढीमाई नेपालको धार्मिक पर्यटन विकासको निम्ति कोसेढुंगा सावित हुन सक्छ।

यहाँ आउने श्रद्धालुलाई नेपालका अन्य मठ मन्दिर र देवालयमा समेत लैजाने व्यवस्था मिलाउनुपर्छ। यसबाट नेपालको धार्मिक पर्यटनको विकाससंगै देशको अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्नसक्छ भन्ने मलाई लागेको छ।

गढिमाई क्षेत्रको विकासका लागि सरकारलाई के सुझाव दिन चाहानुहुन्छ?

गढिमाइ नेपालको मात्र होइन। दक्षिण एसियामा नै सबैभन्दाबढी बलि दिइने पिठ हो। गढिमाईप्रति सर्वसाधारणको अत्यन्त ठूलो आस्था र विश्वास छ। जसका कारण देशविदेशबाट लाखौं मान्छे यहाँ आउने गरेका छन्।

यसको समूचित विकास गर्न सकियो भने देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण प्रभाव पार्न सक्छ। यति ठुलो महिमा बोकेको मन्दिरको विकासका लागि अहिलेसम्म कुनै सरकारले चासो देखाएको छैन र लामो समयदेखि ओझेलमा पर्दैै आएको छ।

गढिमाईको विकास निम्ति काम गर्न धेरै ढिला भइसक्यो भन्ने मलाई लागेको छ। अब संघीय, प्रदेश र स्थानीय सरकारले मिलेर धार्मिक पर्यटन अभिवृद्धिको लागि गुरुयोजना बनाएर काम गर्नुपर्छ भन्ने मलाई लागेको छ।

सुविधाजनक सडक, पार्कि· स्थल, धर्मशाला, वधशाला र मेला परिसरको कम्पाउन्डजस्ता तत्काल गर्न सकिने काम गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

प्रतिक्रिया दिनुहोस्