हामी एकल महिलाबाट पनि रोयल्टी लिन्छ सरकार !



फुर्दिकी शेर्पा
निमाडोमा शेर्पा

फुर्दिकीनिमाडोमा ४२ र ३६ वर्षका महिला हुनुहुन्छ। उहाँहरूका क्रमशः तीन र दुई छोराछोरी छन्। दुवै एकल महिला हुनुहुन्छ– उहाँहरू दुवैका श्रीमान् सगरमाथा आरोहीहरूलाई सघाउने क्रममा २०७० र ७१ सालमा हिमपहिरो र खरपसमा परी बित्नुभयो।समाज र परिवारबाट अपमान र हेलाको शिकार भएका उहाँहरूले निर्णय गर्नुभयो– हामी पनि आफ्नो पहिचान बनाऔं ! श्रीमान् र परिवारको पहिचानले मात्र उहाँहरूलाई विधवा र बिचरीको परिचयभन्दा बढी केही दिएन, त्यसैले स्वतन्त्र र सम्मानित पहिचान बनाउन उहाँहरूले आवश्यक ठान्नुभयो। श्रीमान्हरू जुन सगरमाथा चढ्ने–चढाउने क्रममा बित्नुभयो, अब त्यही सर्वोच्च शिखर चढेर विश्वलाई एकल महिला पनि सक्षम छन् भनेर देखाउने । अन्ततः आजभन्दा ६ महिनाअघि उहाँहरू सर्वोच्च शिखरको थाप्लोमा पाइला राख्न मात्र सफल हुनुभएन, श्रीमान्हरू बितेकै ठाउँमा पुगेर उहाँहरूलाई श्रद्धाञ्जली दिन पनि सफल हुनुभयो । पढौं, नेपाल समाचारपत्रका लागि कपिल काफ्लेअर्जुन कार्कीले उहाँहरूसँग चार हजार चार सयको उचाइमा रहेको दिङबोचे र एक हजार चार सयको उचाइमा रहेको ठमेलमा गरेको कुराकानी ः

कुराकानी घर–ठेगानाबाट सुरु गरौं ?

फुर्दिकीः मेरो घर दिङबोचे हो, खुमजुङ गाउँपालिकामा पर्छ। हाल काठमाडौंको कपनमा डेरा छ। बेनी, सोलुसल्लेरीमा विवाह भयो। बेनीबाट सदरमुकाम आउन एक घण्टा लाग्छ, तर घर–माइत गर्न चाहिं तीन दिन हिंड्नुपर्छ।

निमाडोमाः मेरो जन्मस्थान खुमजुङ भ्यालीमै हो, खुम्जुङ पासाङल्हामु गाउँपालिका।

 

तपाईंहरूका छोराछोरी के गर्छन्, तपाईंहरूको जीविकोपार्जन कसरी भइरहेको छ, परिचयात्मक विवरण दिनुस् न ?

फुर्दिकीः मेरा तीन छोरी छन्, ठूली छोरीलाई धर्मपुत्री बनाएर एक अमेरिकी दम्पतीले लगेको छ, उतै बस्छे। वर्षको एक पटकजस्तो भेटघाटका लागि ल्याइदिन्छन्। ऊ २० वर्षकी भई।

दुइटी छोरीहरू यतै छन्, प्रायोजकहरू फेलापरेका छन्, उनीहरूले नै पढाइदिएका छन्, होस्टेलमै बसेर पढ्छन्।
निमाडोमाः मेरो जेठो छोरा हो, छोरी कान्छी। दुवै काठमाडौंमा बसेर पढिरहेका छन्।

होस्टेलमै बस्छन्, प्रायोजकले सघाएका छन्। छोरा १२ वर्षको छ, उसलाई बाबुको मृत्युको बारेमा सबै थाहा छ, तर छोरीलाई अहिलेसम्म भनेको छैन, नौ वर्षकी भई, मृत्युको खबरले सक हुन्छ कि भनेर नभनेको।

भनिदिऊजस्तो पनि लाग्छ, तर कसरी भन्ने, बोली फुट्दैन (आँखाभरि आँसु भरिएर आउँछ, बिस्तारै बग्छ, बोल्न नसकेर रोकिनुहुन्छ)।

फुर्दिकीजीको श्रीमान् २०७० सालमा बित्नुभयो, निमाडोमाजीको श्रीमान् २०७१ मा, खुमजुङ भ्याली र दिङबोचे दिनभरिकै बाटो रहेछ, सोलु त झन तीन दिनको बाटो, तपाईंहरू अहिले जहाँ पनि सँगसँगै देखिनुहुन्छ। सगरमाथा पनि सँगै चढ्नुभयो, कसरी सहकार्य गर्ने अवस्था सिर्जना भयो ?

हामी छोराछोरीका कारणले यही काठमाडौंको कपनमा बस्न आयौं, पहिला चिनेको थिएन। हामी धर्ममा विश्वास गर्ने मान्छे, दिनैपिच्छे बौद्धमा दर्शनका लागि आउने। एकल महिला भएको पीडा त छँदैथियो।

बौद्धस्तुपमा आउने क्रममा भेट भयो, परिचय भयो, दुःखका गनथन भए, हामी दुवैको दुःख समान थियो। कोठा पनि नजिकै नै रहेछ। हामी साथी भयौं।

सगरमाथा चढ्ने कुरा चाहिं कसरी निस्क्यो नि ?

निमाडोमाः खुमजुङमा हाम्रो जीवन पातपतिङ्गर सोहोरेर बित्नेहो। जीवनको कुनै मूल्य र पहिचान थिएन। त्यसमाथि श्रीमान् बितेपछि हामी निरीह पात्रका रुपमा परिणत भयौं।

गाउँमा बस्न मन लागेन। श्रीमान्को सम्झनाले सतायो। श्रीमान् दुर्घनामा पर्नुभन्दा केही घण्टाअघि फोनमा कुरा भएको थियो, सबै राम्रो हुन्छ भन्ने कामना गरेका थियौं।

त्यही नै श्रीमान्सँगको अन्तिम संवाद भयो। त्यही सम्झेर घरमा बस्दा सधैं रोइरहने अवस्था मात्र आयो।
फुर्दिकीः दिङबोचेमा हाम्रो सानो मःमः पसल थियो।

तर, त्यसको आम्दानीले मात्र घरखर्च चल्दैनथ्यो। मेरा श्रीमान् मिङ्मा मेरा बाबु आङङिमा जो सुप्रसिद्ध आइफल डाक्टर हुनुहुन्थ्यो, उहाँको बाटो पछ्याउँदै श्रीमान् पनि उचाइका श्रमिकका रुपमा काम गर्न थाल्नुभयो।

मेरा पिताजी त घरमै बित्नुभएको हो सामान्य रुपमा नै, दुर्घटना होइन। तर पिताजी बितेको दुई महिनापछि नै श्रीमान् दुर्घटनामा पर्नुभयो। शोकमाथि शोक थपियो। नाताले ससुरा–ज्वाई भएपनि उहाँहरू घनिष्ट मित्र हुनुहुन्थ्यो।

ससुरा बितेपछि मेरा श्रीमान् अत्यन्त शोकाकूल हुनुभयो। शोककै बीचमा सगरमाथा आरोहण गर्ने विदेशिका लागि सघाउन जानुभयो, कहिल्यै फर्किनुभएन।

बाबु नभएका कारण छोराछोरीका लागि तपाईंहरू एक्लो अभिभावक वा संरक्षक हुनुहुन्थ्यो, तपाईंहरू पनि सगरमाथामा दुर्घटामा पर्नुभएको भए छोराछोरी पूर्णतः टुहुरा हुन्छन् भन्न भावनाले तपाईंलाई आरोहणतिर लाग्नुहुन्न भन्ने लागेन ?

किन नलाग्नु, लाग्यो। तर, हाम्रो जीवन शोकमा डुबेको थियो, आँसुमा पौडीखेल्दै थियौं हामी। त्यसमाथि हाम्रो अभावपूर्ण जीवन। अभाव र शोकमा डुवेको संरक्षकले छोराछोरीलाई कति सघाउन सक्छ र, वास्तवमा सगरमाथा आरोहण शोकलाई शक्तिमा बदल्ने अभ्यास थियो।

जीवनलाई सामान्यीकरण गर्ने अभ्यास थियो सगरमाथा आरोहरणको अभ्यास। हाम्रो मृत्यु भएको भए छोराछोरी टुहुरा त हुन्थे तर हामी धर्म मान्ने मान्छे, भगवानमा विश्वास गछौं, भगवानले चाहे भने हिमाल नचढेपनि हाम्रो काल आउनसक्छ।

साथमा, हामी जुन नाराका साथ सगरमाथा चढ्दैथियौं, त्यसले पनि हामीलाई प्रेरित गरेको थियो। एकल महिला पनि सक्षम छन् भन्ने सन्देश र नारालाई हामीले बोकेका थियौं। यसले हाम्रो कामले सवैलाई एक सक्षम महिलाका रुपमा अघिबढ्न प्रेरित गरेको थियो।

फुर्दिकीजीको बुबा आइफल डाक्टर हुनुहुन्थ्यो, निमाजी र फुर्दिकीजी दुवैका श्रीमान् हाइ अल्टिच्युड वर्कर, तीनै जना सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीका रुपमा सगरमाथाका विभिन्न शिविरका लागि काम गर्नुहुन्थ्यो। उहाँहरूको कामको विषयमा अलि विस्तारित रुपमा बताइदिनुस् न ?

उहाँहरू तीनै जना हाइ अल्टिच्युट वर्कर नै हो। उहाँहरूको काम भनेको इक्सपिडिसन टिमलाई सफलताका साथ शिखर पुर्याउन र सुरक्षित अवतरण गराउन आवश्यक सबै काम गर्नेहो। यसमा खरपस छल्दै र हिमपहिरोबाट बच्दै, मौसमअनुसार अघिबढ्दै र समूहका सदस्यको स्वास्थ्यस्थिति पहिचान गर्दै टिमलाई परिचालन गर्ने काम आइफल डाक्टरको हो।

असजिलो ठाउँमा भर्याङ हाल्ने, डोरी टाँङ्ने सबैकाम उहाँहरूकै हो। आङनिमाले आजीवन यही काम गर्नुभयो र सुरक्षित पनि रहनुभयो, अन्ततः आफ्नै घरमा कालगतिले बित्नुभयो, तर हाम्रा श्रीमान् भने दुर्घटनामा पर्नुभयो– एकजना खरपसमा पर्नुभयो, अर्कालाई हिमपहिरोले पुर्यो।

छोराछोरी कहाँ कसरी पढ्दैछन् ?

निमाडोमाः मेरा श्रीमान् बितेपछि मैले छोराछोरी पढाउन विदेशी प्रायोजक पाएँ। हिमालयन ट्रस्ट भन्ने संस्थाबाट प्रायोजनको संयोजन भयो। छोरा होस्टेलमै बसेर पढ्छ, तर छोरी मामाको स्कुलमा पढ्छे।

फुर्दिकीः मेरा तीनवटै छोरीहरू प्रायोजनमा आफ्नो करियर बनाइरहेका छन्। जेठी छोरी बिदेशमा छिन्, दुईटा यहीं काठमाडौंमा पढ्छन्।

प्रतिष्ठा र पहिचानका लागि सगरमाथा चढेको कुरा गर्नुभयो, सफल आरोहणपछि अहिले के–कस्ता लाभ हासिल भएको छ ?

हाम्रा बाबुले हामीलाई जुन हिमाल र हिउँसँग खेल्दै हामीलाई हुर्काउनुभयो, त्यस हिउँसँग हामीले पनि सम्बन्ध स्थापित गर्नसक्यौं, बाबु र श्रीमान्हरूले पाएको दुःख नजिकबाट अनुभव गर्नसक्यौं।

श्रीमान् बितेको ठाउँमा पुगेर श्रद्धाञ्जली दिनसक्यौं। श्रीमान् वितेपछि बिमाबाट पाएको केही रकमले घरखर्च भयो। श्रीमान्हरू तीन महिनासम्म हिमालमा हाइअल्टिच्युट वर्कर भएर तीन लाख जति रुपियाँ ल्याउनुहुन्थ्यो, त्यो पनि हामीले पायौं।

अर्को कुरा त आजसम्म पनि हाम्रो समाजमा महिला कमजोर हुन्छन्, हिमाल चढ्न सक्तैनन् भन्ने मान्यतालाई हामीले चिर्यौं, आज २५–३० नेपाली महिलाले सगरमाथा चढिसकेका छन्।

पासाङल्हामु दिदीको अभियानमा हामी इँटा थप्न सफल भएका छौं। हामीले सगरमाथा चढ्ने पहिलो नेपाली एकल महिला भने हुन पाएनौं, सन् २००८ मा नै एक महिलाले यो काम गरिसक्नुभएको रहेछ।

तर, उहाँ एकल महिलाको नारा लिएर आरोहण गर्नुभएको थिएन, यस नारासहित सगरमाथा आरोहण गर्ने पहिलो नेपाली एकल महिला भने हामी नै छौं।

हामीले शेर्पा पहिरनका साथ सगरमाथाको शिखरमा पाइला टेक्यौं, हामीले चुचुरोमा शेर्पा ड्रेसमा तस्वीर पनि खिचाएका छौं। यसअघि यो काम कसैले गरेको थिएन।यो सबै खुसीको कुरा हो। शेर्पा ड्रेसमा हामी एकल महिलाले नेपालको झण्डा फहरायौं। यो आफैमा इतिहास हो।

आर्थिक रुपमा चाहिं के लाभ भयो ? तपाईंको जीवनस्तरमा के परिवर्तन आयो ?

सगरमाथा चढेर आर्थिक रुपमा त फाइदा हुने होइन। हामीले घरदैलो अभियान चलाएर देउसी खेलेजस्तै गरेर चन्दा उठाएर खर्च जम्मा गरेका हौं, सयौं चन्दादाताको सहयोग र आशीर्वादले हामी सगरमाथा पुगेका हौं।

तर, ठूलो दुखको कुरा सरकारले ८० हजार रुपियाँको रोयल्टी पनि हाम्रालागि मिनाहा गरिदिएन। श्रीमान् बितेको पीडामा रहेका हामी जो नेपालको नाम राख्न ज्यानको माया मारेर देशको सिमानामा लड्ने सिपाहीजस्तै हिमाल चढिरहेका थियौं।

देशका लागि सिमानामा लड्ने सिपाहीले नाम र दाम दुवै पाउँछ, कम्तीमा पेन्सन, उपदान, अनुदानआदि पाउँछ, तर हामीले देशको नाम राख्यो, सरकारका तर्फबाट केही पाएनौं !

के यो नेपाली नागरिक खासगरी महिला र त्यसमाथि पनि एकल महिलामाथि सरकारको संकीर्ण मानसिकताको उदाहरण होइन !

तपाईंहरू ४२ र ३६ वर्ष उमेरका महिला हुनुहुन्छ, नाम पनि कमाउनुभएको छ, राम्री पनि हुनुहुन्छ, विवाह गरौं भनेर पुरुषहरू आएका छैनन् ?

आउँछन्, तर त्यतातिर हामीले सोचेका छैनौं। हाम्रा छोराछोरी छन्, निरन्तर हिमाल चढ्ने योजना छ, हामी स्वतन्त्र जीवन बिताइरहेका छौं।

धार्मिक चिन्तनमा लागेकाले हामीले शान्तिको अनुभव पनि गरेका छौं, हामी चाहन्छौं, हाम्रा कुनै पनि कदमले हाम्रो शान्ति र योजनामा असर पर्नुहुन्न।

तपाईंहरूलाई के लाग्छ, हिमाल आरोहणमा शेर्पाहरूको भविष्य कस्तो छ ?

हिमाल चढ्ने मात्र होइन, हाइ अल्टिच्युट वर्करका रुपमा पनि शेर्पाहरूको संख्या घटिरहेको छ। हामीले प्रत्यक्ष देखिरहेका छौं, यस क्षेत्रबाट शेर्पाहरू बिस्तारै अन्यत्र लागिरहेका छन्।

एकातिर जीवनको जोखिम छ भने अर्कातिर शेर्पाले पाउने प्रतिफलको कुरा पनि छ। शेर्पाले ज्यान जोखिममा पारेर कहाँ–कहाँको नागरिकलाई सगरमाथाको चुचुरोमा पुर्याइदिन्छ, आरोहीको नाम हुन्छ तर शेर्पाको कुनै गणना हुँदैन।

तोकिएको पैसा र टिप्स त पाउँछ तर खासै सम्मान र नाम पाउँदैन। शेर्पाको बहादुरीमा विश्वका नागरिकले नाम कमाउने, मुलुकले रोयल्टी बढाउने तर शेर्पाले चाहिं धन्यवाद मात्र पाउने !

कति शेर्पाहरू कहाँ–कहाँको नागरिकलाई बचाउन आफू मरिरहेका छन्, छोराछोरी टुहुरा बनाइरहेका छन् र घरपरिवारलाई बेसहारा बनाइरहेका छन्। तर यो कहिलेसम्म ?

विदेशीको जिम्मेवारी शेर्पाले लिन्छन्, तर शेर्पाको जिम्मेवारी कसले लिने ? गोडा, हात, दृष्टिआदि नभएका फलानाले सगरमाथा चढ्यो भन्ने नाम आउँछ, ऊ आफै चढेको हो ?

दुःख गर्ने शेर्पा नाम कमाउने अरू कोही ! चढाउने शेर्पाको नाम आउनुपर्ने होइन ? सरकारसँग पनि शेर्पाको सुरक्षा र संरक्षणका लागि कुनै योजना छैन !

अर्कातिर जलवायु परिवर्तनले पनि हिमाल आरोहणको भविष्य इतिहासमा सीमित हुने संकेत गरिसकेको छ। हिमालमा हिउँ छैन, केबल नांगो पहाड चढ्नु अझ कठिन काम हुनेछ। रक क्लाइम्बिङ थप जोखिमपूर्ण काम हो। हिमाल यति छिटोछिटो पग्लिरहेको छ कि हामी शिखर जाँदा र फर्किदा नै त्यसको अन्तर प्रष्ट देखिन्थ्यो।

नयाँ पुस्तामा पहाड–हिमाल चढ्ने रुचि देखिन्न। पहिलो पुस्ताले जति हिमाल चढ्यो, दोस्रो वा नयाँ पुस्ताले त्यसको तीन भागको एक भाग पनि चढ्ने सम्भावना देखिन्न। कालान्तरमा हिमाल आरोहण कथाको विषय भएर बाँकी रहने सम्भावना बढेको छ।

तपाईंहरू यही नोभेम्बर पहिलो साता आमादब्लम हिमाल चढ्नुभयो, आठ हजार आठ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा चढिसकेको मान्छेका लागि ६ हजार आठ सय मिटरको हिमाल चढ्ने रुचि किन जाग्यो ?

सगरमाथा विश्वको सर्वोच्च हिमाल हो भने आमादब्लम विश्वकै सुन्दर हिमाल हो। यसलाई तपाईंले जताबाट हेर्नुस् भिन्न स्वरुपमा देख्नुहुन्छ, जति हेरे पनि हेरिरहूँ जस्तो !

हामी महिला सौन्दर्यका पारखी, प्राकृतिक सौन्दर्यकी धनी आमादब्लमको सम्मानका लागि आरोहण गरेका हौं। अर्को कुरा, आरोहणका दृष्टिले सगरमाथाभन्दा बढी चुनौतीपूर्ण लाग्यो आमादब्लम।

भ्विष्यको योजना के छ ? अब के आरोहण गर्ने ?

हामी बाँकी जीवन क्लाइम्बिङतिर नै बिताउँछौं। हिमाल आरोहण गरेर मरिन्छ भन्ने मात्र पनि होइन, मर्नेहरू जहाँ पनि मर्छन्।

नामका हिसाबले खुम्जुङबाट सगरमाथा आरोहण गर्ने महिला हामी मात्र हो, त्यस क्षेत्रका महिलाको सम्मान बढायौं भन्ने हामीलाई लागिरहेको छ।

सबै नेपालीको सम्मान बढाउन हिमाल आरोहण गर्ने महिलाका रुपमा चिनिन पाउनु हाम्रालागि पनि गौरवको विषय बनेको छ। बिस्तारै गाइड बनेर हिमाल चढ्ने चढाउने क्षेत्रमा काम गर्ने हाम्रो विचार हो।

फुर्दिकीः मलाई समाज सेवामा पनि रुचि छ, आफूले सकेसम्म समाजमा गरिब दुखीको सेवामा आफूलाई समर्पित गर्नेछु।

मलाई थाहा छ, हामीलाई समाजले नसघाएको भए हाम्रो इच्छा पूरा हुनेथिएन। धेरै पैसा कमाएर धनी हुने इच्छा मलाई छैन, केही कमाएँ भने समाजसेवामा लगाउनेछु।

ट्रेकिङ गाइड हुन पढाइ पनि चाहिन्छ कि ? तपाईंहरूको पढाइले साथ दिन्छ कि के छ ?

निमाडोमाः मैले खुमुजुङ माध्यमिक विद्यालयबाट आठ कक्षा पास गरें, साथीहरूको लहैलहैमा लागेर नौ कक्षा पढ्दापढ्दै छोडें, हामी एक समूह नै थियौं त्यसरी छोड्ने। तर, काम चलाउ अंग्रेजी बोल्छु, गाइड बन्न अलिकति मेहनत गर्यो भने पुग्छ।

फुर्दिकीः मैले त स्कुलमा पाइला टेकेकी नै छैन, तर पनि काम चलाउ अंग्रेजी बोल्छु, लेख्न भने आउँदैन। गाइडका लागि अरू सीप चाहिन्छ, त्यो पूरा भयो भने हामीले लाइसेन्स पाउँछौं।

अन्त्यमा महिला भएर यस क्षेत्रमा लाग्दा यौनिक हिंसा वा अन्य कुनै लैङ्गिक समस्या भोग्नुपर्यो कि ?
अहँ परेन, हामीले सबै पुरुषबाट दिदीबहिनीको व्यवहार पायौं, कसैले यौन शोषण गर्नु त परको कुरा त्यस्तो दृष्टिले हेर्दा पनि हेरेन।

हामीलाई लाग्छ, यो सबै हामीमै भरपर्ने विषय हो, आफू मर्यादा र सम्मानमा रहेपछि व्यवहारमा ध्यान दिएपछि यस्ता समस्या आउँदैनन्। खै, हामीलाई चाहिं आजसम्म त्यस्तो अनुभव गर्नुपरेको छैन।

प्रतिक्रिया दिनुहोस्