नौ वर्षको उमेरदेखि यही छु, कसरी बाहिरिया भएँ : ढकाल

प्रदेश ३ को राजधानी भक्तपुर बनाउन आवाज उठाउँछु :  भँडेल



भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा प्रदेश सभाका लागि उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी रौनक बढेको छ। १४ मंसिरमा हुने उपनिर्वाचनमा भक्तपुर–१, प्रदेशसभा (क) मा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ। 
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको दाबी सँगसँगै भक्तपुरमा प्रभावशाली मानिने नेमकिपाले जनताले आफूलाई खोजेको जिकिर गरेको छ। तर पनि मुख्य प्रतिस्पर्धा भने नेकपा र कांग्रेसबीच नै हुने देखिन्छ। नेकपाले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ।
प्रदेश सांसद स्वर्गीय हरिशरण लामिछानेको सपनालाई पूरा गर्दै आफ्नो प्रदेश क्षेत्र मात्र नभएर समग्र भक्तपुरलाई विकास गर्न सडक, खानेपानी, शिक्षालगायतका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने उहाँको चुनावी प्रतिबद्धता रहेको छ। धार्मिक सांस्कृतिक र प्राकृतिक रुपमा धनी रहेको जिल्ला भक्तपुरलाई पर्यटनको माध्यमबाट सबल बनाउँदै रोजगारी सिर्जना गर्ने तथा सुखी नेपाली र समृद्ध नेपाल बनाउने ढकालको दाबी छ।
यसैगरी, नेपाली कांग्रेसले संविधानसभामा उम्मेदवारसमेत रहेका कृष्णलाल भँडेललाई प्रतिस्पर्धामा अघि सारेको छ। जनताको निराशालाई आशामा बदल्ने उहाँको चुनावी एजेन्डा छ। उहाँको अर्को पनि चुनावी एजेन्डा छ, प्रदेशको नामकरण चाँगुनारायण राख्ने र प्रदेश ३ को राजधानी भक्तपुरमा सार्ने। 
यसै सेरोफेरोमा नेपाल समाचारपत्रका लागि नेकपाका उम्मेदवार ढकाल र कांग्रेस उम्मेदवार भँडेलसँग पुष्कर बुढाथोकीले गरेको कुराकानीको सारः
ढकालजी, निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
हामीले हाम्रो सबै वडाका साथीहरूको बृहत् भेला गरेर महिला, युवा र पार्टीको परिचालन समिति गठन गरिसकेका छौं। हाम्रो घरदैलौ कार्यक्रम शुरु भएको छ।
तपाईंको उम्मेदवारी केका लागि ?
सरकारले समृद्ध नेपाल, सुुखी नेपाली भन्ने नारा अघि सारेको छ। त्यही नारालाई साकार पार्न समृद्ध भक्तपुर र भक्तपुरका जनसमुदायलाई सुखी बनाउने उद्देश्यका साथसाथै यहाँको भौतिक पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्न मेरो उम्मेदवारी हो।
तपाईंले पार्टीबाट टिकट पाएपश्चात् पार्टीभित्र किन बिरोध भयो ?
बिरोध आएको हैन। आफूलाई मन परेको साथी आओस् भन्ने चाहना सबैको हुन्छ, त्यो स्वाभाविकै हो। मिडियाले प्रचार–प्रसार गरेको र अन्य साथीहरू विरोधमा आए भन्ने कुरामा सत्यता छैन। नेकपा एक छ, कुनै असन्तुष्टि छैन, सबैको एकमत छ।
तपाईंको चुनावी एजेन्डा के छ ?
मुख्यतया यस क्षेत्रको भौतिक पूर्वाधार विकासअन्तर्गत सडक, खानेपानी र ढल निकासलाई हामीले मुख्य विषय बनाएका छौं। व्यवस्थित सडक विकासलाई अर्को एजेन्डा बनाएका छौं।
भक्तपुर चाँगुनारायण नगरपालिकाअन्तर्गत दुवाकोटमा पर्ने वीर हस्पिटलको स्थानान्तरणलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने विषयलाई हामीले एजेन्डा बनाएका छौं।
नेक कलेजको जुन समस्या देखा परेको छ त्यसलाई समाधान गर्ने विषयलाई हामीले विशेष एजेन्डा नै बनाएका छौं। नगरकोट, चाँगुनारायणलगायत भक्तपुर जिल्लामा पर्ने अन्य पर्यटकीय क्षेत्र विकासको अर्को एजेन्डा बनाएका छौं।
सम्रगमा यहाँको जनताको विकास हुने गरी रोजगारीका अवसर सिर्जना गर्ने, आर्थिक विकास गर्ने, शिक्षाको स्तर उन्नति, स्वास्थ्यमा आम मानिसको पहँुचलाई विकास गर्ने मुख्य एजेन्डा हुन्।
आजको दिनमा जनताको घरअगाडिको बाटो राम्रो छैन, खानेपानीको घर–घरमा सहज उपलब्ध छैन, स्वास्थ्यमा बढी खर्च गर्नुपर्ने अवस्था छ, शिक्षामा अधिक मात्रामा खर्च गर्नुपर्ने स्थिति छ, यी जनताका मुख्य समस्या हुन्।
तपाईंको जन्म काभे्र र बसाइ काठमाडौं भएकाले तपाईंलाई बाहिरको उम्मेदवार भन्छन् नि ?
जनताले भन्नुभएको छैन। विपक्षी दलका साथीहरूले गर्नुभएको तर्क हो। विपक्षी दलका साथीहरूले गर्नुभएको तर्क पनि सुनें, मजेरीमा जन्मिएको भनेर।
अब, मजेरीमा जन्मिने युग सकियो, हस्पिटलमा जन्मिने दिन आएको छ। त्यस्तो हो भने अबका सबै नयाँ पुस्ताहरू कि पाटन हस्पिटल कि वीर हस्पिटलमा गएर उठ्नुपर्यो। मजेरी, गोठ, पिंढीमा जन्मनुपर्ने जुन बाध्यता थियो, जसले गर्दा मातृशिशु मृत्युदर उच्च हुने युग थियो, त्यो युग नेकपाले पछाडि पारिसक्यो।
विपक्षीले मजेरी पिंढीको नारा लगाएर केही हुन्न। जनतामा यस्तो केही भावना छैन। देउपुरमा जन्मिए पनि ९ वर्षको उमेरदेखि भक्तपुरमा आएर बसेको छु, यही क्षेत्रको मतदाता हँु।
यहि क्षेत्रको विद्यार्थी आन्दोलनबाट स्थापित भएको हुँ, यहीं पढेको, यहीं हुर्केको भएर विपक्षीको नारा चाहिं कर्कलामा हालेको पानीजस्तै छ, जनतामा केही भ्रम छैन।
तपाईंले चुनाव जित्ने आधार के ?
पहिलो कुरा यो स्थान नेकपाले नै जितेको स्थान हो। राप्रपा र नेपाली कांग्रेसको संयुक्त गठबन्घन हुँदा पनि धेरै बहुमतले हामीले जितेका हौं। अहिलेको चुनावमा नेपाली कांग्रेस र राप्रपा छुट्टाछुट्टै उठ्दै छन्।
त्यस आधारले पनि हाम्रो जित निश्चित छ। दोस्रो कुरा यो निर्वाचन क्षेत्र नेकपाको बलियो निर्वाचन क्षेत्र हो, संगठनको हिसाबले पनि हामी बलियो छौं।
तेस्रो कारण केन्द्र, प्रदेश र स्थानीयमा नेकपाकै सरकार छ। नेकपाकै सरकार, जनप्रतिनिधि विकास गर्न चाहिन्छ , यो भावना जनतामा जागृत भैसकेको छ।
समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई साकार पार्न, विरोध गर्ने हैन विकास गर्नुपर्छ भन्ने भनाइ सम्पूर्ण चाँगुनारायणवासीको छ। त्यसकारण हाम्रो जित निश्चित छ।
घरदैलो कार्यक्रम गर्दै हुनुहुन्छ, कस्तो हुँदै छ ? 
हामीले कात्तिक २९ गतेबाट शुरु गरेका हौं। मंसिर ८ गते सक्ने हाम्रो योजना छ। ८ गतेभित्र हामी घरदैलो कार्यक्रम सक्नेछौं।
तपाईले चुनाव जित्नुभयो भने तपाईंको भावी योजना के–के रहेका छन् ?
घोषणापत्रका कुराहरू नै हाम्रा मुख्य भावी योजना हुनेछन्। नगरकोट जाने बाटो निकै समयदेखि विवादमा आएको थियो, हामीले निकै पहल गरेर त्यो समस्या सल्टाएका छौं।
वर्षांैदेखि पिच हुन नसकेको नगरकोटको बाटोको कार्य थालनी गरिसकेका छौं। मेरो प्रतिबद्धता भनेको यो ठाउँको समग्र विकास गर्नु हो।
भौतिक पूर्वाधार, मानवीय विकास, यहाँको पर्यटन क्षेत्रको विकास, समग्रमा भक्तपुर क्षेत्रको विकास गर्नु आमजनताको सुख–दुखको साथी हुनुनै मेरो प्रतिबद्धता हो र यही लक्ष्य रहनेछ।
अन्तमा, तपाइंको सन्देश के छ ?
सम्पूर्ण निर्वाचन क्षेत्रका मतदातासंँग यो आग्रह गर्न चाहन्छु, हजुरहरूले हिजो पनि नेकपाका उम्मेदवारलाई जिताउनुभएको थियो। नियतीले उहाँलाई छिट्टै लग्यो, उहाँ हामीमाँझ हुनुहुन्न।
पाँच वर्षका लागि दिनुभएको जनमतको फेरि परीक्षण गर्नुपर्ने परिस्थिति आएकाले हामी पुनः तपाईंहरूमाँझ आइपुगेका छौं।
तपाइंहरू सम्पूर्ण समुदायलले जसरी भरोसाका साथ नेकपालाई विश्वास गरेर विजयी गराउनुभएको थियो, मलाई पनि त्यस्तैगरी विजयी गराउँनुहुन्छ भन्ने कुरामा म ढुक्क छु।
भँडेलजी, नेकपाले जितेको स्थानमा के अब कांग्रेसले जित्ला ?
सम्पूर्ण नेपालीलाई थाहा भएकै कुरा हो, हाल हाम्रो देशमा हत्या, हिंसा, बलात्कार, भ्रष्टचार, महंँगी यावत कुरादेखि जनताहरू वर्तमान सरकारसँंग वाक्कदिक्क भइसकेका छन्।
त्यस्ता कुराहरूको अन्त्य गरी देशमा परिर्वतन ल्याउन आम मतदाताले नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिएर विजयी गराउनुहुनेछ। हाम्रो जित निश्चित छ।
जनता प्रदेश सरकार र केन्द्रीय सरकारको कामबाट धेरै निराश भएका छन्। अब पनि नेकपालाई चुनाव जितायौं भने झन दुःख पाउँछौं भन्ने यहाँका जनतालाई लागेको छ।
आफूलाई विजयी बनाउन पार्टी र आकांक्षीबीच कस्तो समन्वयन गर्नुभएको छ ?
पार्टीका साथीहरू सबै एकतावद्ध ढंगले अगाडि बढिरहनुभएको छ। कोही कतै बिचलित हुनुहुन्न। प्रचार–प्रसारमा हामी सबै कटिबद्ध भएर लागिपरेका छौं। पार्टीका साथीहरू मात्रै नभई आम जनतासँंग पनि मेरो समन्वय राम्रो छ।
मतदाताले तपाईंलाई के आधारमा मत दिने ?
मैले जुन दिनदेखि राजनीति गरेँे, सोही दिनदेखि यही क्षेत्रमा रगत–पसिना बगाएँ। सबैको दुःख–सुखमा साथ दिएको छु, मलाई पनि दिनुभएको छ। यस कारण आम मतदाताले मलाई मत दिनुहुन्छ। म विजयी अवश्य हुन्छु, यसमा दुईमत नै छैन।
तपाईं उठ्नुभएको क्षेत्रमा नेकपाको पकड बलियो छ भन्छन् नि ?
त्यो भनाइ परिर्वतको सिद्धान्तलाई नबुझ्नेको हो। नेकपाका साथीहरूले झुक्क्याउनु भो, वर्तमान पार्टीका अध्यक्षले घर–घरमा आएर मतदाताहरूलाई पैसा बाँढ्नुभयो, रेल गुडाउँछु, पानीजहाज चलाउँछु, घरघरमा ग्यासको पाइपको व्यवस्था गर्नेछु भन्नेजस्ता यावत कुराहरूले जनतालाई झुक्काउनुभयो।
मतदाताहरू सचेत भइसकेका छन्। यस्ता फजुल कुराको पछाडि जनता अब लाग्ने छैनन्।
तपाईंले चुनाव जित्ने आधार के ?
जुन समयदेखि राजनीतिक क्षेत्रमा लागें, त्यस बेलादेखि नै मैले विकास निर्माण, धार्मिक क्षेत्र, सामाजिक कार्यलगायत अन्य कार्यहरूमा यस क्षेत्रका वासिन्दाहरूलाई साथ सहयोग गर्दै आएको छु।
जनताको हरेक दुख–सुखमा साथ दिंदै आएको छु, भोलिका दिनमा पनि दिनेछु। यही कारणले पनि म चुनाव निर्धक्ककासाथ जित्नेछु।
तपाईंका चुनावी एजेन्डाहरू के के हुन् ?
मेरो निर्वाचन क्षेत्र चाँगुनारायाण क्षेत्र राजधानीसँग जोडिएको ठाउँ हो। तर विकासको दृष्टिकोणबाट यो क्षेत्र सधैं पछि पर्यो। यहाँको समस्यालाई प्रदेश सरकार र केन्द्र सरकारले वास्ता गरेन। बाटोको समस्या उस्तै छ।
पर्यटकीय क्षेत्र भए पनि राज्यको ध्यान यता पुगेको छैन। नगरकोटमा जाने बाटोको हालत खराब छ।
त्यसैले मेरो चुनावी एजेन्डा यस क्षेत्रको विकासमा केन्द्रित छ।
संघीय सरकारको विकृति, विसंगतिदेखि जनता वाक्क भएका छन्। सरकारको कुरा बढी गर्ने, काम केही नगर्ने प्रवृत्ति देखिएको छ। तर म काम गरेर देखाउनेछु। जनताको भावनालाई मैले बोक्नेछु।
जनता भोट हाल्ने तर केही नपाउने अवस्थाका कारण दिक्क भइसकेका छन्, जुन जोगी आएपनि कानै चिरेको भन्ने उखानजस्तो त हुनेहैन ?
वर्तमान सरकारले झुटा आश्वासन दिएकाले जनतामा यस प्रकारको निराशा छाएको हो। रेल चलाउँछु, पानी जहाज ल्याउँछु , घर–घरमा ग्यास पाइपको व्यवस्था गर्नेछु भन्नेजस्ता हावादारी कुराहरूले गर्दा आम मतदाताहरू वाक्क दिक्क भएको सही हो।
वर्तमान सरकारले गरेको महंँगी, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारविरुद्धमा, मूल्यवृद्धि र करवृद्धिको पक्षमा, मत दिने भए कम्युनिस्टलार्ई हैन भने त्यसको प्रतिकार गर्ने हो भनेर नेपाली कांग्रेसलाई धम्क्याउने काम भएको छ।
अहिलेको अवस्थामा कांग्रेस पुरानो पार्टी, अपठ्यारो परिस्थितिमा निकास कांग्रेसले नै दिन्छ। त्यस कारणले कांग्रेसलाई मत दिएर यो क्षेत्रमा विजयी गराउनुहुन्छ भन्ने कुरामा म ढुक्क छु।
नेपाली कांग्रेसमा एउटा समस्या के छ भने चुनावको बेला जहिले पनि अन्तरघात हुने। अन्तरघातका कारण कतिपय ठाउँमा कांग्रेसका उम्मेदवार हारेका छन्। यसपटक त्यस्तो हुने सम्भावना तपाईंले देख्नुभएको छ कि ?
यसपटक यस्तो हुने यहाँ अलिकति पनि सम्भावना छैन। यसमा तपाईंले थोरै पनि चिन्ता नलिए हुन्छ। पार्टीका साथीहरू एकताबद्ध भएर लाग्नुभएको छ। उहाँहरू सबै सक्रिय हुनुहुन्छ।
यहाँका सबै नेताहरू उत्साजनक रूपमा लाग्नुभएको छ। त्यसैले यहाँ यसपटक यो होला या त्यो होला भन्ने स्थिति छैन। भक्तपुरका पार्टीका सबै नेताहरू चुनावको प्रचार–प्रसारमा जोडतोडका साथ लागेको तपाईंले देख्नुहुन्छ।
तपार्इंले प्रदेशसभा सदस्य जित्नुभयो भने– ‘भावी योजना के रहेको छ ?
नगरकोटको सडकलाई एक वर्षभित्र कालोपत्रे गरेर यस पर्यटकीय क्षेत्रको मुहार फेर्ने। दुई तिहाइको सरकारले आजसम्म प्रदेशको राजधानी स्थायी रुपमा तोक्न र नामकरण गर्न सकेको छैन।
म प्रदेशसभामा विजयी भएर जाँदा प्रदेशको नाम चाँगुनारायण प्रदेश र राजधानी भक्तपुर बनाउन बुलन्द आवाज उठाउनेछु।
अहिलेसम्म प्रदेश ३ को नामकरण  र प्रदेश ३ को राजधानी तय भएको छैन। तपाईंले प्रदेश ३ को राजधानी भक्तपुर ल्याउन प्रयास गर्नुहुन्छ ?
हो, मेरो पहिलो प्रयास यही हुन्छ। प्रदेश ३ को दुई तिहाइ सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न सकेको छैन। राजधानी पनि तोक्न सकेको छैन।
मैले चुनाव जितेर गएपछि सुरुमै यो विषयलाई लिएर टेबुल ठटाउने छु। प्रदेशको नाम चाँगुनारायण र प्रदेशको राजधानी भक्तपुरमा राख्नका लागि मैले बुलन्द आवाज उठाउने छु। प्रदेशसभामा यस आवाजलाई मैले जोडतोडका साथ उठाउने छु।
अन्तमा, मतदाताहरूमा तपाईंको अपिल के छ ?
सबै मतदाताहरूमा मेरो आग्रह छ, नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरेर मलाई विजयी गराई दिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस्