मेडिकल काउन्सिलमा केयूबाट उत्पादित ११ हजार ४ सय ४९ डाक्टर



मोतीराम तिमल्सिना, काभ्रे । 

मेडिकल काउन्सिलमा दर्ता भएका २६ हजार डाक्टरहरु मध्ये काठमाडौँ विश्वविद्यालयबाट उर्तिण हुने डाक्टरहरुको संख्या ११ हजार ४ सय ४९ रहेको छ । विश्वविद्यालयको २५ औ दिक्षान्त समारोहमा थप १ हजार ९८ जना एमबीबीएसका विद्यार्थी दीक्षित हुँदैछन् ।

विश्वविद्यालयबाट १ हजार ९ सय ७१ पोस्ट ग्राजुयट, विडिएस ५ सय ५६, नर्सिङ्ग १ हजार ५ सय २९ र फिजियोथेरापीमा ९० जना मेडिकल विद्याबाट दीक्षित भईसकेका छन् । शुक्रबार हुने दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ४ जनाले उपाधी प्राप्त गर्नेछन् । ति मध्ये एमसीएच÷डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १ सय ४८ जना विद्यार्थी दीक्षित हुनेछन् भने एमबीवीएसका १ हजार ९८ जना दीक्षित हुनेछन् । बीडीएसका २ सय १८, बीएस्सी ईन नर्सिङ्गका १ सय १६ र बीपीटीका २४ जनालाई दीक्षित गरिदैछ । विश्वविद्यालयले दशक देखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ ।

विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच/डीएम उपाधी ६ जनालाई प्रदान गर्नेछ । लगातार मेडिकल विद्यामा १५ वर्ष अध्ययन गरेका विद्यार्थीहरुले मात्रै उक्त उपाधी प्राप्त गर्नेछन् । ति मध्ये एकजनालाई प्लाटिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विषयमा एमसीएच उपाधी प्रदान गरिने छ । दीक्षन्त समारोहका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रो.प्रा.डा.रामकण्ठ माकजुले विश्वविद्यालयले प्रदान गर्न लागेको उपाधी र दीक्षित हुने विद्यार्थीहरुका बारेमा जानकारी गराउनु भयो । ‘नेपालमै सम्भव छ, अथाहा सम्भावनालाई गरेर देखाउन सकिन्छ’–उपकुलपति रामकण्ठ माकजुले भन्नु भयो–‘काठमाडौ विश्वविद्यालयले २० वर्षमा १५ हजार ३ सय ९५ विद्यार्थीलाई मेडिकल विद्यामा दीक्षित गर्न सक्यो ।’ हरेक वर्ष ८ सय १० कोटामा १ सय ९ जनालाई छात्रवृत्ति उपलब्ध गराउँदै विश्वविद्यालयमा दलित तथा जनजाति, सिमान्तकृत, असाहय, गरिव तथा जेहेन्दार विद्यार्थीहरुले समेत अध्ययनको अवसर प्राप्त गरेका छन् ।

दीक्षित हुनेहरु मध्ये भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका, बेल्जियम गरी ६ देशका २ सय ४६ जना अथार्त कुल संख्याको १५.३४ प्रतिशत विद्यार्थी विदेशी छन् । उर्तिण मध्ये महिला ५३.८० प्रतिशत रहेको छ । त्यसमध्ये उत्कृष्ट विद्यार्थी लुम्विनी मेडिकल कलेजका विवेक पौड्यालले स्वर्णपदक प्राप्त गर्नेछन् । दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहने छ भने भारतको जयपुरमा रहेको मणिपाल विश्वविद्यालयका अध्यक्ष डाक्टर के रामनारायणको प्रमुख आतिथ्यता रहनेछ । दुवै चरणको कार्यक्रममा उपकुलपति डा. रामकष्ठ माकजु श्रेष्ठले स्वागत मन्तब्य राख्नु हुनेछ । दोश्रो चरणको कार्यक्रम पौष ४ गते हुनेछ । दोश्रो चरणको कार्यक्रममा चिनियाँ बैज्ञानिक तथा थाईल्याण्डको बैकमा अवस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्रेसिडेन्ट डा. इडेन वाई वुनले दीक्षान्त भाषण गर्नु हुनेछ ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा धिमेबाजाले प्रोसेसनमा स्वागत गरिएको थियो भने सतार समुदायको म्युजिक प्रस्तुतीले दीक्षन्त समारोहलाई थप मनोरञ्जन बनाएको थियो । लोपोन्मुख जातिको सांस्कृतिक प्रस्तुती दीक्षान्त समारोहमा आर्कषणको विषय बनेको थियो ।

विश्वविद्यालयमा यस वर्ष देखि स्कुल अफ लका विद्यार्थीहरु पनि दीक्षित हुनेछन। । दोश्रो चरणमा साईन्स, इन्जिनियरिङ्ग, एजुकेसन, म्यानेजमेन्ट र आर्टस तर्फका विद्यार्थीहरुलाई दीक्षित गरिनेछ । पत्रकार सम्मेलनमा रजिस्टार प्रो.डा.सुबोध शर्मा, डिन राजेन्द्र कोजु, सुचना तथा संचार प्रमुख डा. हेमराज काफ्ले लगायतले विश्वविद्यालयको दीक्षान्त समारोहका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्