देश विकासको नयाँ चरणमा प्रवेश: कुलपति ओली

काठमाठौ विश्वविद्यालयको २५ औ दीक्षान्त समाारोह



मोतीराम तिमल्सिना, काभ्रे ।

प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले देश विकासको नयाँ चरणमा प्रवेश गरेकाले नेपाललाई छोटो समयमा आधुनिकता सहित आत्मनिर्भर बनाउनु पर्ने दायित्व रहेको बताउनु भएको छ ।

काठमाडौ विश्वविद्यालयको २५ औ दीक्षान्त समारोहको पहिलो चरणमा सहभागि मेडिकल विद्याका १ हजार ६ सय ४ जना विद्यार्थीहरुलाई दीक्षित गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमान्दारीतापुर्वक काम गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो ।

‘मुलुकको विकास अरुले आएर गरेर सम्भव छैन र गरिदिदैन पनि’–उहाँले भन्नु भयो–‘नेपालको विकास आफैले गर्ने हो त्यसका लागि इमान्दार प्रयास र आत्मविश्वास आवश्यक छ ।’ इमान्दार प्रयास र आत्मविश्वास रहँदासम्म मान्छे सफल हुन सक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।

कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले दीक्षित हुने विद्यार्थीहरुलाई तीन बुँदे प्रतिज्ञा गराउनु भएको थियो । ‘दैनिक दिनचर्यामा इमान्दार र चरित्रवान बनी उपाधीको मर्यादा कायम राख्न, प्राप्त योग्यता र सीपलाई राम्रो ढंले ब्यवहारमा उतारी, आफ्नो ब्यवसायसँग सम्वन्धित, काम कर्तब्यहरु पुरा गर्न र जनसाधारणको हितलाई ध्यानमा राख्दै नैतिकताको समर्थन गर्ने, स्तरीय शिक्षा प्रणालीका विकासद्वारा समाज र राष्ट्रको समुत्थान हुने कार्यमा प्रयत्नरत रहन प्रतिज्ञा गराउँछु’–कुलपति ओलीले भन्नु भयो–‘उत्कृष्टता भनेको दैनीक ब्यवहारमा देखिने उत्कृष्टता हो । प्रमाणपत्रमा उत्कृष्टता प्राप्त हुँदैमा उत्कृष्ट हुन सकिदैन ।’

कार्यक्रममा भारतको जयपुरमा रहेको मणिपाल विश्वविद्यालयका अध्यक्ष डाक्टर के रामनारायणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै रामनारायणले मेडिकल विद्याले सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सचेत र सजग रहेर सेवा प्रदान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा उपकुलपति प्रो.डा.रामकण्ठ माकजुले विश्वविद्यालय भन्दा पवित्र स्थान अन्यत्र नभएकाले विश्वविद्यालयमा विउलाई उम्रन, विरुवालाई हुर्कन र रुखलाई फल्न सहयोग गर्नु पर्ने बताउनु भयो ।

‘सिर्जनशीलता सिकाउनु भन्दा पहिले आफ्नो सिर्जना देखाउन सक्ने हुनु पर्छ’–उहाँले भन्नु भयो – ‘नैतिक आदर्श सिकाउनु भन्दा पहिले आफ्ना आदर्शहरु प्रस्तुत गरिसकेको हुनु पर्छ ।’ पुर्खाले बनाएका मन्दिरहरुको पुनर्निर्माण गर्न सक्षम रहेको, युवाहरु विदेशी मरुभूमिमा पसिना बगाउनुको सट्टा आफ्नै खेतबारीलाई उपभोग गर्न तत्पर हुन, पुराना चालचलनलाई प्रविधिका रुपमा विकास गर्न, स्वदेशी ज्ञानलाई प्राज्ञिक कार्यक्रम वा अनुसन्धानको विषय बनाउन स्वदेशी विशेषज्ञको सेवा उपलब्ध गराउन विश्वविद्यालय सक्षम हुने उपकुलपति रामकण्ठ माकजुले बताउनु भयो ।

दीक्षान्त समारोहमा रजिस्ट्रार डा. सुबोध शर्मा, स्कुल अफ मेडिकल साईन्सेजका डीन डा. राजेन्द्रप्रसाद कोँजुले चिकित्सा विज्ञान विषयमा उपाधी पाउनेहरुका बारेमा कुलपति समक्ष जानकारी गराउनु भएको थियो । दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ४ जनाले उपाधी प्राप्त गर्नेछन् ।

ति मध्ये एमसीएच/डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १ सय ४८ जना विद्यार्थी दीक्षित हुनेछन् भने एमबीवीएसका १ हजार ९८ जना दीक्षित हुनेछन् । बीडीएसका २ सय १८, बीएस्सी ईन नर्सिङ्गका १ सय १६ र बीपीटीका २४ जनालाई दीक्षित गरिदैछ । विश्वविद्यालयले दशक देखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ ।

विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच/डीएम उपाधी ६ जनालाई प्रदान गरिएको छ । लगातार मेडिकल विद्यामा १५ वर्ष अध्ययन गरेका विद्यार्थीहरुले मात्रै उक्त उपाधी प्राप्त गरेको छ । ति मध्ये एकजनालाई प्लाटिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विषयमा एमसीएच उपाधी प्रदान गरिएको छ ।


दीक्षित भएकाहरु मध्ये भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका, बेल्जियम गरी ६ देशका २ सय ४६ जना अथार्त कुल संख्याको १५.३४ प्रतिशत विद्यार्थी विदेशी छन् । उर्तिण मध्ये महिला ५३.८० प्रतिशत रहेको छ । त्यसमध्ये उत्कृष्ट विद्यार्थी लुम्विनी मेडिकल कलेजका विवेक पौड्यालले स्वर्णपदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्