अन्धविश्वास, नकारात्मक सोच र गाली



हामी सधैँ अन्धविश्वास, नकारात्मक सोच र नेतालाई मात्र गाली गर्छौं। यसले न त नेताहरू बदलिन्छन्, न मुलुक द्रुत विकासमा जान्छ। राजतन्त्रपछि अहिलेसम्मको अवस्थालाई हेर्दा देशमा विकास नभएको होइन। तैपनि जति हुनुपर्ने हो त्यति भएको छैन।

कारण जनताले सर्वप्रथम कुनै कुराहरूको सस्तोमा उपभोग गर्न पाइराखेका छैनन्, सुरक्षाको कुरा गर्दा न्यायनिसाफ राम्ररी पाइराखेका छैनन्।

वातावरणको सुधार नहुनु, सवारी र राजमार्गका कुराहरू गर्दा दिनहुँ अकालमा व्यक्तिको ज्यान गइराख्नु, अझ त्यसमाथि मुलुकमा सरकार नभएको जस्तो हेलो सरकार अनुगमन, अख्तियार आदि निकायहरू पनि सुतिराखेको अथवा नाटकजस्तो आभास हुन्छ।

अहिले मुलुक हाँक्नेहरू गफ र ठूलो सोच धेरै राख्छन् तर सानातिना जनताका आधारभूत आवश्यकता यत्तिकै अल्झिराखेका छन्, जुन भनिराख्नुपर्ने कुरा होइन।लोकतान्त्रिक मुलुकमा कुनै पनि सरकारले सर्वसाधारणका सानातिना समस्याहरू सुल्झाउँदै जानुपर्दछ, बाँकी पूर्वाधारका विकासहरू आफैं हुने कुरा हो, खाली सरकार कडा हुनु आवश्यक छ।

सरकारले जब जनताका समस्यामा ध्यान दिँदैन र बेवास्ता गर्दछ, तब जनताको काम हो यिनीहरूलाई खबरदारी गर्नु, यसपछि मुलुक द्रुत विकासमा जान समय लाग्दैन। तर यसप्रति जनता उति जागरुक भएको देखिँदैन। एक समय थियो राजतन्त्रको पालामा जनतालाई केही वाक स्वतन्त्रताको कमी र विकासको कमीले गर्दा जनताले लोकतन्त्रलाई अपनाउनुपर्यो।

हाम्रो जस्तो सानो मुलुकमा जरुरत थिएन संघीयता तर एक हिसाबले ठिक्कै भयो। यसलाई समय र भगवान्को इच्छा सम्झनु पर्दछ। हामीले यसमा कसैलाई दोष दिनुपर्ने कुरा छैन। आज हाम्रो मुलुकमा लोकतन्त्र आएको पनि तीन दशक भइसक्यो तर विडम्बना के छ भने, मुलुकले दु्रत विकासको काँचुली फेर्न पाएको छैन।

अन्यथा मुलुक सधँै ऋणभारमा डुबिराख्ने थिएन होला, उद्योग व्यवसायहरू धराशायी हुँदैनथे होला। यस्तो बेला सरकारको कार्य हो उद्योग तथा अर्थजस्ता ठाउँमा मन्त्रीहरूको हेरफेर गरेर कडा कदम चाल्नु पर्ने, तर सरकार यसप्रति गम्भीर नभएको आभास हुन्छ।

अहिले मुलुकको हाललाई नियाल्दा युवा पुस्ताहरूको खाँचो छ, अहिलेको अवस्थामा बाबुआमाको हेराइमा युवा पुस्ताहरूको आर्थिक, सरसफाइ, विदेशका कुरालाई लिएर हेर्ने हो भने हल्का अनुशासनहीन त छँदै छ, तापनि दिमाग र सोचाइको हिसाबले यिनीहरू हामीभन्दा धेरै अगाडि छन्।

त्यसकारण अहिलेको युवा पुस्ताले विदेशलाई वास्ता नगरी यहीँ नै पढाइ गर्ने र यहीँ नै इलम गर्ने सोच राख्नु जरुरी छ। साथै केही राजनीतिक क्षेत्रमा पनि चाख राख्नु जरुरी छ भने यो क्षेत्रमा प्रवेश गरेर संघर्ष गर्नु आजको आवश्यकता हो। त्यसपछि हेर्नुस्, हाम्रो देशको भविष्य उज्ज्वल हुनेछ।

वास्तवमा भन्ने हो भने हाम्रो मुलुकको भौगोलिक वातावरण नै यस्तो छ कि तुरुन्त विकास हुनु पनि अलि अप्ठ्यारो छ। एक त धेरै पहाडि भाग, भूपरिवेष्टित मुलुक, उद्योग व्यवसायका लागि समूह नहुनु जस्ता कुराहरू हाम्रा लागि दुर्भाग्यका विषय हुन्।

हाम्रो जस्तो मुलुकमा सरकारहरू पूर्वाधार विकासका कुराहरूलाई भन्दा गुटबन्दी, कार्यकर्ता, गफ, भ्रष्ट कर्मचारी, खराब व्यापारीतिर केन्द्रित भइराखेका हुन्छन्। मुलुक हाँक्नेहरू पनि अलि ढिड छन्। कारण आफ्नो स्वार्थको लागि जे पनि गर्छन्।

जस्तै– मन्त्री र सांसदहरू बढी हुनु, धेरै कर्मचारी, खुल्ला प्रतियोगिता छोडी आफ्नो मान्छेलाई मात्र कुर्सी दिनु, यूवा पुस्तालाई स्वदेशमा नै पढ्ने र काम गर्ने वातावरण नबनाइदिनु, भ्रष्टाचारीहरूलाई पेल्न नसक्नु आदि कुराहरू नै दु्रत विकासका बाधक हुन्।

यो देशमा सत्तापक्ष गलत छ, त्यो आफ्नो ठाउँमा छ। तर प्रतिपक्ष पनि उत्तिकै दोषीका भागिदार छन्। कारण प्रतिपक्षहरू आफ्नो कार्यकालमा आफूले गर्नुपर्ने दायित्व सबै भूलिराखेका हुन्छन्, तर सत्ताबाट बाहिरिनासाथ प्रतिपक्षले सत्तापक्षलाई खण्डन तथा आचोचना गरिराखेका हुन्छन्।

यसबाहेक सत्तापक्ष र प्रतिपक्षबीच फाइदा हुने कुराहरू गुपचुप र साँठगाँठ भइराखेको हुन्छ भने बाहिर जनताको नजरमा नाटक चलिराखेको हुन्छ। यो एकदम गलत संस्कार हो।अहिलेको परिप्रेक्ष्यमा देश हाँक्नेहरूमा मुलुकमा उद्योग व्यवसायको वातावरण हुँदा पनि सोच र मनलाई व्यवहारमा ठूलो बनाउन छोडेर विदेशीको अगाडि मुख ताकी हात फैलाउने संस्कार छ।

यी कारणले गर्दा पनि मुलुकमा लोकतन्त्र आएर पनि नेपालीहरूको अस्तित्व गिरिराखेको आभास हुन्छ।
यो ठाउँमा एक पक्षलाई मात्र दोष दिनुबाहेक सरकार, युवा पुस्ता, कर्मचारी, व्यवसायी तथा हामी सर्वसाधारण खुदले पनि स्वार्थ, लालच, अज्ञानताका कारण मुलुकको लागि खासै योगदान गर्न सकिराखेका छैनौं, अन्यथा उद्योग व्यवसाय नफस्टाउनु, सधैँ महँगी बढ्नु, प्रशासनमा झमेला आउनु, वातावरण प्रदूषित हुनु, सवारी तथा सडकमा समस्या आउनु र यसबाट हामी पीडित हुनुपर्ने थिएन होला।

समग्रमा के भन्न सकिन्छ भने, एकपल्टको जीवनमा राम्रो मान्छे भएर बाँच्ने हो, एक–अर्कालाई शिक्षा दिने हो। यस्ताई अर्को सब्दमा भन्नुपर्दा सधैँ नकारात्मक नहुने, गलत काम नगर्ने, राष्ट्रभाव राख्ने र समाजको सोचलाई बदल्ने हो।

जसले गलत काम गरिराखेका हुन्छन् तिनीहरूलाई बदल्नु जरुरी छ। अन्यथा भोलिको खराब दिन, रोगको सिकार, सन्तानको बिच्चली आदि कुरा ईश्वरले यहाँ नै देखाउनेछन्।

– रमेशकेशरी वैद्य,
छत्रपाटी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्