सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार खोसेको देउवाको आरोप



पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाउनुभएको छ ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले सरकारले संवैधानिक परिषद्लाई पनि कठपुतली बनाउन खोजेको दोषारोपण गर्नुभयो । उहाँले कास्कीमा लामो समय योगदान गरेका नेता खेमराज पौडेललाई जिताउन पनि सबैसँग आग्रह गर्नुभयो ।

सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा नियन्त्रण गर्ने सोचका साथ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाउँदै यसलाई राष्ट्रपतिले जारी गर्न नहुने धारणा राख्नुभयो । काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आसन्न उपनिर्वाचन जनमतसङ्ग्रहजस्तै भएको बताउँदै निर्वाचनमा जनताको मन जित्दै पार्टीका उम्मेदवार विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध हुनु आवश्यक भएकामा जोड दिनुभयो ।

एशोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, महासचिव लक्ष्मी दाहाल, पूर्वअध्यक्ष शेरबहादुर केसी, फणीन्द्र कोइरालालगायतले स्वतन्त्र न्यापालिका र लोकतन्त्र एकापसमा अन्तरसम्बन्धित भएको बताउँदै लोकतन्त्रमा नै स्वतन्त्र न्यायालयको भूमिका प्रभावकारी बन्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्