नेपालमा खेलेर जीवन चलाउनै मुस्किल : थापा



कृष्ण थापाले चेस खेल क्षेत्रमा प्रवेश गरेर विभिन्न प्रतियोगितामा सहभागी भएको २८ वर्ष भइसकेको छ। हेटौंडा–५ मा रहेको सिद्धार्थ शिशु सदन बोर्डिङबाट २०४९ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएका उहाँ फिडेको अन्तर्राष्ट्रिय कोचसमेत हुनुहुन्छ। हालै नेपालमा भएको एसियन एमेच्योर चेस च्याम्पियन हुनुभएका हेटौंडाका युवा खेलाडी थापा धेरैपटक अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता बनिसक्नुभएको छ। पछिल्लोपटक नेपालमा सम्पन्न ठूलो प्रतियोगितामा थापाले १५ मुलुकका खेलाडीलाई पछि पार्दै नेपालको नाम अग्रपंक्तिमा राख्नुभएको छ। साफ च्याम्पियनसिप प्रतियोगिताका लागि आइतबार बंगलादेश जान लाग्नुभएका थापासँग नेपाल समाचारपत्रका लागि हेटौंडा संवाददाता रोशन पराजुलीले गरेको कुराकानीको सारंश :

नेपालमा बुद्धिचाल प्रतियोगिताको मुख्य समस्या के हो ?

यो मास गेम होइन। बुद्धिचालको महत्व बुझ्नेलाई मात्रै चिन्ता र चासो छ। नेपालमा बुद्धिचाल संघले बुद्धिचालको महत्व बुझाउन पनि सकेको छैन।

विद्यालय तहमा बुद्धिचाल खेल र प्रतियोगिताबारे सिकाइनुपर्छ। विद्यालयमा प्राथमिक तहबाटै बुद्धिचालको प्रशिक्षण शुरू गर्ने हो भने विद्यार्थी विज्ञान, गणित, अंग्रेजी जस्ता विषयमा क्षमतावान् बन्न सक्छन्। युरोपभर विद्यालय तहमा चेसको अनिवार्य प्रशिक्षण दिइन्छ।

विद्यालय तहमा पढ्ने बालबालिकाको सबै विषय राम्रो बनाउन यो खेल खेलाइनुपर्छ। नेपालमा विशेष गरी गणित विषय कमजोर भएकोमा सबैलाई चिन्ता छ तर, सबभन्दा उपयुक्त माध्यम भनेको बुद्धिचाल खेल नै हो। तर, आम अभिभावकले बुद्धिचालको महत्व बुझेका छैनन्। त्यसैले आफ्ना नानीबाबुलाई खेल्नै दिँदैनन्।

बुद्धिचाल संघले गरेको काम सन्तोषजनक छ ?

बुद्धिचाल संघको वर्तमान कार्यसमितिमा हेटौंडाकै केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतको कार्यकारी नेतृत्व रहेको छ। हेटौंडामा बुद्धिचाल प्रतियोगिताहरू गर्नुपर्छ।

विगतमा पनि हेटौंडाले खेल क्षेत्रमा खासै उन्नति गरेको थिएन। जबकि, एन्फा अध्यक्ष गणेश थापा हेटौंडाकै हुनुहुन्छ। तर, पनि फुटबलमा हेटौंडाले खासै प्रगति गर्न सकेन।

बुद्धिचाल संघमा हालै भएको नयाँ नेतृत्वबाट केही आशा गर्न सकिन्न त ?

नयाँ नेतृत्वसँग आशावादी हुन सकिन्छ। केही गर्न सके राम्रो हुन्थ्यो भन्ने लागेको छ। प्रतियोगिता आयोजना गर्ने, तालिम सञ्चालन गर्ने र बुद्धिचालबारे सकारात्मक धारणा विकास गर्न सकिन्छ।

विद्यालय तहमा बुद्धिचाल खेल सिकाइनुपर्छ। विद्यार्थीको क्षमता विकास गर्नका लागि संघले केही अभियान शुरू गरोस् भन्ने चाहना मेरो पनि हो। संघले केही गर्छ भन्ने मेरो विश्वास छ।

तपाईंले थाइल्यान्ड र अस्टे«लियामा बुद्धिचाल प्रशिक्षण पनि गर्नुभयो। त्यहाँको अनुभव कस्तो रह्यो ?

विदेशमा कुनै पनि खेलको महत्व राम्रोसँग बुझेका हुन्छन्। तर, नेपालमा विद्यालयमा चेस खेल्यो भने अझै पनि गाली गर्ने चलन छ।

जबसम्म विद्यालय तहमा खेलकुदलाई महत्व दिइँदैन, तबसम्म खेल क्षेत्रले फड्को मार्न सक्दैन। खेलाडी उत्पादन गर्ने क्षेत्र भनेकै विद्यालय हो। विदेशमा चेस प्रशिक्षकलाई पनि राम्रो सेवा–सुविधा दिइन्छ।

तर, नेपालमा खेलेर जीवन चलाउनै मुस्किल छ। राखेपले हालसम्म पनि चेसको प्रशिक्षक नियुक्त गर्न सकेको छैन। विदेशमा विद्यालयमा हप्तामा २ दिन खेलकुदलाई छुट्याउने गरिन्छ। तर, नेपालमा त्यस्तो छैन।

नेपाल समाचारपत्रमार्फत भन्न मन लागेको कुरा केही भए ?

अहिले खेल क्षेत्रको संघहरूले राम्रो काम गर्ने अवसर छ। मुलुक संघीय संरचनामा गएको छ। तीन तहको सरकार छ। सबै सरकारले खेलाडीलाई राम्रो व्यवहार गर्नसके सबै क्षेत्रमा सुधार आउँछ।

खेलकुदका संघहरूलाई राजनीतिक दलको भ्रातृ संगठनका रूपमा उपयोग गर्ने र आफ्नालाई अवसर दिने काम बन्द हुनुपर्छ। क्षमता भएका खेलाडीलाई अवसर दिने हो भने नेपालले पनि खेल क्षेत्रमा राम्रो प्रगति गर्न सक्छ।

 

 

प्रतिक्रिया दिनुहोस्